बाग्मतीमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने

 पुस ३०, २०७९ शनिबार ११:३७:१६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । आउँदाे माघ ३ गते मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिएपछि मात्रै  मन्त्रिपरिषद् विस्तार हुने भएको हाे । 

प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले विश्वासको मतका लागि तयारी गर्न प्रदेश सभा सचिवालयलाई आग्रह समेत गर्नुभएको छ । मुख्यमन्त्रीले शपथ लिएकै दिनमा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले अर्थ मन्त्रालय र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई विनाविभागीय मन्त्री बनाएपछि यस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छैन । अरु सबै मन्त्रालय मुख्यमन्त्री जम्मकट्टेलसँगै छ ।

कुन दलले कति मन्त्रालय र कुन–कुन मन्त्रालय प्राप्त गर्ने भन्ने कुरामा छलफल गर्न बाँकी रहेको उहाँले बताउनुभयो । यस प्रदेशमा एमालेले ५, माओवादीले ४, राप्रपा र समाजवादीले २/२ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयकाे दाबी गरेका छन् । सत्तारूढ दलभित्र मन्त्रीको दाबी गर्नेको सङ्ख्या बढेपछि भागबन्डा मिलाउन सकस भएको छ । विगतमा दलहरूको भागबन्डा पुर्याउन धेरै मन्त्रालय राखेर बढाइएको खर्च कटौती गर्न मुख्यमन्त्रीले आफ्नो पहिलो निर्णयमा नै मन्त्रालय घटाउने घाेषणा गरिसक्नुभएको छ ।

जम्कट्टेल प्रदेश सभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । उहाँलाई एमालेका २७, नेकपा माओवादी २१, राप्रपा १३, नेकपा एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ । ११० सदस्यीय प्रदेश सभामा ५६ मत भएको खण्डमा उहाँले सहजै विश्वासको मत प्राप्त गर्ने हुनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया