कुवेतमा रहेको नेपाली दूतावासबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने

 असार १, २०८० शुक्रबार १४:१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतमा रहेको नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृति सेवा सुरु गरेको छ ।

कुवेतमा काम गरिरहेका श्रमिकहरूले शुक्रवारदेखि आफ्नो श्रम स्वीकृति दूतावासबाटै नवीकरण गर्न सक्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । कुवेतमा काम गरिरहेका घरेलु श्रमिकले पनि दूतावासबाट पुनः श्रम स्वीकृति लिन सक्नेछन् ।

श्रम स्वीकृति प्रदान दूतावासले गर्ने भए पनि आवेदन भने अनलाइनमार्फत नै दिनपर्छ र सबै प्रक्रिया पुर्‍याएर आवेदन दिएमा अनलाइनमार्फत नै श्रमिक स्वीकृति पाइन्छ । 

दूतावासबाट श्रम स्वीकृति लिन राहदानीको प्रतिलिपि, कुवेतको आवासीय भिसा(सिभिल आइडी)को प्रतिलिपि, यसअघि श्रम स्वीकृति लिँदाको कम्पनी र अहिले कार्यरत कम्पनी फरक फरक भएमा अहिले काम गरिरहेको कम्पनीसँग गरिएको करार सम्झौता पत्र, सवारी चालकहरूको हकमा कुवेतबाट जारी भएको सवारी चालक अनुमति पत्र पनि पेस गर्नुपर्छ । 

यस्तै घरेलु श्रमिकको हकमा भने यी कागजातसँगै रोजगारदाता (स्पन्सर)को सिभिल आइडी, तलब, भत्ता लगायतका अन्य सेवा सुविधा खुलेको करार सम्झौता पत्र, स्वघोषणा पत्र र अनुसूची ८ को फारम भर्नुपर्छ । 

आवेदन फारम वैदेशिक रोजगार विभागको वेबसाइट www.dofe.gov.np वा https://feims.dofe.gov.np/ मार्फत भर्न सकिन्छ । यो आवेदन फारम सकेसम्म आफैँ, आफूले नजानेमा आफ्नो साथीभाइ, आफन्त वा नेपालमा रहेको आफ्नो पालिकालाई समेत अनुरोध गर्न सकिन्छ । 

यसअघि मलेसिया, कतार, साउदी र ओमानमा रहेको नेपाली दूतावासले पनि श्रम स्वीकृति जारी गर्न थालिसकेका छन् । पहिले पहिले श्रम स्वीकृति नवीकरण गर्न नेपाल नै आउन पर्ने बाध्यताको अन्त्य गर्दै सरकारले दूतावासबाटै पनि श्रम स्वीकृति जारी हुने व्यवस्था गरेको हो ।

अब विदेशमा हुनुहुन्छ भने दूतावासबाट र नेपालमा आउनुभएको छ भने आफूलाई पायक पर्ने श्रम तथा रोजगार कार्यालयहरूबाट श्रम स्वीकृति लिन सकिन्छ । श्रम स्वीकृतिको आवेदन भर्न पहिलाजस्तो एजेण्ट वा साइबरलाई पैसा बुझाउन पर्दैन ।

आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएर आवेदन भरिदिन अनुरोध गर्न सक्नुहुन्छ । सेवा केन्द्रहरूले तपाईँको श्रम स्वीकृतिको फारम भरिदिन्छन् ।

हेर्नुहोस् पुनः श्रम स्वीकृति लिने तरिका यो भिडियोमा

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया