३३ किलो सुनकाण्ड : प्रहरी अधिकृतहरु धमाधम छुट्दै, डीएसपी केसी साधारण तारेखमा रिहा

 भदौ ३१, २०७५ आइतबार १९:१०:५६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – सुन तस्करी तथा सनम शाक्य हत्या काण्डको आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका डीएसपी प्रजित केसी उच्च अदालत विराटनगरद्धारा सादा तारेखमा रिहा भएका छन् ।

सनम शाक्य हत्या तथा सुनको चोरी पैठारी तथा निकासीमा केसीको संलग्नता रहेको भन्दै जिल्ला अदालतले पुर्पक्षको लागि क्षेत्रीय कारागार झुम्का पठाएकोमा उच्च अदालत मोरङले उनलाई सादा तारेखमा छाड्ने आदेश दिएको हो । 

शुक्रबार पनि सोही मुद्दामा संलग्न रहेको आरोपमा एसएसपी दिवेश लोहनीलाई सादा तारेखमा छाड्ने आदेश भएको थियो । उच्च अदालतका न्यायाधिश उमेशप्रसाद पौडेल र उमेशकुमार सिंहको संयुक्त इजलाशले केसीको हकमा सादा तारेखमा छाड्ने आदेश गरेको हो ।

‘निवेदक प्रतिवादीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा घटनाबारे तत्काल जानकारी गराएको भए प्रतिवादीहरु पक्राउ पर्न सक्ने थिए भनी अनुमान गरेर यी प्रतिवादीविरुद्ध  लगाएको आरोप मिसिल संलग्न प्रमाणहरुबाट पुष्टि हुन सक्ने मनासिव आसय तत्काल मिसिल संलग्न प्रमाणबाट नदेखिँदा  यी निवेदक प्रतिवादीलाई संगठित अपराध ऐनको दफा ४१ तथा मुलुकी ऐन ११८ (२) बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने गरी भएको जिल्ला अदालतको मिति २०७५/२/८ को  आदेश, यी प्रतिवादीको हकमासम्म मिलेको नदेखिँदा बदर गरिदिएको छ’, आदेशमा भनिएको छ ।

अब निवेदक प्रतिवादी प्रजित केसीलाई  अदालती बन्दोबस्तको ४७ नम्बर बमोजिम तारेखमा राखी मुद्दा पुर्पक्ष गर्न आदेशमा भनिएको रजिष्टार नारायणप्रसाद रेग्मीले बताउनुभयो ।

२०७५ साल जेठ ८ गते जिल्ला अदालतको आदेशलाई पुनराबलोकन गर्न माग गर्दै केसीले मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको १७ नम्बर अनुसार उच्च अदालतमा आफू निर्दोष रहेको दाबी गर्दै निवेदन दिएका थिए ।

त्यस्तै अर्का प्रतिवादी राम तिवारीको हकमा पनि धरौटी माग भएको छ । सोही इजलाशले सुन तस्करी र सनम शाक्य हत्याको मुद्दाकै पुर्पक्षका लागि जेल चलान भएका अर्का प्रतिवादी राम तिवारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग भएको हो  ।

५ लाख बराबरको नगद, बैंक ग्यारेन्टी वा जेथा धरौटी बुझाए तिवारी पनि रिहा हुने भएका छन् । आइतबार उच्च अदालत विराटनगरमा आपराधिक समूह स्थापना र संचालन  चोरी पैठारी र चोरी निकासीको अबैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका  २३ वटा पेशी तोकिएका थिए ।

जसमध्ये २ जनाको मुद्दा आदेश भएको छ भने १ जनाको हेर्न नमिल्ने, १ जनाको हेर्न नभ्याइएको र १९ जनाको स्थगित भएको रजिष्ट्रमर रेग्मीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया