रुकुम पश्चिम : अदुवा किन्न बारीमै पुग्छन् व्यापारी, १८ सय मेट्रिक टन निर्यात

 मंसिर १६, २०७९ शुक्रबार १४:३८:२२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा उत्पादन भएको अदुवाले राम्रो बजार पाएको छ । सरकारले अदुवा ब्लक कार्यक्रम सञ्चालन गरेर अदुवा उत्पादनमा जोड दिएपछि यहाँको उत्पादनले बजार पाएको हो । 

त्रिवेणी गाउँपालिका ४ पोखरी गाउँका शेरबहादुर खड्काले अदुवा खरिद गर्न व्यापारी बारीमै आउने गरेको बताउनुभयो । व्यापारीले अदुवाको माग धेरै गरेपछि अदुवा खन्ने, केलाउने र सुकाउने काममा व्यस्त भएको उहाँले जनाउनुभयो । 

मकै खेती छोडेर अदुवा खेती गर्न थाल्नुभएका उहाँले बारीमा २० क्विन्टल अदुवाको बिउ लगाएकोमा अहिलेसम्म त्यसबाट ८० क्विन्टल अदुवा निकालिसकेको बताउनुभयो । अदुवा खेती गर्न सजिलो हुने भएकाले मकै छोडेर यसतर्फ आकर्षित भएकाे उहाँकाे भनाइ छ । 

पोखरी गाउँमा मात्रै ३२ घरले व्यावसायिकरूपमा अदुवा खेती गरेका छन् । व्यापारीले घरमै पुगेर अदुवा प्रतिक्विन्टल चार हजार रुपैयाँसम्ममा खरिद गर्ने गरेका छन् । सडककाे सुविधाका कारण व्यापारी ट्र्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै आउने गरेका किसानकाे भनाइ छ । यहाँका किसानले अदुवा बेचेर एक सिजनमा झन्डै पाँच लाख रुपियाँसम्म आम्दानी गर्ने गरेका छन् । 

कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख मिनबहादुर केसीले यस सिजनमा अहिलेसम्म झन्डै एक हजार आठ सय मेट्रिक टन अदुवा जिल्ला बाहिर निर्यात भएको जानकारी दिनुभयो । उहाँका अनुसार औसतमा प्रतिकिलो ४० रुपियाँमा अदुवा बिक्री हुने गरेको छ । कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा त्रिवेणी गाउँपालिकामा मात्र एक सय ८० हेक्टर जमिनमा अदुवा लगाइएको थियो । अझै पनि किसानले बारीबाट अदुवा निकाल्दै गरेका निमित्त प्रमुख केसीले बताउनुभयाे ।

यस गाउँपालिकाको सिम्रुतु, खारा, झुल्नेटा, बाघखोर र नुवाकोटडाँडामा अदुवा सङ्कलन गरि जिल्ला बाहिर निर्यात हुने गर्दछ । जिल्लाको त्रिवेणी गाउँपालिका, आठबिसकोट नगरपालिका र चौरजहारी नगरपालिकाका केही वडामा अदुवा राम्रो उत्पादन हुने गर्छ । अदुवा बेचेरै गाउँमा करोडौँ रुपियाँ भित्रिने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया