म्याग्दीका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ

 कात्तिक १५, २०७९ मंगलबार ११:३०:२३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी - हिमाली जिल्ला म्याग्दीका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ छ । किसानलाई धान, भटमास, बारीमा लगाएको कोदो, भाङ्गो लगायतका खाद्यान्न भित्र्याउने चटारो छ ।

पाकेको धान काट्ने, सुकाउने, उठाउने, कुन्यु लगाउने टिपाटिपमा आफूहरु लागेको बेनी नगरपालिका–५, चिप्लेटीका किसान हिराबहादुर खत्रीले बताउनुभयो ।

असोज महिनादेखि मंसिरसम्मको समय किसानका लागि अत्यन्त व्यस्त समय हो । अहिले म्याग्दी जिल्लाको माथिल्लो भेगका किसानहरु खासगरी धानबाली थन्क्याउने कामका लागि दिनभर खेतबारीमा भेटिन्छन् । चाडपर्व मनाएलगत्तै आफूहरु धान काट्ने, उठाउने, कुन्यु लगाउने र दाइँ हाल्ने जस्ता काममा व्यस्त भएको किसानहरुले बताएका छन् ।

धानबाली भित्र्याएपछि खेत तथा पाखो बारीमा हिउँदे बालीहरु गहुँ, जौ, तोरी, उवालगायत छर्ने गरिन्छ । माथिल्लो भेगमा धानबाली भित्र्याएर कोदो काट्ने, बोडीलगायत गेडागुडी टिप्ने र परम्परागत बाली गहुँ, जौ, उवा छर्ने चलन छ । यसपटक मौसम अनुकूल भएसँगै खाद्यान्न बाली भित्र्याउन सहज भएको हुँदा किसानहरु उत्साहित छन् । युवापुस्ता रोजगारी, अवसर र सेवासुविधाको खोजीमा सहर, बजार तथा देशविदेश पसेका कारण गाउँमा काम गर्ने श्रमिकको अभाव हुने गरेको चिप्लेटीका किसान खत्रीले गुनासो गर्नुभयो ।

गाउँघरमा बाली लगाउने, गोडमेल गर्ने र भित्र्याउने बेलामा अर्मपर्मको साथै पालो लगाउने प्रचलन रहिआएको छ । पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि दाइँ हाल्ने, खेतबारी जोत्ने र मलमुत्र बनाउन बस्तुभाउको अभाव झेल्न किसानहरु बाध्य छन् ।

यसैबीच, यसवर्ष भने विगतको तुलनामा धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । धान रोप्ने समयमा पर्यात मनसुनी वर्षा नहुनु, किसानले समयमै मलबिऊ नपाउनु, सिँचाइको अभाव, समयमा रोपाइँ नहुनु, पाक्ने बेला अत्यधिक पानी पर्नु र हावाहुरीले धान ढलाउनु जस्ता कारणले उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया