बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेससहितका दलका १ सय ५ सांसदको विश्वासको मत

 माघ ३, २०७९ मंगलबार १६:५३:४० | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको छ । प्रदेश सभाको हल हेटौँडामा मङ्गलवार भएको मतदानमा जम्कट्टेलले एक सय १० सांसदमध्ये एक सय पाँच जनाको मत पाउनुभएको हो ।

सङ्घीय सरकारलाई विश्वासको मत दिएर आलोचित भएको नेपाली कांग्रेसले बाग्मती प्रदेशमा पनि नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री बन्नुभएका शालिकराम जम्कट्टेलाई विश्वासको मत दिएको हो ।

बाग्मती प्रदेशमा सबैभन्दा ठूलो दल रहेको कांग्रेससँग ३७ जना सांसद छन् । मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा एक सय पाँच जना सांसदले मत दिएका छन् भने विपक्षमा नेपाल मजदुर किसान पार्टीका तीन जना सांसदले मत दिएका छन् । एक जना सांसद अनुपस्थित हुँदा सभामुख तटस्थ रहनुभएको छ । एक सय सांसद रहेको प्रदेश सभामा विश्वासको मत पाउन ५६ सांसद भए पुग्थ्यो ।

जम्कट्टेलले कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई सांसद गरी एक सय पाँच जना सांसदको मत पाउनुभएकाे हाे ।

प्रदेश सभा बैठकमा नेपाली कांग्रेसबाट बहादुरसिंह लामा, नेकपा एमालेबाट जगन्नाथ थपलिया, माओवादीबाट युवराज चौलागाईं, राप्रपाबाट कुमारी तामाङ, समाजवादीबाट कृष्ण शर्मा खनाल, नेमकिपाबाट सुरेन्द्रराज गोसाईं र हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्यले धारणा राख्नुभएकाे थियाे । 

संसदीय दलको कार्यालय हेटौँडामा आज बसेको बैठकले निर्णय नै गरेर कांग्रेसका सबै सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया