नारायणगढ–मुग्लिन सडक दिनभर नै बन्द हुने सम्भावना : यात्रुको बिचल्ली (तस्बिरसहित)

 असार १५, २०८० शुक्रबार ११:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नारायणगढ–मुग्लिन सडकको पहिरो हटाउन नसक्दा यात्रुको बिचल्ली भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा पहिरो जाँदा हिजो दिउँसो साढे १ बजेदेखि सडक अवरुद्ध छ । २२ घण्टादेखि सयौँ यात्रु सडकमा अलपत्र छन् । पहिरोका कारण साना ठूला सबै गाडी बीच बाटोमै रोकिएका छन् । एम्बुलेन्ससमेत रोकिएकाले बिरामीलाई पीडा भएको छ । 

लगातार पहिरोसँगै ठूला ठूला ढुङ्गा खसिरहेकाले पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो नरोकिए आज दिनभरि नै सडक बन्द हुने सम्भावना रहेको सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सडकमाथिको पहाड नै खसेर सडकमा बसेको छ भने बेलाबेला ठूला ढुङ्गासमेत खसिरहेकाले हटाउन कठिनाइ भएको छ ।

सडक खुलाउन डोजरलगायत मेसिन तयारी अवस्थामा राखे पनि लगातार पहिरो खसिरहेकाले हटाउन नसकिएको हो । थप पहिरो नखसे बेलुकासम्ममा सडक खुलाइने उहाँले बताउनुभयो । अहिले पहिरो प्रभावित क्षेत्रमा सिमसिम पानी परेको छ । पहिरो रोकिनासाथ पन्छाउन सुरु गरिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् । यस्तै, नारायणगढबाट काठमाण्डौ, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ ।  

तस्बिर : सागर कार्कीकाे फेसबुक र उज्यालाे सहकर्मी प्रताप बानियाँ 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया