हिमाली क्षेत्रको गौरवको आयोजना धौलीगाड खानेपानीको शिलान्यास

 चैत ५, २०७८ शनिबार १७:१७:४० | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली प्रदेशको गौरवको आयोजना धौलिगाड खानेपानीको शिलान्यास गरिएको छ । 

नेपाल सरकारका संघीय खानेपानी तथा सिँचाइ मन्त्री उमाकान्त चौधरीले शनिबार आयोजनाको  शिलान्यास गर्नुभएको हो । धौलीगाड खानेपानी आयोजनाले चन्दननाथ नगरपालिका सहित तीन वटा पालिकाका करिब एक हजार दुई सय घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

खानेपानी मन्त्री चौधरीले आयोजनाको स्मार्ट योजना बनिसकेको भन्दै निर्धारित समयमा घरघरमा खानेपानी पुर्याउन मन्त्रालयका सचिव र खानेपानी विभागका महानिर्देशकलाई निर्देशन समेत दिनुभयो ।  उहाँले जुम्लामा धौलिगाड आयोजनाको शिलान्यास गर्नुका साथै आयोजनाले साढे दुई वर्षमै लक्षित घरमा पानी पुर्याउने प्रतिबद्धता जनाउनुभयो ।

आयोजनाको उद्घाटन गर्न जुम्ला पुग्नुभएका मन्त्री चौधरीले हिमाली क्षेत्रको यो आयोजनाले संविधानले प्रत्याभूति गरेको खानेपानी अधिकार प्रत्याभूति गर्नेमा विश्वास गर्नुभयो । उहाँले खस सभ्यताको जननी, अर्गानिक जिल्ला, विश्वको उच्च स्थानमा धान फल्ने ठाउँ भएको भन्दै आफूलाई गर्व लागेको बताउनुभयो ।  

यस्तै, कर्णालीका पूर्वमन्त्री तथा प्रदेश सांसद नरेश भण्डारीले धौलीगाड खानेपानी कर्णाली स्वास्थ्य विज्ञान पछिको अर्को विकासको ठूलो आयाम भएको बताउनुभयो । यस्तै उहाँले धौलीगाड संसारकै सबैभन्दा उचाइबाट आउने कञ्चन पानी भएकाले संसारको बजारमा समेत जाने तथा गिनिज बुकमा नाम लेख्न अगाडि बढेको भन्दै विशेष सहयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्नुभयो । 

पूर्व मन्त्री दिनवन्धु श्रेष्ठले धौलिगाड आयोजना जुम्लाको विकासको अर्को फड्को मारेको भन्दै यसमा सघाउने नेपाल सरकार सहित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । खानेपानी तथा सिचाई मन्त्रालयका सचिव सूर्य आचार्यले अढाई बर्षमा लक्ष्य अनुसार पानी ल्याउन काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नेपालको हिमाली क्षेत्रको गौरवको आयोजना मध्य एक भएको भन्दै यसको विविधता, मौलिकता र सम्भावनाको भरपुर प्रयोग मन्त्रालयले गर्नेमा जोड दिनुभयो । 

३ पालिकाका ९ हजार घरधुरी लाभान्वित हुने

आयोजनाबाट चन्दननाथ नगरपालिकाको १–१० वडा, गुठीचौर गाउँपालिकाको ३–५ वडा र तातोपानी गाउँपालिकाको १–६ वडा गरी नौ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुनेछन् ।  योजना निर्माण लागत एक अर्ब २६ करोड आठ लाख ४९० रुपैयाँ रहेको संघीय खानेपानी आयोजना प्रमुख महेश न्यौपाने जानकारी दिनुभयो ।


आयोजना प्रमुख न्यौपानेका अनुसार जुम्ला सदरमुकाम खलंगादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने डिजाइन इस्टिमेटमा उल्लेख गरिएको छ । प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानीको खपत अनुमान गरिएको छ भने ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुनेछ । संस्थागत तीन लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुने छ ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया