अपहरणपछि महिलाको हत्या गरेको आरोपमा तीनजना पक्राउ

 बैशाख २८, २०७९ बुधबार १४:१३:११ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – एक महिलाको अपहरण गरेर हत्या गरेको आरोपमा रुकुम पूर्वमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बहालवाला जनप्रतिनिधि, पालिका तह निर्वाचनका उम्मेदवार र एक जना माओवादी कार्यकर्ता रहेका जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

प्रहरीका अनुसार रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाका ११ का वडाध्यक्ष जयकुमार बुढा, उहाँका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष उम्मेदवार कुमार सिंह बुढालाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि बैशाख १९ गते तकसेरा गाउँमा चुनाव प्रचार प्रसारका क्रममा सामान्य झडप भएको र स्थानीय ३९ वर्षकी दुँठी बुढा भन्ने जुनमाया बुढालाई अपहरण गरेर लगेको आरोप छ । अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा स्थानीयले तकसेरादेखि करिब चार किलोमिटर माथि जंगलमा उनको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको कानबाट रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो । स्थानीयका अनुसार जुनमाया एमाले समर्थक कार्यकर्ता हुनुहुन्थ्याे ।

पालिका तह चुनावको प्रचार प्रसारको क्रममा माओवादी कार्यकर्ता, नेकपा एमालेका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ता बीच पुथा उत्तरगंगामा पटक पटक विवाद र झडपसमेत हुँदै आएको छ । मृतक जुनमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि लिइएको छ । जिल्लामा असुरक्षित र सत्ताको प्रभावमा रिपोर्ट तथ्य नआउने भन्दै मृतकका आफन्तले नेपालगञ्ज वा बुटवल लिन माग गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई रुकुमकोट अदालतबाट दश दिनको म्याद गरेर अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । 

नेकपा माओवादी केन्द्र रुकुम पूर्वले भने उक्त आरोप झुटो रहेको बताएको छ । जिल्ला इन्चार्ज तेजबहादुर ओलीले बुधबार एक विज्ञप्ति जारी गर्दै पालिका चुनावलाई प्रभाव पार्ने र आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले आफ्ना नेता कार्यकर्तामाथि झुटो आरोप लगाएको बताउनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया