वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सुरु भयो टेलिमेडिसिन सेवा, यसरी लिन सकिन्छ सुविधा

 चैत १५, २०७९ बुधबार १३:८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले आज बुधवारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि चिकित्सकको टोलीसहित टेलिमेडिसिन सेवा सुरुवात गरिएको बोर्डले जनाएको छ । 

सार्वजनिक बिदाको दिन बाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह हुने बोर्डले जनाएको छ । विदेशमा रहेका नेपालीहरूले ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइवर, ह्वाट्स एपा वा इमो लगायतको माध्यममार्फत सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या राख्न सक्नेछन् ।

फोन तथा अन्य माध्यमबाट श्रमिकले राखेका समस्या सुन्न र समाधान गर्नका लागि मेडिकल अधिकृतहरूले खटिएका छन् ।  

१० देखि ५ बजेको समयमा फोन गरेर आफ्नो समस्या राख्न सकिन्छ । यदि मेडिकल अधिकृतहरूले नै समाधान गर्न सक्ने स्वास्थ्य समस्या भएमा उनीहरूले तत्काल सम्बोधन गर्ने र यदि थप विशेषज्ञ डाक्टरको सल्लाह आवश्यक परेमा प्रत्येक हप्ताको आइतबार र शुक्रवार विशेषज्ञ डाक्टरले नै श्रमिकको समस्या समाधानका लागि काम गर्ने बोर्डका सूचना अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । 

‘अहिले उहाँहरूले फोन गर्दा एमबिबिएस डक्टरहरूले नै उठाउनुहुन्छ र उहाँहरूको तर्फबाट समाधान हुने समस्या भएमा समाधान गर्नुहुन्छ, तर उहाँहरूले समस्या सुन्दा थप विशेषज्ञ सेवा चाहिने देखेमा विशेषज्ञ डाक्टरकोमा उहाँहरूले नै रेफर गर्नुहुन्छ ‘सूचना अधिकारी पौडेलले भन्नुभयो ‘मुटुको बिरामी हुनुहुँदो रहेछ भने उहाँको बारेमा विवरण टिपेर राखिन्छ र आइतबार र शुक्रवार मुटुकै डाक्टर बोलाएर हामी सेवा प्रदान गर्छौँ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई गन्तव्य देशमा भाषा र अन्य विविध समस्याको कारण बिमारी पर्दा सामान्य परामर्श लिन पनि समस्या भइरहेको भन्दै आफ्नै देशमा फोन गरेर आफ्नो स्वास्थ्य समस्या राख्ने व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

बिरामी श्रमिकलाई थप विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रवार विशेषज्ञ सेवासमेत उपलब्ध गराइने बोर्डले जानकारी दिएको छ ।

आइतबार र शुक्रवार धेरैजसो गन्तव्य देशमा सार्वजनिक बिदा पर्ने भएकाले पनि यस दिन विशेषज्ञ सेवा उपलब्ध गराइने भएको हो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया