जुम्लाका ४२ सय हेक्टर जमिनमा स्याउ खेती बिस्तार

 असार १७, २०८० आइतबार १०:२५:३५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – स्याउकाे जिल्लाकारुपमा परिचित जुम्लाले पछिल्लाे समय स्याउ खेती द्रुतरुपमा बढाउँदै लगेकाे छ । जुम्लाले बर्सेनि स्याउ उत्पादन मात्रै नभइ खेती पनि बिस्तार गर्दै लगेको छ । 

जिल्ला कृषि विकास कार्यालयले २०६४ सालमा एक घर एक स्याउ बगैँचा अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैँचा र स्याउ रोप्ने काम बिस्तार भएकाे छ । 

अहिले पछिल्लो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदानसमेत दिन थालेपछि स्याउ खेती बढ्न थालेको छ । 

जुम्लामा २०७३/०७४ सालदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई स्याउ बगैँचा बिस्तारका लागि बिरुवा तथा कृषि सामग्रीमा अनुदान साथै क्षमता विकास कार्यक्रम गर्न थालेपछि स्याउ खेती बिस्तारमा थप सहयोग पुगेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरणको तथ्याङ्क अनुसार अहिले जुम्लाको ४२ सय ५० हेक्टर जमिनमा स्याउ खेती बिस्तार भएको छ । जसमा उच्च घनत्वका बिरुवाहरु पनि लगाउन थालिएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका प्रमुख खेमराज शाहीका अनुसार तीन सय ३५ दशमलव ७५ हेक्टर जमिनमा मात्रै कार्यक्रमअन्तर्गत स्याउ बिस्तार गरिएकाे छ ।

यसैगरी कार्यक्रमअन्तर्गत जुम्लाको ६५ हेक्टर जमिनमा ओखर खेती पनि बिस्तार गरिएको छ साथै सात वर्षको अवधिमा २६ स्थानमा चकलाबन्दी, दुई सय ५ वटा साना सिँचाइकाे काम पनि गरिएकाे शाहीले जानकारी दिनुभयो ।

त्यस्तै १८ वटा नर्सरीका लागि जालीघर निर्माण, एउटा माटो परीक्षण ल्याब, दुई वटा हाईटेक नर्सरी स्थापनाकाे काम पनि भएकाे छ । 

नेपाल सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत गुठीचौर एग्रो फर्मले मात्रै ४६ लाख ९९ हजार ४ सय ५० रुपैयाँ अनुदान सहयोग प्राप्त गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख शाहीका अनुसार २१ लाख ९९ हजार ४ सय ५० सिँचाइ र घेरबारमा तथा २५ लाख रुपैयाँ बिरुवामा अनुदान दिइएको हो ।

किसान मिनबहादुर भण्डारीको नेतृत्वमा गुठीचौर एग्रोफर्मअन्तर्गत जलजला, धपडा र काडाखोलामा सञ्चालन गरिएको एग्रोफर्ममा ३५ हजार बिरुवा रोपेर नेपालकै ठूलो बगैँचा स्थापना गरिएकाे छ । भण्डारीले एकै स्थानमा २८ हजार स्याउको बिरुवा रोपिएको जानकारी दिनुभयो ।

भण्डारीको बगैँचामा फुजी, किङरङ र गोल्डेन जातको स्याउ रोपिएको छ । किसान भण्डारीले गत वर्ष ८० टन स्याउ उत्पादन गरेको र यस वर्ष दुई सय टन स्याउ फल्ने अनुमान गरेकाे बताउनुभयाे । 

किसान भण्डारीले करिब २२ करोड रुपैयाँको लगानीमा बगैँचा व्यवस्थापन गरेको बताउनुभयो । उहाँले गुठीचौर एग्रोफर्मकाे एउटै बगैचामा २८ हजार फुजी, ५५ सय किङरङ र २८ सय गोल्डेन जातका स्याउका बिरुवा रोपिएका पनि जानकारी दिनुभयाे ।  

जुम्ला गुठीचौर गाउँपालिकाका किसान भण्डारी जस्तै धेरै किसानले अहिले स्याउबाटै आर्थिक समृद्धिको भविष्य देखेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका आखे कृषि पर्यटन तथा अनुसन्धान उद्योगले यस वर्ष तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ ।

किसान सरोज शाहीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चार सय ५० बिरुवा ५० प्रतिशत अनुदानमा दिइएको र ५० प्रतिशत अनुदानमा १० लाख रुपैयाँमा स्याउ ग्रेडिङ मेशिन स्थापना गरिएको छ । 

परियोजनाअन्तर्गत स्याउ सुपरजोन सञ्चालक समन्वय समिति जिल्लाका अध्यक्षसमेत रहेका शाहीका अनुसार परियोजनाले राम्रो काम गर्दै आएको र समृद्धिका लागि अझै आवश्यक बजेट प्राप्त हुनुपर्ने बताउनुभयो ।

गुठीचौर गाउँपालिका–३ तल्लो गुठीचौरमा किसान टंक गिरीले २२ हेक्टर जमिनमा १४ हजार स्याउका बिरुवा रोपेर व्यवसायिक कृषिमा लाग्नु भएको छ । उहाँले दुई हजार दुई सय हेक्टर जमिनमा घेरबार गरेर स्याउ लगाउनु भएको हो ।

हिमाली टी एण्ड एग्रो प्रालिको नाममा शुरुवात गरिएको किसान गिरीको बगैँचाले २४ लाख ४९ हजार १ सय ५१ रुपैयाँ अनुदान प्राप्त गरेको सुपरजोन कार्यालयले जानकारी दिएको छ ।

यस वर्ष कालिकोटमा तिलागुफा नगरपालिका-३ चुलीकर्णाली एग्रोप्रालिले फोईगाउँमा एक सय ५० रोपनी जग्गामा २० हजार बिरुवा लगाउन मिल्ने स्याउ बगैँचा स्थापना गरेको छ । स्याउ सुपरजोन कार्यालयले बगैँचालाई ५ हजार बिरुवा फुजी स्याउकाे बिरुवा अनुदान उपलब्ध गराएको छ ।

यसैगरी जुम्लामा मात्रै यो बर्ष १९ हजार २ सय बिरुवा अनुदान दिइएको सुपरजोन कार्यालयले जनाएको छ । प्रालिका प्रोपाइटर नविन हमालका अनुसार ७० देखी लाख लगानी भएको छ । स्याउबाटै समृद्धि देखिएकाले स्याउ खेतीमा लागिएको उहाँले बताउनुभयो ।

गुठीचाैर गाउँपालिका-५ मा पनि २ हजार ८ सय बिरुवा राेपेर सामुदायिक बगैँचा स्थापना गरिएको छ। स्थानीय धर्म भण्डारीले सामुहिक रुपमा बगैँचाको स्थापना गरिएको बताउनुभयो ।

उहाँका अनुसार सामुदायिक बगैँचाको जग्गा ४० जना किसानको रहेको छ । बगैँचामा पनि सरकारले लगानी शुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाले त्यस बगैँचामा १५ सय बिरुवाका लाग्ने ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

स्याउले पछिल्लो जिल्लाका नांगा डाँडापाखामा स्याउन रोपिनेक्रम बढेकाे छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा आर्थिक वर्ष २०७९/०८० मा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

*४२ सय हुनुपर्नेमा यसअघि अन्यथा भएकाेले सच्याइएकाे छ– सम्पादकीय

अन्तिम अपडेट: बैशाख १५, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया