आउँदो चुनावमा जिल्लाको परिस्थितिअनुसार छुट्टै गठबन्धन बन्न सक्छ : खतिवडा

 चैत १, २०७८ मंगलबार १९:२८:१४ | किरण लोहनी
unn.prixa.net

फाइल फाेटाे

गोरखा – स्वास्थ्य मन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले आउँदो स्थानीय तह चुनावमा जिल्लाको परिस्थितिअनुसार छुट्टै गठबन्धन बन्न सक्ने बताउनुभएको छ । सम्भव भएसम्म पाँच दलभित्रकै गठबन्धनअनुसार चुनावमा जानुपर्नेमा जोड दिँदै उहाँले त्यो सम्भव नभए जिल्लाको परिस्थिति अनुसारगठबन्धनभित्र अर्को गठबन्धन गर्नुपर्ने बताउनुभयो । 

गोरखामा आज मङ्गलवार पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘आन्तरिक समझदारी हुन सक्दा सबै दलबीच गठबन्धन भए राम्रो, नभए जिल्लाको परिस्थितिअनुसार त्यहीँकै नेताहरू बसेर गठबन्धनका दलभित्रैबाट अर्को गठबन्धन बनाएर चुनावमा जाने विकल्प हुन सक्छ । पाँच वटै  दलबीच हुन सकेन भने दुई/तीन वटा दल मिलेर पनि गठबन्धन बन्न सक्छ ।’ 

महानगरपालिका वा उपमहानगरपालिका तहसम्म शीर्ष नेताहरूले निर्णय गरेर चुनावी तालमेल गरे पनि सत सयभन्दा बढी पालिका सबै केन्द्रबाट मिलाउन सम्भव नहुने खतिवडाको भनाइ छ । तर नेकपा एमालेसँग भने कुनै पनि हालतमा चुनावी सहकार्य हुन नसक्ने उहाँले बताउनुभयो । वाम दलहरूबीच गठबन्धन हुन सक्ने भन्दै उहाँले एमालेसँग भने एकीकृत समाजवादी मात्र नभइ अहिलेको पाँच दलीय गठबन्धनका कुनै पनि दलले सहकार्य नगर्ने दाबी गर्नुभयो । 

अनन्तकालसम्म गठबन्धननै बनाएर अघि बढ्ने भन्ने कुरा सम्भव नहुने खतिवडाले बताउनुभयो । २०७४ को चुनावमा अनेक पार्टी मिलाएर केपी ओलीले पनि गठबन्धन बनाएको भन्दै उहाँले अहिले उनैले गठबन्धनको विरोध गर्नुलाई चिल आयो भनेर स्यालले कुखुरा लगेजस्तो व्यवहारका रूपमा चित्रित गर्नुभयो । ‘यता कांग्रेससँग गठबन्धन गरे भनेर हाम्रो विरोध पनि गर्ने, उता आफू चाहिँ राजावादीहरूसँग गठबन्धन गर्ने ओलीको व्यवहार छ’, खतिवडाले भन्नुभयो, ‘आउँदो चुनावमा ओलीले पनि राजावादीसँग गठबन्धन गर्दैछन् ।’ 

अर्को प्रसङ्गमा नेता खतिवडाले संसद् विघटन गरेर चुनावमा जाने विषय समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निजी विचार भएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया