बाग्मती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिँदै

 माघ ३, २०७९ मंगलबार १०:६:४५ | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर - बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिँदैहुनुहुन्छ । आज दिउँसो साढे १२ बजे प्रदेश सभा बैठकमा आफूले विश्वासको मत लिन लागेको मुख्यमन्त्री जम्मकट्टेललले जानकारी दिनु भएकाे हाे । 

संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। यही व्यवस्थाअनुसार मुख्यमन्त्री जम्मकट्टेलले आजै प्रदेश सभामा विश्वासको मत लिन लाग्नु भएको हो । 

मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई विश्वासको मत दिनका लागि आग्रह समेत गर्नु भएको छ । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस समेतलाई विश्वासको मत दिनका लागि उहाँले आग्रह गर्नुभयो । यस प्रदेशमा कांग्रेसले सत्तारुढ दलहरुसँग सभामुख पद मागेको थियो । तर, राप्रपाको भागमा परेको सभामुख नपाएपछि कांग्रेसले विश्वासको मत नदिने अठोट गरेको छ । 

सङ्घीय सरकारमा कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि बाग्मती प्रदेशमा कांग्रेसले मत दिने विषयमा गहन रुपमा छलफल गरेको छैन । कांग्रेसमा संस्थापन पक्षका पनि दुईधार र संस्थापन इतरको अर्को धार भएकाले थप समस्या भएको छ । तर, कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान संसदीय दलको कार्यालयमा बस्ने भएको छ । विश्वासको मत दिनेकी नदिने भन्ने विषयमा बैठक बस्न लागेको कांग्रेसका सांसदहरु बताउँछन् ।

उहाँले गएकाे पुस २५ गते बाग्मती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । जम्मकट्टेलले पुस २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

उहाँलाई प्रदेश सभाको पाँच दलको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो । उहाँ नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका २ सांसद गरी ७० जनाको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया