पशुपतिनाथमा विकृति र भ्रष्टाचार : दानपेटिकाको घ्याम्पो हराउनेदेखि तत्कालीन सदस्य सचिवविरुद्ध मुद्दासम्म

 असार ११, २०८० सोमबार २०:३७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको नाममा विकृति र भ्रष्टाचार बढ्दै गएको छ । पशुपतिनाथ मन्दिर र पशुपति क्षेत्र विकास कोषका नाममा रहेको सम्पत्तिमा विकृति र भ्रष्टाचार बढ्दै गइरहेको हो ।

पशुपतिनाथ मन्दिर र कोषका नाममा हरेक वर्षजसो विकृतिका घटना भइरहेका छन् । अहिले पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जलहरीमा पनि तोकिएको परिमाणभन्दा कम र न्यून गुणस्तरको सुन राखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । एक सय ११ किलो सुन खरिद गरेकोमा ११ किलो सुन कमी रहेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो । अख्यितारले हिजो आइतवार विज्ञसहित सुनको तौल लिएको छ । के कति अनियमितता भयो भन्ने अझै खुलेको छैन ।

यस्तै गएको माघ १४ गते पशुपतिनाथको मूल मन्दिरका चार वटा ढोका अगाडि राखिएको दानपेटिका सङ्कलन गर्ने  घ्याम्पो नै हराए । केहीबेरमा घ्याम्पो फिर्ता भए पनि कसले चाेर्‍याे र किन फिर्ता गर्‍याे भन्ने अझै खुलेको छैन । दानका रूपमा भक्तजनले नगद र सुनचाँदी राख्ने घ्याम्पो नै हराएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले छानबिन समिति बनाउनुभएको थियो । समितिले कारबाहीको सिफारिस गरे पनि अहिलेसम्म कसैलाई पनि कारबाही भएको छैन ।

यस्तै विशेष पूजा गर्न भक्तजनले तिर्ने रकममा पनि अनियमितता भइरहेको भन्दै बारम्बार प्रश्न उठ्ने गरेको छ । महाशिवरात्री, साउने सोमवारलगायतका विशेष अवसरमा पशुपतिमा चढाउने भेटी सङ्कलन पनि पारदर्शी हुन सकेको छैन ।

यस्तै पशुपतिनाथको नेपाल–भारतमैत्री धर्मशाला व्यापारीलाई भाडामा दिएकोमा अनियमितता गरेको पनि पाइएको थियो । भारत सरकारले बनाइदिएको धर्मशाला बतास समूहलाई दिएको र बतासले होटल चलाएको थियो । यस विषयमा अदालतमा मुद्दा परेपछि अदालतको आदेशअनुसार बतास समूहसँगको सम्झौता रद्द भए पनि पशुपतिनाथ क्षेत्रका अरू संरचनामा अपारदर्शी सम्झौता यथावत् नै रहेका छन् ।

यसैबीच पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरुद्ध आज साेमवार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । ढकालले एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ ७१ पैसा गैरकानुनीरूपमा आर्जन गरेको अख्तियारको आरोप छ ।

 सम्बन्धित समाचार

ढकाल पशुपतिनाथ मन्दिरको जलहरी राख्ने प्रकरणमा समेत विवादमा परेका छन् । ढकाल २०७४ साउन ३२ गतेदेखि २०७९ सालको जेठ ३० गतेसम्म पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा बहाल थिए । अख्तियारले यही अवधिमा उनले आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया