गोलभेँडाको गनगन, प्याजको फर्‍याकफुरुक !

 असार १०, २०८० आइतबार १६:४०:४५ | मिलन तिमिल्सिना
unn.prixa.net

‘गुहार–गुहार लौन बचाउ । भान्सामा पुर्‍याएर नकाट्दै मान्छेले सडकमै पछारेर र कुल्चेर मार्न लागे’ थिलोथिलो भएको ज्यान सुम्सुम्याउँदै गुड्दै गरेको गोलभेँडा टोकरीको कुनामा छेल परेर अडियो ।

‘बोटबाट टिपेपछि यसै मरिसक्यौ नि । अब के मर्न बाँकी छ र गुहार माग्नलाई’ टोकरीमा गमक्क परेर बसेको प्याज बोल्यो ।

‘बोटबाट टिप्दैमा कहाँ मरिन्छ ? बोट छोडेर क्यारेटमा, क्यारेट हुँदै गाडीमा, गाडी चढेर बजारमा र त्यहाँबाट प्लास्टिकको थैलोमा कोचिएर मान्छेका भान्सामा पुग्दासम्म नै सास बाँकी रहन्छ । त्यहाँमाथि बेच्ने मान्छेले बेलाबेला पानी छम्केर सुत्न पनि दिँदैनन् । तिमी प्याजहरू पो बजारमा पुग्दा कक्र्याकुक्रुक भएर सुकिसकेका हुन्छौ’ सडकमा पछारिएर भाग्दै आएको गोलभेँडाले फूर्ति गर्‍याे ।

‘सुकेर के भो त ? हामी त बोरामै टुसाउँछौँ । भान्सामा राख्दाराख्दै उम्रन्छौँ’ प्याजले आफ्नो प्रजनन क्षमताको धक्कु लगायो ।

‘त्यस्तै कुरा गर्ने हो भने हामी त मान्छेको पेटभित्र पसेर निस्केपछि पनि बारीमा उम्रन्छौँ । अहिले पो मान्छेले चर्पीमा दिसा गर्न थाले । पहिले पहिले त हामीलाई खेतबारीमा रोप्नै पर्दैन थियो । खेतबारी र खोल्साखाल्सीमा मान्छेले दिसा गरेपछि हामी त्यहीँ उम्रन्थ्यौँ । त्यही दिसामा फलेको हामीलाई मान्छे मुख मिठ्याउँदै खान्थे । त्यति बेला हामी गोलभेँडालाई चाहिँ घिन लाग्थ्यो । पेटभित्रबाट निस्केर पनि उम्रन सक्ने हिसाबले त हामी कहिल्यै मरेकै हुँदैनौँ । तर मान्छेले पलपलमा मारिरहेका हुन्छन्’ गोलभेँडाले थिलोथिलो भएको शरीर छाम्यो ।

‘त्यस्ता मान्छेलाई त दुःख दिनुपर्छ, रुवाउनुपर्छ हामीले झैँ । जसले हामीलाई काट्यो, त्यसले आँसु झार्‍याे । तिमीहरू गोलभेँडाजस्तो नामर्द हो र सहनलाई’ सरकारी भ्याटले छोइनसक्नु भएको प्याजले जवाफ दियो ।

‘त्यसैले त धेरै मान्छेले तिमीहरूलाई मन पराउँदैनन् । प्याज नभए पनि तरकारी पाकिहाल्छ नि भनेर तिमीहरूको वास्तै नगरि हिँड्न थालेछन्’ गोलभेँडाले देखेको कुरा बोल्यो । 

‘अँ खुब तिमी गोलभेँडेहरूलाई माया गरेका ! क्रेटबाट उचालेर सडकमा पछार्दा पनि नपुगेर डोजरको पाङ्ग्राले पेलेका । त्यति धेरै माया पाएरै होला नि शरीरभरि घाउ नै घाउ लागेको, सुन्निएर थिलोथिलो भएको !’ प्याजले व्यङ्ग्य हान्यो ।

‘दुखेको घाउमा नुनचुक नछर्क प्याज दाइ । अहिले हामीभन्दा महँगो भए पनि तिमी र हामी दुवै उस्तै जातका । कतिपय बाहुनहरूले हामी दुवैको नाम लिएर गोलभेँडा र प्याज खान हुँदैन भन्छन् । मासु पकाउँदा प्याज र गोलभेँडा दुवै राख्छन् । अचारमा धेरै हामी गोलभेँडाहरू पिसिए पनि बेला बेला तिमी प्याजेले पनि साथ दिन्छौ । सलादमा त हामीलाई नै रोज्छन् । तरकारी र अचार ट्वाक्क पार्न पनि गोलभेँडा र प्याज नै चाहिन्छ । हामीलाई फलाएर कति किसान धनी भएका छन् । त्यसैले हामी मिल्नुपर्छ प्याज दाइ’ गोलभेँडा बल्ल लाइनमा आयो ।

‘तिमी गोलभेँडेहरू बढी भएर फाल्नुपर्ने खालका, हामी प्याजहरू महँगो भएर छोइनसक्नु भएका । लेभल नै मिल्दैन, अनि कसरी मिल्ने ?’ प्याजको फूर्ति घट्ने कुरै भएन ।

त्यसो त हामी पनि कुनै बेला छोइनसक्ने खालकै थियौँ । अहिले भुइँमा पछारिएका छौँ । कुनै बेला फेरि उठ्न सकौँला नि पहिलेजस्तै ।

यस्तै पारा हो भने गोलभेँडाहरू सधैँका लागि सुतेको सुत्यै, हामी प्याजहरू चाहिँ उठेको उठ्यै हुने हो । 

‘हैन प्याज दाइ उपभोक्ताको भान्सामा पुग्ने बेलासम्म त हामी पनि महँगो नै हुन्छौँ । यता बजारमा भाउ पाइएन भन्दै नौटङ्की गरेर हामीलाई फ्याँक्छन्, पछार्छन्, अनि कुल्चन्छन् र पो त ! उता उपभोक्ता चाहिँ गोलभेँडा पनि किन्न सकिएन भन्दै रित्तो हात फर्कन्छन् । हामीलाई फलाउने किसान भाउ पाइएन भन्दै धुरुधुरु रुन्छन्’ गोलभेँडाले वास्तविकता बोल्यो ।

‘यो कुरो चाहिँ ठिक भन्यौ है गोलभेँडा । भाउ पाइएन भनेर उता तिमीहरूलाई सडकमा पछारेको बेला यता मान्छेले तिमीहरूजस्तै गोलभेँडालाई ५० रुपैयाँ किलोसम्म किन्दै थिए । कतिपय त किन्नै नसकेर रित्तो हात पनि फर्किए’ अघिसम्म फूर्ति गर्दै गरेको प्याजले शान्त भएर देखेको कुरा भन्यो ।

हो, त्यही त भन्या प्याज दाइ । किसानले भाउ नपाउने, उपभोक्ताले त्यही भाउ नपाएको गोलभेँडा चर्को मूल्यमा किन्नुपर्ने । 

हामी प्याजहरू, अनि हाम्रा अरू सहकर्मी तरकारीहरूको हालत पनि यस्तै त हो । बिचौलिया र व्यापारी मोटाउने, किसान र उपभोक्ता मर्कामा पर्ने । अनि यता स्वदेशमा हामी आफैँ धेरै हुँदा पनि पुगेन भनेर भारतबाट हाम्रा शत्रु भित्र्याउनुपर्ने ।

हामीलाई फलाउने किसान पनि उस्तै हुन् क्या प्याज दाइ । एउटाले गोलभेँडामा नाफा गर्‍याे भन्ने थाहा पाएपछि सबैले गोलभेँडा खेती गर्छन् । अनि सबैले गोलभेँडा खेती गरेपछि कहाँ नाफा हुन्छ त ? नबिकेपछि यी यसरी फालिनुपर्छ ।

‘ल ल सबैले सुन्नेगरी धेरै नचिच्याउ, यहाँबाट पनि टिपेर खोलामा फाल्लान् फेरि’ प्याजले गोलभेँडालाई सचेत गरायो ।

‘कति फाल्लान् र, खान पनि पर्ला नि । हामी नभइ यिनलाई भात रुच्दैन, हामीलाई थाहा नभएको हो र’ गोलभेँडा रिसाएजस्तो गर्‍याे । 

‘एकछिन चुप लाग त, उताबाट मान्छेले मोबाइल तेर्साउँदैछ । टिकटक बनाउन लागेको होला । बजेट भाषणपछि त मलाई किन्नेहरूभन्दा पनि फोटो खिचेर टिकटक बनाउनेहरू धेरै छन् । पोज दिँदादिँदै हैरान छु, यसलाई पनि एउटा पोज दिनैपर्‍याे’ प्याजले उप्किनै लागेको बाहिरको बोक्रो फ्यार्र पारेर तन्केजस्तो गर्‍याे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया