गाेरखा : कुन पालिकाको प्रमुख कसले पाउने भन्ने निर्णय गर्न गठबन्धनलाई सकस

 बैशाख २, २०७९ शुक्रबार १५:१५:५८ | किरण लोहनी
unn.prixa.net

गोरखा – यही वैशाख ३० गते हुने पालिका चुनावमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका गोरखाका चार दलीय गठबन्धनलाई पालिकाको प्रमुख भागबन्डा टुङ्ग्याउन सकस परेको छ । गएको चैत २० गते जिल्ला संयन्त्र बनाएर निरन्तर छलफलमा रहेका चार दलीय गठबन्धनले कुन पालिकाको प्रमुख कसले पाउने भन्ने निर्णय गर्न नसकेका हुन् । 

२०७४ सालको पालिका चुनावमा गोरखाका ११ पालिकामध्ये नेपाली कांग्रेसले ९ वटा पालिकाको प्रमुख जितेको थियो । अहिले पनि ती सबै पालिकाको प्रमुख आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ । सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले पनि अघिल्लो चुनावमा जितेका पालिकाको प्रमुख सम्बन्धित दलले नै पाउने परिपत्र गरेकाले गोरखामा कांग्रेसको दाबी बलियो देखिन्छ । ‘छलफल सकारात्मक रूपमा अघि बढेको छ, हामी मिलनविन्दुको नजिक छौँ’, संयन्त्रको वार्तामा सहभागी कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव लुमनाथ लामिछानेले भन्नुभयो, ‘सङ्ख्याका विषयमा आ–आफ्नो दाबी भएपनि छलफल सौहाद्र्रपूर्ण रूपमा अघि बढेको छ, वैशाख ४ गतेको बैठकले सङ्ख्याका विषयमा निष्कर्ष निकाल्ने विश्वास छ ।’ 

तर जिल्लामा कांग्रेस र माओवादी एउटै हैसियतको पार्टी भएकाले सङ्ख्या बाँडफाँटमा कांग्रेस लचिलो हुनुपर्ने नेकपा माओवादी केन्द्रको अडान छ । २०७४ सालको पालिका चुनावमा माओवादीले दुई वटा पालिकाको प्रमुख जितेको थियो । ‘अघिल्लो चुनावमा हामीले प्राविधिक रूपमा झिनो मतान्तरले मात्रै पालिका प्रमुख हारेका हौँ, यसबाहेक प्रदेश सभामा हाम्रो समानुपातिक मत कांग्रेसको भन्दा धेरै छ, सङ्घीयको समानुपातिक मत पनि ५/६ सयले मात्रै कम छ’ माओवादी केन्द्रका जिल्ला समन्वय समिति प्रमुख लेखबहादुर थापा मगर भन्नुहुन्छ, ‘त्यसैले जिल्ला समन्वय समितिको प्रमुखसहित पालिका सङ्ख्या बराबर हुने गरी कांग्रेस र माओवादीबीच पालिका सङ्ख्या बाँडफाँट हुनुपर्छ र गठबन्धनका अन्य दललाई पनि एक/एक पालिकाको प्रमुख दिनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ ।’ कांग्रेसले पाँच पालिका, माओवादी केन्द्रले पछि जिससको प्रमुख पाउने गरी चार पालिका तथा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीलाई एउटा/एउटा पालिकाको प्रमुख दिने गरी सहमति हुन सक्ने उहाँको भनाइ छ । 

संयन्त्र बैठकमा जनता समाजवादी पार्टीले तीन वटा पालिकाको प्रमुख पाउनुपर्ने दाबी गरेको छ । २०७४ सालको पालिका चुनावको तुलनामा अहिले पार्टीको जनमत बलियो भएकाले तीन वटा पालिकाको प्रमुख दाबी गर्नु स्वाभाविक भएको जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले बताउनुभयो । ‘संयन्त्र बैठकमा हामीले साङ्गठनिक आधारसहित तीन वटा पालिकाको प्रमुखमा दाबी गरेका छौँ, पार्टीमा पनि आन्तरिक छलफल गरेर अर्को बैठकसम्ममा थप धारणा बनाउँछौँ’, उहाँले भन्नुभयो । जिल्लामा साङ्गठनिक हिसाबले माओवादी केन्द्रसँग कमजोर नरहेकाले पनि उसकै बराबरको सङ्ख्यामा पालिका प्रमुख पाउनुपर्ने जसपाका केही नेताहरूको तर्क छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष यादव बस्नेतले भने सत्ता गठबन्धनको चुनावी तालमेलको प्रयासलाई टुङ्गोमा पु¥याउनका लागि जिल्लामा सबै दल गम्भीर रहेको बताउनुभयो । ‘संयन्त्र बैठकमा एकथरी कुरा भइरहेको छ तर बाहिर सार्वजनिक खपतका लागि सङ्ख्या र दाबीका विषयमा फरक कुरा आइरहेको छ’, उहाँले भन्नुभयो, ‘सङ्ख्याका विषयमा त्यति ठूलो अलमल छैन, मिल्छ ।’ 

पालिका प्रमुखको विषयमा छलफलमा रहेका गठबन्धन संयन्त्रका दलहरूबीच उपप्रमुख र वडाध्यक्षलगायत पदको बाँडफाँटका विषयमा भने छलफल सुरु भएको छैन । सत्तारुढ दलको जिल्ला संयन्त्रको अर्को बैठक वैशाख ४ गतेका लागि बोलाइएको छ । अब दुई दिनसम्म पार्टीभित्र आन्तरिक छलफल गर्ने दलहरूले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया