खाजा खान गएका एक जनाको हत्या आरोपमा होटलका सञ्चालकसहित ६ जना पक्राउ

 बैशाख २८, २०८० बिहिबार १०:४४:६ | सिताराम अधिकारी
unn.prixa.net

काठमाण्डौ – हत्या आरोपमा धादिङमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा रहेको सानदार होटलमा खाजा खान गएका गल्छी गाउँपालिका ८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरको हत्या भएको हो ।

विनोदको हत्या आरोपमा होटल सञ्चालक २८ वर्षीय निरज पण्डित र पण्डितकी आमा सरस्वतीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

खाजा खाएको पैसा तिर्ने क्रममा विवाद भएपछि निरजले विनोदलाई छुरा हानेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) धर्मजित थिङले बताउनुभयो ।

उहाँका अनुसार खाजा खाएको एक हजार एक सय रुपैयाँ तिर्न विनोदले एक हजार ५ सय रुपैयाँ दिएको तर चार सय रुपैयाँ फिर्ता नपाएपछि विवाद सुरु भएको थियो ।

छुरा प्रहारबाट घाइते भएका विनोदलाई सँगै खाजा खाइरहेका दुई जना साथीले राति नै उपचारका लागि काठमाण्डौको नर्भिक अस्पताल ल्याएका थिए ।

तर, अस्पताल ल्याउनासाथ विनोदको ज्यान गएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

घटनापछि स्थानीययबासिन्दाले गल्छी त्रिशुली सडक रातिदेखि बन्द गराएका छन् । उनीहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया