राहदानी विभागको टोली पोर्चुगलमा, विद्युतीय राहदानीको दरखास्त सङ्कलन गर्ने

 चैत १६, २०७९ बिहिबार १२:१७:४८ | रासस
unn.prixa.net

काठमाण्डौ – राहदानी विभागको टोली राहदानीको दरखास्त सङ्कलनका लागि पोर्चुगल पुगेको छ ।

विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधवार राजधानी लिस्बन पुगेको राहदानी विभागले जनाएको छ । विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, अवैतनिक नेपाली महावाणिज्यदूतावासका प्रतिनिधि छविलाल बगाले, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेललगायतले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

यसैबीच टोलीअन्तर्गतको नेपाली राजदूतावास पेरिस, फ्रान्सका प्रतिनिधिले बुधवारबाटै राहदानी सेवा दिन सुरु गरेको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा सुरु गरेको हो ।

बुधवार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएका गरी १७ जनाको दरखास्त सङ्कलन गरिएको टोलीका सदस्य एवं नेपाली दूतावास पेरिस, फ्रान्सका तृतीय सचिव दीपेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । 

टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिनुभयो ।

झण्डै एक महिनासम्म सञ्चालन हुने राहदानी सेवा शिविरबाट पाँच हजारभन्दा बढी नेपालीले सेवा लिने अनुमान गरिएको छ । टोलीले आउँदो अप्रिल २५ सम्म शनिवारबाहेकका दिन राहदानीलगायत सेवा प्रवाह गर्ने बताइएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया