याे चुनावमा पहिले जस्ताे उत्साही छैनन् साेलुवासी

 कात्तिक ३०, २०७९ बुधबार १०:११:५० | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

साेलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका १ जम्बुककी सर्किनी शेर्पासँग चुनावमा भोट हालेको लामो अनुभव छ । तर कुनै पनि दल तथा उम्मेदवारले विजयी भएपछि जनमैत्री काम गर्न नसकेको उहाँको दुखेसोे छ ।

वि.स. २०७४ सालको चुनावमा भोट हाल्दा जुन उत्साह थियो, यसपटकको चुनावमा भने नभएको शेर्पा बताउनुहुन्छ । ‘मैले धेरै पटक भोट हालेँ, भोट माग्न आउँदा मात्रै सम्झिन्छन् नेताहरुले हामीलाई, भोट माग्न आउँदा चै हजुर नमस्कार भन्दै आउँछ, जितिसकेपछि आफै कमाउनमा मात्रै लाग्छ, हामी जनतालाई कसले हेर्ने खै, तर जे भए पनि भोट त दिनै पर्‍यो नि’, उहाँले भन्नुभयाे ।

चुनावका समयमा दलहरूले बाँड्ने आश्वासनमा विश्वासै लाग्न छाडेको मतदाता बताउँछन । हरेक पटक चुनावमा यस्तै खालका आश्वासन नेताले दिने गरेको नेचासल्यान गाउँपालिका १ ख्याम्पुका सन्तोष मगरको भनाइ छ ।

‘खै भोट हाल्न त जानै पर्छ तर त्यति साह्रै जाँगर चाँइ चलेको छैन है, नेताहरुदेखि पनि अब त दिक्क छन् जनताहरु, उनीहरुले जनतालाई चाँइ भोट हाल्ने साधनको रुपमा मात्रै लिन्छन् त, विकास केही गर्नु छैन, उनीहरुको स्वार्थका लागि भोट हाल्दिनुपर्ने रे !’, मगरले आक्राेश पाेख्दै भन्नुभयाे ।

हरेक चुनावमा दलहरूले बाँड्ने आश्वासनले न त दैनिकी फेरिएको छ, न गाउँमा कुनै परिवर्तन आएको छ । चुनावताका नेताहरुले जनताका सामान्य समस्या भन्दा माथि भाषण गरे पनि चुनाव सकिएसँगै ती आश्वासनहरु पनि सकिने मतदाताहरु बताउँछन् ।

चुनावमा परिवर्तन र विकासको आशामा भोट हाले पनि जनताको मनोभावना बुझ्ने नेता कहिल्यै भेटिन नसकेको तामाखानीकी डोमा तामाङकाे गुनासाे छ । डोमा भन्नुहुन्छ, ‘नेताहरुले जनता चिन्ने भनेकै चुनावको बेला मात्रै हो, अरुबेला त कहाँ चिन्छन् र, उनीहरुलाई भोट दिएर जिताएपछि हामीलाई यसो दु:ख पर्दा पनि हेर्ने भए पो हुन्थ्यो, एक पटक भोट दिएपछि ५ वर्ष सम्म हराउँछन् ।’

कतिपय गाउँ घरमा खानेपानीको चर्को समस्या छ । विद्यालय टाढा हुँदा पढाइमा समस्या छ । तर, नेताको भाषणमा भने यस्ता समस्या समावेश नै नहुने मतदाताको बुझाइ छ । हरेक चुनावमा दोहोरिने पूरा नहुने प्रतिबद्धताले मतदाता दिक्क छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया