१४ वर्षमा ५० लाख नेपाली विदेशिँदा झण्डै ११ हजारको शव नेपाल भित्रियो

 भदौ ३, २०७९ शुक्रबार १६:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बितेका १४ वर्षमा ५० लाख जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा झण्डै ११ हजार जनाले रोजगारीकै सिलसिलामा ज्यान गुमाउन परेको छ ।

वैदेशिक रोजगार बोर्डको अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका १० हजार ९३२ जनाको परदेशमै ज्यान गएको छ । 

यो सङ्ख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र श्रम अवधि भित्रै रोजगारीको सिलसिलामा ज्यान गुमाएका श्रमिकका हकवालालाई दिएको आर्थिक सहायताको आधारमा बोर्डले राखेको तथ्याङ्क हो । श्रम अवधि सकिएपछि ज्यान गुमाउनेहरूलाई बोर्डले आर्थिक सहायता प्रदान गर्दैन र उनीहरूको तथ्याङ्क पनि बोर्डसँग हुँदैन । 

बोर्डको तथ्याङ्क अनुसार अनुसार आर्थिक वर्ष २०६५/६६ मा २ लाख १९ हजार ९६५ जना वैदेशिक रोजगारीमा जाँदा ८७ जनाको ज्यान गएको थियो ।

परदेशमा ज्यान गुमाउनेको सङ्ख्या आर्थिक वर्ष २०६६/६७ मा भने ३४३ जनाले बढेर २ लाख ९४ हजार ९४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् भने ४२१ जनाको वैदेशिक रोजगारीकै सिलसिलामा ज्यान गएको छ । 

कुन वर्ष कतिले ज्यान गुमाए

वैदेशिक रोजगारीमा जाने बढ्दा विदेशमा ज्यान गुमाउने श्रमिकको सङ्ख्या पनि क्रमशः बढेको बोर्डको तथ्याङ्कले देखाउँछ ।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६७/६८ मा ५६४, आर्थिक वर्ष ६८/६९ मा ६४७ जना, आर्थिक वर्ष २०६९/७० मा ७७२ जना,  आर्थिक वर्ष २०७०/७१ मा ८७७ जना , आर्थिक वर्ष २०७१/७२ मा १००६ जनाको ज्यान गएको छ । तर आर्थिक वर्ष २०७२/७३ देखि भने केही वर्ष वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने नेपालीको सङ्ख्या घटेको देखिन्छ ।

आर्थिक वर्ष २०७२/७३ मा ८२६ जना, आर्थिक वर्ष २०७३/७४ मा ७५८ जना, आर्थिक वर्ष २०७४/७५ मा ८२६ जना, आर्थिक वर्ष २०७५/७६ मा ७६३ जना,  आर्थिक वर्ष २०७६ /७७ मा ६७२ जनाको ज्यान गएको छ । तर यो सङ्ख्या आर्थिक वर्ष २०७७/७८ मा भने बढेको छ ।

अघिल्लो वर्षको तुलनामा यो सङ्ख्या झण्डै दोब्बरले बढेर १२ सय ४३ जना पुगेको छ भने आर्थिक वर्ष २०७८/७९ मा १४ सय ७९ जनाको वैदेशिक रोजगारीको क्रममा ज्यान गएको छ । 

यस्तै यही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा २१ सय २५ जना दुर्घटना लगायत विभिन्न कारणले अङ्गभङ्ग भएर स्वदेश आएका छन् । 

 वैदेशिक रोजगारमा जानेको सङ्ख्या १४ वर्षयताकै बढी

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार वैदेशिक रोजगारमा जानेको सङ्ख्या पनि आर्थिक वर्ष २०६५/६६ देखि यताकै सबैभन्दा धेरै गएको आर्थिक वर्षमा उच्च रहेको छ । 

आर्थिक वर्ष २०६५/६६ मा दुई लाख १९ हजार ९६५ जना वैदेशिक रोजगारीमा गएकोमा १४ वर्षपछि यो सङ्ख्या बढेर आर्थिक वर्ष २०७८/७९ मा ६ लाख ३० हजार ९७ जना पुगेको छ ।

२०६६/६७ मा दुई लाख ९४ हजार ९४ जना विदेशिएको तथ्याङ्कले देखाउँछ भने आर्थिक वर्ष २०६७/६८ मा तीन लाख ५४ हजार ७१६ जना रोजगारीका लागि विदेश गएका छन् ।

आर्थिक वर्ष २०६८/६९ मा तीन लाख ८४ हजार ६६५, आर्थिक वर्ष २०६९/७० मा चार लाख ५० हजार ८८९ जना, २०७०/७१ मा पाँच लाख २७ हजार ८१४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

यस्तै आर्थिक वर्ष २०७१/७२ मा चार लाख ९९ हजार १०२, आर्थिक वर्ष २०७२/७३ मा चार लाख तीन हजार १७४, आर्थिक वर्ष २०७३/७४ मा तीन लाख ८३ हजार ४९३ युवा विदेशिएका छन् ।  

आर्थिक वर्ष २०७४/७५ मा तीन लाख ५४ हजार ८२ जना, आर्थिक वर्ष २०७५/७६मा दुई लाख ३६ हजार २०८ जना, २०७६/७७ मा एक लाख ९० हजार ४५३ जना र आर्थिक वर्ष २०७७/७८ मा ७२ हजार ८१ जनाले श्रम स्वीकृति लिएका छन् ।

तर गएको आर्थिक वर्षमा भने यो सङ्ख्या बढेर ६ लाख नाघेको छ । गएको वर्ष १४ वर्षयताकै उच्च ६ लाख ३० हजार ९७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । 

बढ्दो विप्रेषण

गएको आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीमा जाने बढ्दा रेमिट्यान्स पनि बढेको देखिन्छ । गएको आर्थिक वर्षमा नेपालमा १० खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा रेमिट्यान्स ४ दशमलव ८ प्रतिशतले बढेर १० खर्ब सात अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २ दशमलव २ प्रतिशतले बढेर आठ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

वैदेशिक रोजगारमा गएका नेपालीहरूले गएको १४ वर्ष अर्थात् आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७८/७९ सम्ममा ८४ खर्ब ६६ अर्ब रुपैयाँ विदेशी भूमिमा पसिना बगाएर देशमा रेमिटेन्स पठाएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया