आन्दोलनरत ऋणीबाट असुरक्षा भएको भन्दै गोरखाका लघुवित्त सञ्चालक र कर्मचारीले मागे सुरक्षा

 असार १२, २०८० मंगलबार ९:५२:४६ | किरण लोहनी
unn.prixa.net

गाेरखा - गोरखाका लघुवित्त वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारीले सुरक्षा मागेका छन् । अन्दोलनरत ऋणीबाट सुरक्षाको जोखिम भएको भन्दै उनीहरुले स्थानीय प्रशासन र प्रहरीको ध्यानाकर्षण गराएका हुन् ।

वित्तीय संस्थाको कार्यालयमा ताल्चा लगाउने, कर्मचारीलाई धम्की दिने, हातपात गर्ने जस्ता घटना हुन थालेको भन्दै उनीहरुले नियमित काम गर्न नसकिएको बताएका छन् । ज्ञापनपत्रमा गोरखामा सञ्चालनमा रहेका २३ वटा लघुवित्तका शाखा प्रमुखले हस्ताक्षर गरेका छन्।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले लघुवित्तले लिँदै आएको ब्याजदर, ऋणीले माग गरे अनुसार ब्याज मिनाहा लगायतका विषयमा अर्थक्षेत्रको नियामक निकायले टुङ्गो लगाउने भन्दै सुरक्षाका सन्दर्भमा स्थानीय प्रशासन गम्भीर रहेको बताउनुभयो।

लघुवित्त वित्तीय संस्थाका सञ्चालक तथा कर्मचारीले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरिदिन जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि हिजो ज्ञापनपत्र पठाएका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया