म्याग्दीका ८ वटा मतदान केन्द्रकाे जिम्मा महिला अधिकृतलाई

 कात्तिक २८, २०७९ सोमबार १९:१०:३९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दीकाे बेनी

म्याग्दी – म्याग्दीका आठ वटा मतदान केन्द्रमा महिलालाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा म्याग्दीका आठ वटा मतदान केन्द्रको जिम्मेवारी महिलालाई दिइएको हो ।

चुनावका लागि म्याग्दीका एक सय २० वटा मतदान केन्द्रमध्ये आठ वटा केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्रलाई समावेशी बनाउन महिलालाई पनि नेतृत्वको अवसर दिइएको हो ।  

बेनी नगरपालिका–१ रत्नेचौर अर्जममा रहेको रामचन्द्र मावि मतदान केन्द्रमा करुणा कार्की, बेनी–९ घतानको नेप्टेचौरमा रहेको राष्ट्रिय मावि मतदान केन्द्र (ख) मा साधनाकुमारी श्रेष्ठलाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । यसैगरी अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग मावि मतदान केन्द्र (ख) मा प्रतिज्ञा सुवेदी र रघुगंगा नगरपालिका–३ राखुपिप्लेको हिमाल आधारभूत विद्यालय पातल्ना मतदान केन्द्रमा शान्ति खत्रीलाई मतदान अधिकृत तोकिएको छ । 

त्यस्तै मंगला गाउँपालिका–२ बाबियाचौरको मंगला माविको (ख) मतदान केन्द्रमा पवि थापा, मालिका गाउँपालिका–६ दरबाङको जनप्रिय मावि दरबाङ (क) केन्द्रमा उमादेवी कँडेल र धवलागिरि गाउँपालिका–७ ताकममा रहेको ताकम माविको (क) मतदान केन्द्रमा लालमाया छन्त्याललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको सहायक निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । यस्तै जिल्ला कारागार कार्यालय म्याग्दीको अस्थायी मतदान केन्द्रमा अम्बिका शर्मालाई मतदान अधिकृत बनाइएको छ भने यस केन्द्रमा सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगीसमेत सबै महिला कर्मचारीलाई नै जिम्मेवारी तोकिएको उहाँको भनाइ छ । 

मतदान केन्द्रलाई मतदानस्थलको भौगोलिक अवस्थाअनुसार स्थानीयवासीको सहयोगमा अपाङ्गमैत्री बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्देशन दिएको छ । मतदान गराउने जिम्मेवारी पाएपछि महिला कर्मचारी उत्साहित भएका छन् । चुनाव गराउने आवश्यक तालिमसहित मतदान अधिकृतको जिम्मेवारी पाएकोमा खुसी लागेको मतदान अधिकृत उमादेवी कँडेलले प्रतिक्रिया दिनुभयो । 

म्याग्दीमा ८२ वटा मतदानस्थल, एक सय १९ वटा मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । चुनाव सम्पन्न गराउन म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर नौ सय ५२ जना कर्मचारी परिचालन गरिने भएको छ । 

प्रतिनिधि सभातर्फ एक र प्रदेश सभा तर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मङ्सिर ४ गतेको चुनावका लागि यहाँ ८६ हजार एक सय २० जना मतदाता कायम भएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया