गुल्मीमा ६ परिवार विस्थापित

 असोज २१, २०७९ शुक्रबार १९:३१:५१ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल तस्बिर

गुल्मी – बाढी तथा पहिरोका कारण गुल्मीमा शुक्रवार ६ परिवारका २० जना व्यक्ति विस्थापित भएका छन् । पहिराेले उनीहरू सबैकाे घर तथा गाेठमा क्षति पुर्‍याएकाे छ । 

विस्थापित हुने परिवारमा गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाका बासिन्दा रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोका कारण गुल्मीदरबार गाउँपालिका–७ का मानबहादुर विकको गोठ पुरिँदा भैँसी र बाख्रा मरेसँगै विकका चार जनाको परिवार विस्थापित बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो । 

त्यसैगरी पहिरोले गुल्मीदरबार–७ का केरसिंह कामी, सीता विक र चन्द्रकोट गाउँपालिका–४ डम्बरबहादुर सुवेदी, शान्ता नेपाली र विवा नेपालीको घर उच्च जोखिममा परेको छ । विस्थापित परिवारले तत्कालका लागि आफन्त र छिमेकीको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ । 

बाढी र पहिरोको जोखिमका कारण विस्थापित बनेकाहरूलाई स्थानीय पालिकाको तर्फबाट पनि समन्वय गरी उनीहरूको व्यवस्थापनका लागि पहल गरिरहेको गुल्मी दरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो । 

विस्थापितहरूलाई सुरक्षित आवासको व्यवस्थापनका लागि पालिकासँग समन्वय भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । लगातारको वर्षाका कारण जिल्लामा विस्थापित हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीको आँकलन छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया