जुम्ला–कालीकोट सडकमा पहिरो हटाउन पहल, केही ठाउँमा ढुङ्गा फुटाउन 'ब्लास्टिङ' गर्नुपर्ने

 असोज २८, २०७९ शुक्रबार १५:२४:३५ | नेत्र शाही
unn.prixa.net

कर्णाली राजमार्गको रारालिही खण्डमा पहिरो पन्छाइँदै । तस्बिर : नेत्र शाही, जुम्ला

जुम्ला – कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट सडक खण्डको पहिरो हटाउन सुरक्षा निकाय र पालिकाले प्रयास गरिरहेका छन् । गएको हप्ता परेको पानीका कारण पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । जुम्ला–कालीकोट खण्ड छिटो खुलाउनका लागि पालिका र सुरक्षा निकाय जुटेका जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा पहिरो गएर राजमार्ग बन्द छ । रारालिहीमा तीन वटा एक्स्काभेटर प्रयोग गरिएको छ । केही ठाउँमा ढुङ्गा फुटाउन 'ब्लास्टिङ' गर्नुपर्ने भएकाले सेना पनि खटिएको प्रमुख जिल्ला अधिकारी केशरीले बताउनुभयो । बाटो खुलाउन अझै तीन दिन लाग्ने उहाँले बताउनुभयो ।

यस्तै नाग्म–गमगडी राजमार्गको आठदेखि १० ठाउँमा पहिरो गएर सडक बन्द भएको छ । हिमा गाउँपालिका नाग्म–गमगडी सडकको भूगोलपाटा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्यलिहीमा पहिरो गएको छ ।त्यस क्षेत्रमा कनकासुन्दरी गाउँपालिका र हिमा गाउँपालिकाले डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरिरहेका छन् ।

मुगु खण्डमा पर्ने सात घुम्ती, पिना, टोप्ला, झ्यारी ताल्चा, तुमालगायतका क्षेत्रमा पनि पहिरो गएको छ । त्यहाँको पहिरो पन्छाउन सेना खटिएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया