नेपालले अब बिजुली व्यापार गर्ने बेला आयो : मन्त्री भुसाल

 चैत ७, २०७८ सोमबार १८:१६:४० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपाल बिजुलीमा आत्मनिर्भर हुँदै गएकाले अब बिजुलीको व्यापार गर्ने बेला आएको बताउनुभएको छ । आज सोमवार रुकुम पश्चिमको मुसिकोटमा निर्मित विद्युत् सबस्टेशनको औपचारिक उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

जलस्रोतले सम्पन्न रुकुममा भरपर्दो सेवाका लागि ३३÷११ केभी, ३ एमभीए क्षमताको सबस्टेशन सञ्चालन गरिएको भन्दै मन्त्री भुसालले बिजुलीको उपयोग गरेर साना र मझौला उद्योगले उत्पादन बढाउनुपर्ने उल्लेख गर्नुभयो । रुकुमका विभिन्न ठाउँमा किलोवाट क्षमताका विद्युत् गृह सञ्चालन गरिएकाले अब किलोवाटबाट मेगावाट बन्ने उहाँको भनाइ छ । 

कार्यक्रममा मन्त्री भुसालले रुकुम समाजवादको अभ्यासमा उदाहरणीय जिल्ला भएको समेत दाबी गर्नुभएको छ । उहाँले रुकुमको संस्थागत र पारदर्शी विकास प्रक्रिया अन्य जिल्लाले समेत अनुशरण गर्नलायक रहेको समेत बताउनुभयो । 

आर्थिक विकासको मूल आधार कृषि र वन क्षेत्र भएकाले यस क्षेत्रमा बिजुलीको उपयोगिता बढाउनुपर्नेमा मन्त्री भुसालले जोड दिनुभयो । सरकारले सिँचाइमा ५० प्रतिशत बिजुली महसुलमा छुट दिएकोले यहाँका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने र उत्पादन बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सञ्चालित मुसिकोट सबस्टेशनको ऊर्जा मन्त्री भुसाल र अर्थमन्त्री जनार्दन शर्माले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा अर्थमन्त्री शर्माले विद्युत् सेवा आर्थिक जीवनक्रान्तिको अपरिहार्य साधन भएकाले यसको उपयोग गर्नुपर्ने बताउनुभयो । अबको गुणात्मक विकास र प्रभावकारी सेवामा विद्युत् अपरिहार्य रहेको उहाँको भनाइ छ । देशले बेहोरिरहेको व्यापार घाटा सामना गर्न विद्युत् सेवा प्रमुख माध्यम हुने मन्त्री शर्माले उल्लेख गर्नुभयो । 

यसअघि सल्यानको शीतलपाटी सवस्टेशनबाट जिल्लामा ११ केभीको लाइन आइरहेको थियो, अब भने सबस्टेशनमा सल्यान हुँदै ३३ केभी क्षमताको प्रसारण लाइन आउने छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया