जुम्ला : चन्दननाथ नगरपालिकाको मेयरमा २८ वर्षीया चाैलागाईंकाे उम्मेदवारी

 बैशाख १४, २०७९ बुधबार १६:४२:२६ | नेत्र शाही
unn.prixa.net

जयलक्ष्मी चौलागाईं, तस्बिर : नेत्र शाही/ जुम्ला

जुम्ला – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा २८ वर्षीया जयलक्ष्मी चौलागाईंको उम्मेदवारी दिनुभएको छ । उहाँ चन्दननाथ ७ की चौलागाईंले नेकपा एकीकृत समाजवादीबाट चन्दननाथको मेयरमा उम्मेदवारी दिनुभएको हो । 

झन्डै साढे दुई वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएकी जयलक्ष्मीसँग महिला, बालबालिका र युवासँग सरोकार राख्ने विषयमा काम गरेको अनुभव छ । उम्मेदवारी जित्नलाई मात्रै नभइ महिला पनि प्रमुख पदमा काम गर्न सक्षम रहेको सन्देश जाने चन्दननाथको मेयरमा उम्मेदवारी दिनुभएकी चौलागाईंले बताउनुभयो ।  

एकीकृत समाजवादीले चन्दननाथको उपमेयरमा भीम थापालाई उम्मेदवार बनाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

गुठीचौरको अध्यक्षमा झनुमायाको उम्मेदवारी  

यस्तै नेकपा एमाले जुम्लाले गुठीचौर गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । गुठीचौरमा झनुमाया जैसीले एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । एमालेले अध्यक्षमा टिकट दिएकोमा खुुसी भएको उहाँको भनाइ छ । ‘चुनाव जितिएला, हारिएला यो फरक पाटो हो तर महिलालाई अध्यक्षमा टिकट दिएर चुनावी मैदानमा पठायो यसैमा सन्तुष्ट छु’, उहाँले भन्नुभयो । एमालेले गुठीचौरको उपाध्याक्षमा प्रेम बुढालाई उम्मेदवार बनाएको छ । 

सिञ्जामा नेमकिपाबाट कन्नी रावत उम्मेदवार   

सिञ्जा गाउँपालिकामा नेपाल मजदुर किसान पार्टीबाट कन्नी रावत अध्यक्षको उम्मेदवार बन्नुभएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जुम्लाका अरू ६ पालिकाको प्रमुख र अध्यक्षमा पुरुष उम्मेदवार रहँदा उपप्रमुख र उपाध्यक्षमा महिला उम्मेदवार उठाइएको छ । जुम्लामा पकट राम्रो भएको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले भने कुनै पनि पालिकामा महिला उम्मेदवारलाई प्रमुख पदमा उठाउन सकेनन् । 

हरेक तह समावेशी हुनुपर्छ भन्ने नारा घन्किने गरे पनि पालिकाको चुनावमा उम्मेदवारी दिँदा प्रमुख पदमा महिलाको निकै कम प्रतिनिधित्व देखिएको नागरिक समाजका अगुवा राजबहादुर महतले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘समावेशी नारा नेताले भाषणमा मात्रै सीमित गरे । कार्यान्वयन भने गरेनन् ।’

नेपालमा पटक–पटकको राजनीतिक परिवर्तनले महिला सहभागिता र सचेतना बढाउँदै लगे पनि निर्णायक तहमा भने संविधानले दिएको अधिकारको तुलनामा निकै कम सहभागिता देखिन्छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिका तहमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै प्रदेश समितिलाई गएको चैत २८ गते परिपत्र गर्नुभएको थियो । त्यो परिपत्रमा प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख र वडाध्यक्षमा महिला उम्मेदवार हुनुपर्ने उल्लेख थियो । तर जुम्लामा माओवादीले महिलालाई उपप्रमुख र उपाध्यक्षमै सीमित राख्यो । 

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । यहाँका आठ पालिकामध्ये तीन पालिकाका प्रमुखमा मात्रै महिलाले उम्मेदवारी दिएका हुन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया