मौसमी कामदारको रूपमा बेलायतमा कार्यरत श्रमिकमाथि चरम शोषण

 जेठ २, २०८० मंगलबार १७:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बेलायतमा मौसमी कामदारको रूपमा कार्यरत विदेशी श्रमिक चरण शोषणमा परेको भन्दै आप्रवासी श्रमिकको अधिकारका लागि काम गर्ने विभिन्न सरोकारवालाहरूले आवाज उठाएका छन् ।

मौसमी कामदारको रूपमा बेलायत जाने विभिन्न देशमा आप्रवासी श्रमिकहरूले जाने बेलामा नै चर्को शुल्क तिर्न परेको र बेलायत पुगिसकेपछि पनि बाध्यकारी श्रम गर्न बाध्य भएको भन्दै नेपालसहित विभिन्न देशका सामाजिक सङ्घसंस्थाहरू, प्राज्ञिक तथा अनुसन्धान गर्ने संस्थाहरूले बेलायत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

विभिन्न संस्थाहरूले संयुक्त रूपमा बेलायत सरकारलाई पठाएको पत्रमा मौसमी कामदारका रूपमा बेलायत जाने आप्रवासीले हजारौँ पाउण्ड शुल्क तिर्न परेको र बेलायतमा पनि श्रमिकहरू बाध्यकारी श्रममा परेको उल्लेख गरिएको छ । 

फेयर स्क्वायर, वर्क राइट्स सेण्टर, ल एण्ड पोलिसी रिफर्म फर सोसल जस्टीस नेपाल, रिफ्यूजि एण्ड माइग्रेटोरी मुभमेण्टस् रिसर्च बंगलादेश, ज्वाइन्ट काउन्सील फर द वेलफेयर अफ इमिग्रेण्ट्स बेलायत, वर्क सपोर्ट सेण्टर, दर्हाम युनिभर्सिटी लगायतका संस्थाहरूले बेलायत सरकारको ध्यानाकर्षण गराउँदै पत्र पठाएका हुन् ।

पछिल्लो समय बेलायतले नेपालबाट मौसमी कामदार लैजान छाडेको छ । नेपालबाट जाने श्रमिकहरूले मौसमी कामदारको रूपमा जाँदा चर्को शुल्क तिर्न परेको विषयलाई नै आधार मानेर बेलायतले नेपालीलाई मौसमी कामदारको रूपमा नलिने निर्णय गरेको थियो ।

तर बङ्गलादेशबाट मौसमी कामदारका रूपमा श्रमिक लिन सुरुवात गरेको छ । एक देशमा देखिएको समस्या समाधानका लागि श्रमिक लिनै बन्द गरेर अर्को देशबाट श्रमिक लैजान थाल्दैमा समाधान नहुने सरोकारवालाहरूको भनाई छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया