निर्माण नसकिँदै चर्कियो जुम्ला-कालीकोट जोड्ने हिमा नदीको पक्की पुल

 साउन १, २०७९ आइतबार ९:५५:५४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्ला र कालीकोट जोड्ने हिमा नदीको सिंजाखोलामा बनिरहेकाे पुल निर्माण नहुँदै चर्किएको छ । ढलानसमेत गरिसकिएको पुल यही महिनादेखि सञ्चालनमा ल्याउने तयारी गर्दैगर्दा चर्किएकाे हाे । 

परीक्षणका क्रममा पुल चर्किएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर तुलाराम शर्माका अनुसार कालीकोटको छिडेना र सिंजा खोला जोड्ने पक्की पुल संयुक्त रुपमा १३ करोड रुपैयाँ लागतमा निर्माण भएकाे हाे । 

ठेक्का नम्बर ३ को यस पुल निर्माणका लागि सूर्य कन्ट्रक्सन फर्म प्रा.लि सुर्खेतले ठेक्का पाएको थियो । २०७४ साल कात्तिक ३० गते सम्झौता गरिएको पुलकाे निर्माणकार्य २०७५ साल चैत १४ गते सम्पन्न गरिसक्नुपर्ने थियो । तर, सडक डिभिजन कार्यालयले पुल निर्माणका लागि अहिलेसम्म तीन पटक म्याद थपिसकेको छ ।

पुलको डिजाइनमै समस्या भएपछि रिडिजाइन गर्नुपरेको थियाे ।  अहिले पुलकाे काम रोकिएको छ । छिडेनाको पुलकाे भने निर्माणकार्य सम्पन्न भइसकेको छ । 

चर्किएकाे पुल निर्माणका लागि साउनकाे पहिलाे हप्ता जुम्लामा भारतबाट इन्जिनियरको टाेली आउने भएकाे छ । याे पुलमा अब दशैँ सम्ममा गाडी गुड्ने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार पुलको भित्र ग्राउटिङ गर्नुपर्ने छ । 

रिडिजाइन र कोभिडका कारण पुल समयमै बन्न नसकेको निर्माण कम्पनीकाे दाबी छ । सिंजाखोला पुलको लम्बाई ४० मिटर र चौडाई ११ मिटर छ । यो पुलले ५० टन भार धान्न सक्ने बताइएको छ ।

यस ठाउँमा लामो समयअघि निर्माण भएको बेलिब्रिज पुल पनि जीर्ण भइसकेको छ । जीर्ण बेलिब्रिज पुलबाट यात्रा गर्दा जोखिम भएकाे भन्दै चाँडै पुल निर्माण गर्नुपर्ने स्थानीयकाे माग छ । 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पुलको अनुगमन गर्नुभएको छ । उहाँले पुलको विषयमा सम्बन्धित निकायमा बुझ्ने र चाँडै काम सञ्चालनमा ल्याउन समन्वय गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया