सिंजा – २ का ८१ जना ज्येष्ठ नागरिकलाई छाता र टर्च वितरण

 असार २२, २०७९ बुधबार १०:९:१४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ को कार्यालयले ज्येष्ठ नागरिकलाई छाता र टर्च उपलब्ध गराएको छ ।  वडा कार्यालयले ८१ जना ज्येष्ठ नागरिकलाई बर्खा याममा छाता र टर्च वितरण गरेको हो । 

वडाध्यक्ष तिर्थ वडले ज्येष्ठ नागरिकको सल्लाह अनुसार विभिन्न काममा जाँदा छाता आवश्यक भएको र राति बाहिर भित्र जान उज्यालोकाे समस्या भएकाले टर्च उपलब्ध गराइएको बताउनुभयो । वडा नम्बर २ को कार्यालय विष्टवाडामा ज्येष्ठ नागरिकहरु उपस्थित कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, उपाध्यक्ष सितली रोकाया र वडाध्यक्ष वडले ज्येष्ठ नागरिकलाई छाता वितरण गर्नुभएको थियो । ८९ वर्षीय ज्येष्ठ नागरिक विर्खसिंह खत्रीबाट छाता वितरण कार्यक्रम शुरु गरिएको थियो । 

ज्येष्ठ नागरिकले छाता र टर्च पाएपछि खुशी व्यक्त गरेका छन् । ज्येष्ठ नागरिक खत्रीले आफू वडाकाे याे कामले गाउँमै सरकार आएकाे महसुस भएकाे बताउनुभयाे । ज्येष्ठ नागरिकहरु धेरै गाेठालाे जाँदा हाेस् या अरु काममा पानी पर्दा समस्या हुने गरेकाले अब छाताले सजिलो हुने भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभयो । 

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले ज्येष्ठ नागरिकलाई सम्मान भनेको सबै मानव जातिको सम्मान भएको बताउनुभयो । उहाँले यस्ता सिर्जनात्मक कामका लागि वडा कार्यालयलाई धन्यवाद पनि दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया