क्रान्ति र शान्तिकाे नेतृत्व गरेर विश्वमै इतिहास रचेँ, अब एक पटक समृद्धिकाे नेतृत्व गर्छु : प्रचण्ड

 असोज ३, २०७९ सोमबार १६:४२:३६ | सुवास दर्नाल
unn.prixa.net

उद्घाटन कार्यक्रममा प्रचण्ड, तस्बिर : सुवास दर्नाल ।

साेलुखुम्बु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले अब देशमा समृद्धिको नेतृत्व गर्ने दाबी गर्नुभएकाे छ । 

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा निर्मित भौतिक संरचनाहरूको आज साेमवार उद्घाटन गर्दै प्रचण्डले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेकाले अब देशमा समृद्धिको नेतृत्व गर्ने बताउनुभएकाे हाे । संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकार सम्पन्न बनाउन आवश्यक ऐन बनाउन बाँकी रहेको उहाँकाे भनाइ छ । 

गाउँपालिका केन्द्र मुक्लिमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले संविधानको रक्षामार्फत अब आर्थिक क्रान्तिमा लाग्ने बताउनुभयाे । नेपालमा माओवादीकै कारणले परिवर्तन सम्भव भएको भन्दै औद्योगिकीकरणमार्फत समाजवादी दिशामा अगाडि बढ्ने उद्घोष गर्नुभयाे । अबको अन्तिम लक्ष्य समाजवादी देश निर्माण रहेको भन्दै त्यहीअनुसार देशकाे अर्थतन्त्र चलयामान हुने दाबी अर्थमन्त्री शर्माको छ ।

प्रचण्डसँगको खटपटपछि पहिलो पटक एकै कार्यक्रममा देखिएका शर्माले आजको कार्यक्रममा भने प्रचण्डको खुलेर प्रशंसा गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘प्रचण्डको नै नेतृत्वमा देशले आमूल परिवर्तन गर्न सम्भव भयो, अब प्रचण्डकै नेतृत्वमा देशकाे मुहार फेरिन्छ । 

कार्यक्रममा प्रचण्डले एकै साथ ५० शय्याको दुधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवन उद्घाटन गर्नुभयाे । दुधकोसी सामुदायिक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय पाँच करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने सात करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयाे । 

यसैबीच कार्यक्रममा पालिकालाई २५ रोपनी निःशुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङलगायतलाई सम्मान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया