गोरखाका सुकबहादुर चेपाङलाई ७२ वर्षको उमेरमा नागरिकता

 बैशाख १६, २०८० शनिबार १४:४:२३ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाको गण्डकी गाउँपालिका वडा नम्वर १ मकैसिंका सुकबहादुर चेपाङले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । वडा कार्यालयबाट भएको सिफारिस लगायतका कागजातका आधारमा जिल्ला प्रशासन कार्यालयले शुक्रवार उहाँलाई नागरिकता प्रदान गरेको हो ।

नागरिकतामा जन्ममिति २००८ साल असार १० गते उल्लेख गरिएको छ । ‘बल हुँदासम्म चितवनका विभिन्न ठाउँमा अरुकै घरमा काम गरेर बस्यो, अब बृद्धावस्थामा सहाराको खोजी गर्दै गाउँ फर्केपछि भत्ताको पनि कुरा आयो’ वडा सदस्य कमानसिं प्रजाले भन्नुभयो, ‘बुवा, आमा, श्रीमती, छोराछोरी कोही पनि छैनन् त्यही भएर पनि उतिबेला नागरिकताको चासो भएन, अहिले भत्ताकै लागि नागरिकता चाहिने भयो ।’

वंशजको आधारमा नागरिकता प्राप्त गर्नका लागि आवश्यक पर्ने बलियो कागजात जुटाउन समय लाग्दा यसअघि ३ पटकसम्म प्रशासन कार्यालय पुगेर फर्किनु परेको वडा सदस्य कमानसिंले बताउनुभयो ।  

‘उहाँको नाताहरु पुष्टि नभएपछि वडाको सर्जमिन, प्रहरीको मुचुल्का, बुवा आमाको मृत्यु भएको पुष्टि हुने कागजात तयार गर्‍यौं’ कमानसिंले भन्नुभयो ‘४/५ दिन दु:ख पाइयो, सिडियो र सहायक सिडिओले धेरै सहयोग गर्नुभयो, हामीले पनि सबै यथार्थ कुरा भनिदियौं म पनि साक्षी बसें अनि नागरिकता बन्यो ।’ 

नागरिकता प्राप्तिका लागि भतिजा रामबहादुर चेपाङले सनाखत गर्नुभएको हो । चेपाङ समुदायमा असाध्यै खाँचो परेपछि मात्रै सरकारी कागजातको खोजी गर्ने क्रम अझै पनि रहेको गाऊँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बताउनुभयो ।

‘नागरिकता भएको भए २ वर्ष पहिलेदेखिनै बृद्धभत्ता पाउनुहुन्थ्यो, ढिलै भए पनि एउटा प्रक्रिया पूरा भएको छ, अब हामी भत्ताका लागि छिट्टै प्रक्रिया पूरा गर्छौं ।’ परिवार र घरबारबिहिन सुकबहादुरलाई अब आफूले पालनपोषण गर्ने भतिजा रामबहादुरले बताउनुभयो ।

‘दुई छाक भातको भरमा चितवनमा अरुको घरमा काम गरेर बस्यो, अहिले बुढेसकालमा न ज्यान छ न धन छ’ उहाँले भन्नुभयो, ‘महिनाको चार हजार भत्ताले उसको उपचार र दुई छाक खान पुगिहाल्ला ।’

सुकबहादुरले लामो समय अरुको घरमा काम गरेवापतको श्रमको मूल्य दिलाउन पहल गर्ने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताउनुभयो । ‘एउटा विपन्न वर्गको मान्छेलाई वर्षौंसम्म बिना ज्याला काम लगाउनु हुन्नथ्यो, चितवन प्रशासनको समन्वयमा उहाँले कहाँ कहाँ कति कति वर्ष काम गर्नुभएको रहेछ भन्ने पत्ता लगाएर न्यूनतम भए पनि ज्याला दिलाउन पहल गरेका छौं’ भुषालले भन्नुभयो । श्रमको ज्याला प्राप्त हुन सकेमा बैङ्कमा जम्मा गर्दिएर त्यसैबाट घरखर्च चलाउन सजिलो हुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया