झिनियाँ बनाउनमा व्यस्त म्याग्दीका महिला उद्यमी (फोटोफिचर)

 कात्तिक ५, २०७९ शनिबार १०:१३:४८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – जिल्लाको बेनी नगरपालिका–८, हस्पिटलचोककी महिला उद्यमी भुलकुमारी रोका अहिले तिहार पर्वका लागि झिनियाँ बनाउने काममा निकै व्यस्त हुनुहुन्छ । बिहान उठेदेखि साँझसम्म झिनियाँलाई पानी तताउने, चामलको पीठो खुड्ने (ढिँडो मस्काउने), मेसिनमा राखेर पेल्ने, झिनियाँ बनाउने, सुकाउने र उठाउने उहाँको दिनचर्या बनेको छ ।

२०६० सालबाट झिनियाँ बनाउने काम सुरु गर्नुभएकी रोकाले पछि बिस्तारै व्यावसायिक रुपमा झिनियाँ बनाउन थाल्नुभएको हो । सुरुवातको समयमा सामूहिक रुपमा पाँच जनाले झिनियाँ बनाएकोमा अहिले उहाँसँगै थप दुई जनाले संयुक्तरुपमा झिनियाँ बनाइरहेका छन् । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनको नेटा स्थायी घर भएकी उद्यमी रोका सदरमुकाम बेनी झरेपछि झिनियाँ बनाउन थाल्नुभएको थियो ।

सुरुमा पाँचहजार रुपैयाँको मेसिन खरिद गरेर झिनियाँ बनाउन थाल्नुभएकी महिला उद्यमी रोकाले हाल ७० हजार रुपैयाँमा बिजुलीबाट चल्ने आधुनिक मेसिन जडान गर्नुभएको छ । यसपटक तिहार पर्व नजिकिएसँगै झिनियाँ बनाउन सुरु गर्नुभएकी उहाँले हरेक वर्ष दशैँतिहार तथा अन्य समयमा अर्डर अनुसारका आकर्षक झिनियाँहरु बनाउने गरेको बताउनुभयो । यसवर्ष तिहारमा मात्रै ५ बोराभन्दा बढीको उच्च गुणस्तरीय चामल खरिद गरेर उहाँले झिनियाँ बनाइरहनुभएको छ । एक बोरा चामलबाट पाँचहजार रुपैयाँभन्दा बढीको झिनियाँ बनाउन सकिने महिला उद्यमीहरु बताउँछन् ।

उद्यमी रोका जस्तै रघुगंगा गाउँपालिका–५, झीँ गाउँका ४ जना महिलासहित मंगला–२, हिदीको हुमादेवी फगामीको समूह पनि तिहारका लागि भन्दै झिनियाँ बनाउने काममा लागिपरेको छ । उनीहरुले अहिले दैनिक रुपमा झिनियाँ बनाउँदै आइरहेका छन् । यो तिहारका लागि मात्रै आफूहरुको समूहले १ सयभन्दा बढी बोरा चामलको झिनियाँ बनाइरहेको महिला उद्यमी गौरा पाईजाले जानकारी दिनुभयो । उहाँले प्रति दर्जन झिनियाँलाई होलसेल मूल्य एकसय ३० रुपैयाँदेखि ५० सम्म बिक्री गर्ने गरेको बताउनुभयो ।

रोका र पाईजा जस्तै सदरमुकाम बेनीबजारदेखि जिल्लाको ग्रामीण भेगसम्मका महिला उद्यमीहरु तिहार आएसँगै झिनियाँ र सेलरोटी बनाउने तयारीमा जुटेका छन् । नेपालीहरुको महान् पर्व दसैँमा विशेष गरी प्रायः मासु खाने प्रचलन रहेकोमा तिहार पर्वमा भने झिनियाँ, सेलरोटी, मिठाईलगायत विभिन्न परिकारहरुको प्रयोग गर्ने गरिन्छ । दसैँ, तिहारमा अन्य परिकारसँगै झिनियाँलाई पनि मानिसहरुले रुचाउने गरेका छन् । निकै मेहेनतका साथ बनाइने झिनियाँ खाँदा स्वादिलो हुन्छ ।

अहिले हिमाली जिल्ला म्याग्दीका महिला उद्यमीहरुलाई तिहारका लागि झिनियाँ बनाउन भ्याइनभ्याई छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएलगत्तै उनीहरुलाई झिनियाँ बनाउने व्यस्तता बढेको हो । हरेक वर्ष बडादसैँ, तिहार पर्व, ब्रतबन्ध, विवाह, पूजाआजा र अन्य समयमा झिनियाँ बिक्री गरेरै महिलाहरुले मनग्गे आम्दानी गर्दै आइरहेका छन् । चाडपर्वका साथै विवाह, ब्रतबन्ध, पूजाआजा, जन्मदिन पार्टी, अन्य भोजभतेरसहित माङ्गलिक तथा सामाजिक कार्यमा झिनियाँ खपत हुँदै आएको छ ।

म्याग्दीमा उत्पादित झिनियाँ जिल्लाको विभिन्न स्थानका साथै बागलुङ, पर्वत, पोखरा हुँदै काठमाडौंको बजारसम्म पुग्ने गरेको महिला उद्यमीको भनाइ छ । यस्तै बेलायत, अमेरिका, कोरिया, र अस्ट्रेलियालगायत देशमा जाने नेपालीहरुले झिनियाँ खरिद गरेर लैजाने गरेका छन् । झिनियाँबाट प्राप्त आम्दानीले लगानी उठाउनुका साथै घरखर्च चलाउन, बालबच्चाको पढाइखर्च जुटाउन, चाडपर्व मनाउन र केही रकम वित्तीय संघसंस्थामा समेत बचत गर्ने गरेको झिनियाँ उत्पादनमा सक्रिय अर्का उद्यमी हुमादेवी फगामीले आफ्नो अनुभव सुनाउनुभयो ।

थोरै लगानी र कम समयमा पनि झिनियाँ बनाउन सकिने भएपछि म्याग्दीका महिलाहरुको झिनियाँ उत्पादनतर्फ आकर्षण बढेको छ । कतिपय महिलाहरु सामूहिक रुपमै झिनियाँ बनाउने पेशा, व्यवसायमा आबद्ध भएका छन्भने कोही एकल रुपमा संलग्न छन् । सदरमुकाम बेनीबजारमा मात्रै हस्पिटचोक, शिक्षामार्ग, न्युरोड, हुलाकचोक, बैंकरोड, मङ्गलाघाट क्षेत्रका महिलाहरुले झिनियाँ बनाउँदै आइरहेका छन् ।

उज्यालोको पर्वका रुपमा लिइने तिहारमा झिनियाँ, सेलरोटी, मिठाई जस्ता परिकारहरु खाने तथा सयपत्री, मखमली, गोदवरीसहित विभिन्न प्रकारका फूलहरुको माला र सप्तरङ्गी टिका लगाएर तिहार मनाउने गरिन्छ । तिहारलगायत चाडपर्वमा मीठो–मीठो खाने, नयाँ लुगा लगाउने, पिङ तथा चमच्चा (रोटेपिङ) खेल्ने, चङ्गा उडाउने प्रचलन नेपाली समाजमा छ । 


 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया