विराटनगर र सिमरामा सामाजिक सुरक्षा कोषको शाखा कार्यालय सञ्चालनमा

 भदौ ८, २०७९ बुधबार १५:५०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामाजिक सुरक्षा कोषले विराटनगर र सिमरामा शाखा कार्यालय बिस्तार गरेको छ । बुधवार श्रम मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले भर्चुअलरुपमा दुई शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो । 

औद्योगिक कोरिडोरलाई लक्षित गरी विराटनगर महानगरपालिका–४ कञ्चनबारी चोक र  जितपुर सिमरा उपमहानगरपालिका–४ एयरपोर्ट रोडमा स्थापना भएका सामाजिक सुरक्षा कोषका दुई शाखा कार्यालयले आजैदेखि सेवा दिन थालेका छन् । 

कार्यालयबाट रोजगारदाता तथा श्रमिकको सूचीकरण, अस्पताल आबद्धता, कोषले सञ्चालनमा ल्याएका योजना तथा विशेष सापटीको दाबी भुक्तानीलगायतका सेवा प्रवाह हुने सामाजिक सुरक्षा कोषले जनाएको छ। 

उद्घाटन कार्यक्रममा बोल्दै कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सरोकारवालाबाट प्राप्त सुझाव तथा प्रदेशस्तरमा कोषमा आवश्यकता बोध भएअनुसार विराटनगर र सिमरामा शाखा कार्यालय सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले केन्द्रीय कार्यालयबाट प्रवाह हुँदै आएको सेवा आजदेखि शाखा कार्यालयबाट लिन सकिने पनि उल्लेख गर्नुभयो । 

यस्तै कोषको सञ्चालक समितिले बुटवल र नेपालगन्जमा सम्पर्क कार्यालय सञ्चालन गर्ने निर्णय पनि गरिसकेको श्रम सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । 

कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरले रोजगारदाता र श्रमिकको सहकार्यका आधारमा कोष अघि बढ्ने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन नखोज्ने रोजगारदातालाई सरकारले कारबाही गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो ‘अब सबै रोजगारदाता कोषमा आबद्ध हुनुपर्छ, अहिले सरकारले कोषमा आबद्ध हुन आग्रह गरिरहेको छ, सरकारको आग्रहलाई बेवास्ता गर्दै गए रोजगारदातालाई कानुनअनुसार कोषको दायरामा ल्याइन्छ ।’

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुँदा रोजगारदाता र योगदानकर्ता दुवैलाई फाइदा हुने भन्दै कोषमा आबद्ध हुन अपिल समेत गर्नुभयो । 

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले शाखा कार्यालय स्थापना गरेर काठमाडौँ केन्द्रित कोषको सेवालाई विकेन्द्रित गरिएको बताउनुभयो । 

सामाजिक सुरक्षा योजना घोषणाको छोटो समयमै कोषले योगदानकर्तालाई विभिन्न कल्याणकारी सुविधा उपलब्ध गराउन सुरु गरिसकेको उल्लेख गर्दै उहाँले योगदानकर्तालाई उद्यमशील बनाउन सहुलियत कर्जा प्रवाह गर्ने तयारी भइरहेको बताउनुभयो । 

‘योगदानकर्तालाई उद्यमशील बनाउन कोषले सहयोग गर्छ, योगदानकर्ताको सीप र अनुभवलाई आर्थिक विकासमा जोड्नुपर्छ’ सचिव अर्यालले भन्नुभयो, ‘साना तथा मझौला उद्यम गर्छु भन्दा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा नपाउने अवस्था छ, योगदानकर्ता र परिवारलाई आर्थिकरुपमा सबल बनाउन कोषले सहयोग गर्नेछ ।’ 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव नवराज दाहालले कोषमा सूचीकृत हुने रोजगारदाता र श्रमिकको सङ्ख्या अत्यन्त न्यून रहेको भन्दै सङ्गठित क्षेत्रको सबै श्रमिकलाई कोषको दायरामा ल्याउन माग गर्नुभयो । 

कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो । कोषमा अहिलेसम्म १७ हजार ३१६ रोजगारदाता र ३ लाख ५५ हजार  २७१ योगदानकर्ता सूचीकृत भएका छन् । 

दुई लाख ५० हजार बढी योगदानकर्ताले कोषमा नियमित योगदान गरिरहेका छन् । अहिलेसम्म २२ अर्ब ३१ करोड योगदान रकम कोषमा जम्मा भएको छ । 

कोषले ५३ हजार योगदानकर्तालाई विभिन्न सुविधा उपलब्ध गराएको छ । कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्ध अवस्था सुरक्षा र आश्रित परिवार सुरक्षा योजना सञ्चालन गरिरहेको छ । 

यस्तै सामाजिक सुरक्षा कोषले गएको हप्तादेखि योगदानकर्तालाई विशेष सापटी उपलब्ध गराउन थालेको छ । ३६ महिना कोषमा रकम जम्मा गरेका योगदानकर्ताले कोषबाट जम्मा बचतको ८० प्रतिशतसम्म विशेष सापटी लिन सक्छन् । एक हप्ताको अवधिमा ८० जनाले झण्डै २ करोड बराबरको यस्तो सापटी लिएको कोषले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया