काठमाण्डौको सुन्दरता थप्दै करिडोर सडक

 असार २१, २०८० बिहिबार १२:३०:५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

अनामनगरदेखि चाबहिल पुग्न भित्रि शहरको धोबीखोला करिडोरले निकै सजिलो बनाएको छ । सडकले सहज त छँदैछ करिडोरको दायाँबायाँको हरियालीले बाटो हिँड्नेलाई प्रफुल्लित बनाउँछ । बेगमबेली र करबिरलगायतका फूलको आकर्षणले यात्रा गर्नेहरुलाई पनि एकैछिन रोकिउँ रोकिउँ लाग्छ । अहिले वर्षाको बेला पानी फोहोर नै भए पनि दुर्गन्धरहित भएर बगेको धोबीखोलाले त्यस क्षेत्रको सुन्दरता बढाएको छ ।

‘अहिले हरियालीले खोला नै देखिँदैन । बर्खा भएर गन्ध छैन । तर, हिउँदमा पनि गन्ध नआउने त होइन, गन्ध आए पनि हरियाली र फूलहरुले राम्रो देखिँदा गन्ध पनि नआएको जस्तो लाग्छ,’ धोबीखोला करिडोरको अनामनगरमा किराना पसल चलाउने पार्वती बडालको अनुभव हो यो ।

सात वर्षअघि उहाँले पसल शुरु गर्दा धाेबीखोला यस्तो थिएन । एक त दुर्गन्धित खोला त्यसमाथि बाटोमा खाल्डाखुल्डी र फोहोर ।

तर, गएको पाँच वर्षदेखि भने उहाँको पसल अगाडिको धोबीखोला करिडोरको अवस्था फेरिएको छ । बाटो पनि पिच भएर राम्रो भएको छ । खोला किनारको दायाँबायाँ दुवैतिर रुखहरु रोपिएका छन् । फूलहरु फुलेका छन् । यसले गर्दा त्यहाँको दृश्य नै फेरिएको छ ।

उहाँ भन्नुहुन्छ, ‘अहिले पसलमा आउने मान्छेहरु पनि कस्तो राम्रो भयो यो करिडोर भन्छन् । तर, धेरैलाई पाँच वर्ष अगाडिको यहाँको अवस्थाबारे थाहा छैन । अहिले बेगमबेली करबीर फुलेका छन् ।’

धोबीखोला करिडोरमा अहिले कपुर, धुपी, समी तथा पीपलको रुख पनि देख्न सकिन्छ । त्यस्तै कतै कतै वर तथा रबर प्लान्टका बिरुवाले पनि करिडोरको सौन्दर्य बढाएको छ ।

यूएन पार्कको अगाडि बाग्मती दोभानदेखि चाबहिल ओम अस्पतालको बैजनी पुलसम्म  करिब १२ किमि धोबीखोला करिडोरको सौन्दर्यीकरणको काम उपत्यका विकास प्राधिकरणले २०७३ सालमा शुरुगरेको हो । चाबहिलदेखि बूढानीलकण्ठ वडा नम्बर–२ राममन्दिरसम्म नै सौन्दर्यीकरणको काम धोबीखोलाअन्तर्गत परे पनि अहिले त्यस क्षेत्रमा भने काठमाण्डौ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र वन विभागले गरिरहेको प्राधिकरणका इन्जिनियर सज्जन कुँवरले जानकारी दिनुभयो।

करिडोरमा झण्डै चार/पाँच हजार रुख रहेको र यस वर्ष पनि ५०/६० वटा रुख रोपिएको कुँवरले बताउनुभयो ।

काठमाण्डौ उपत्यका विकास प्राधिकरणले अहिले तारकेश्वरको महादेवखोला करिडोर र टोखाको साङ्लेखोला करिडोर हेरिरहेको छ । त्यस्तै ललितपुरको गोदावरी खोला करिडोर पनि प्राधिकरणले हेरिरहेको सूचना अधिकारी सौरब ढकालले बताउनुभयो ।

धोबीखोला करिडोर अन्तर्गत वडा नम्बर ३० को मैतीदेवीबाट पुरानो बानेश्वर जाने सेतोपुलदेखि कालोपुलसम्मको क्षेत्रमा भने रुद्रमती सरोकार समाजले सौन्दर्यीकरण गरेको बताउनुहुन्छ वडाध्यक्ष दलबहादुर कार्की ।

कार्कीका अनुसार गमला र माटो भर्ने काम प्राधिकरणले गरेको हो । बिरुवा लगाउने काम भने विभिन्न नर्सरीसँगको समन्वयमा भएको छ । हरेक शनिवार समाजले बिरुवा हेरविचार गर्ने काम पनि गर्दै आएको छ ।

उहाँ भन्नुहुन्छ, ‘प्राधिकरण, वातावरण समूह भन्ने विभिन्न निजी क्षेत्र जसअन्तर्गत रुद्रमती सरोकार समाजले फूल बिरुवा रोप्ने यसको संरक्षण गर्ने र यसलाई हेरविचार गर्ने काम गरेको छ ।’

बाग्मती करिडोरको फेरिएको सौन्दर्य

यूएन पार्क नजिकै ललितपुर र काठमाण्डौ जोड्ने नयाँ पुलबाट बाग्मती नदीको किनारै किनार शन्तिनगरतर्फ लागेपछि आफूलाई विदेशतिर गएझैँ लाग्ने बताउनुहुन्छ सौरभ ढकाल । शान्तिनगरको एक निजी अफिसमा बजारीकरणको काम गर्ने ललितपुर गोदावरीका ३२ वर्षे ढकाल पहिले पनि यो बाटो धेरै हिँड्नुभयो । उहाँ भन्नुहुन्छ, ‘पहिले पहिले यो बाटोमा मान्छे हिँड्न त्यति मन गर्दैनथे । तर, अहिले हरियाली भएपछि र वरपर पार्क बनेपछि यो बाटो भएर यात्रा गर्ने र टहल्न आउने पनि धेरै भएका छन् ।’

यसैक्षेत्रमा फर्निचर पसल गर्ने सर्लाही हरिवनका वीरेन्द्र महतो पाँच वर्ष पहिले यस ठाउँमा निकै फोहोर र बाग्मतीको दुर्गन्ध आउने गरेको बताउनुहुन्छ । ‘पहिले बाटो पनि राम्रो थिएन । धुलो उड्थ्यो । फोहोर पनि त्यत्तिकै थियो । बिरुवाहरु पनि केही पनि थिएन,’ उहाँ भन्नुहुन्छ, ‘अहिले त हेर्दै आनन्द लाग्ने भएको छ । काम गर्दा पनि आनन्द आउँछ । चराहरुको पनि आवाज आउँछ । बिहान त झनै रमाइलो हुन्छ ।’

काठमाण्डौ वडा नम्बर १० को यस क्षेत्रमा वडा तथा रोटरी क्लबको संयुक्त सहयोगमा फूलबिरुवा रोप्ने काम भएको छ । वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीका अनुसार वडाले गएको तीन/चार वर्षदेखि रुख बिरुवा लगाउने, फूलहरु रोप्ने काम गरिरहेको छ । यस क्षेत्रमा रहेका दुई वटा पार्कमध्ये एउटा रोटरी क्लब तथा अर्को सात्य साई केन्द्रले बनाएको हो । उहाँ भन्नुहुन्छ, ‘पुरानो बानेश्वरदेखि नयाँ बानेश्वरसम्मको सबै क्षेत्रमा हामीले काम गरेका हौँ ।’

बाग्मती तथा बाग्मतीमा जोडिने सहायक नदीहरुमा सुन्दरता थप्ने काम अधिकार सम्पन्न बाग्मती सम्यता एकीकृत विकास समितिले गरिरहेको छ । गुह्यश्वरीदेखि माथि गोकर्णसम्मको करिब तीन किलोमिटर खण्डमा भने समिति आफैँले काम गरिरहेको र अन्य संस्थासँग पनि सहकार्य रहेको समितिका प्रवक्ता वीरेन्द्र थपलिया बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘ढलको काम हामी गर्छौँ । बिरुवा रोप्ने, हरियाली बनाउने काम भने हामी र काठमाण्डौ महानगरपालिकाको सहकार्यमा भइरहेको छ । अन्यत्र पनि त्यस्तै नै छ ।’

२०६५ सालमा बाग्मती करिडोरको काम शुरु भएको हो । करिडोरको काममा नदीलाई ढलमुक्त बनाउने, फोहोरमैला व्यवस्थापन गर्ने, बस्ती व्यवस्थापन गर्ने, पानीको बहाव बढाउने र सौन्दर्यीकरण पनि समावेश छ । तर, दुई दशक बितिसक्दा पनि बाग्मती नदीमै पनि कतै ट्रयाक खोल्ने काम नै बाँकी छ भने बस्ती व्यवस्थित गर्ने काम पनि बाँकी छ ।

प्रवक्ता थपलियाका अनुसार नदी किनारको २० मिटर जग्गामध्ये १० मिटर सडकका लागि छोडेर बाँकी भएको ठाउँमा पार्क, बर्गैचा, हरियाली कायम गर्न सकिन्छ । यसका लागि समिति आफैँले पनि धेरै ठाउँमा काम गरिरहेको र कतिपय ठाउँमा समितिको स्वीकृति लिएर विभिन्न संघसंस्थाले काम गरिरहेको छ ।

हरियालीको लागि समितिले अहिले थापाथलीको बाग्मती पुलभन्दा तलको भागमा २७ वटा विभिन्न संरचनाहरु गुठी संस्थानाले निर्माण गरेको र उसैले हेरचाह गर्ने पनि थपलियाले बताउनुभयो । 

व्यवस्थित हुँदै विष्णुमती

शोभा भगवतीका स्थायी बासिन्दा बाबुलाल खड्गी अहिले आफ्नै घर अगाडि बनेको सडक अनि पार्क हेरेर दंग हुनुहुन्छ । उहाँलाई आफ्नो घर अगाडि यति राम्रो सडक र पार्क बन्छ भनेर लागेको नै थिएन । किनकि पाँच वर्ष अगाडि पनि यहाँ सडक त्यति राम्रो थिएन । वरिपरि फोहोर दुर्गन्ध थियो । नदीको अवस्थामा त अहिले पनि खासै सुधार आएको छैन ।

खड्गी भन्नुहुन्छ, ‘धेरै वर्ष अगाडिको त कुरा नगरौँ करिब पाँच वर्ष अगाडि पनि यहाँको बाटो असाध्यै फोहोर थियो । बाटोले गरेर हिँड्नै गाह्रो थियो । अहिले बाटो पनि राम्रो बन्यो । पार्क पनि बन्यो । एकदम हेरिरहुँ लाग्ने भएको छ ।’

काठमाण्डौ महानगरपालिका तथा अधिकार सम्पन्न बाग्मती सम्यता एकीकृत विकास समितिले संयुक्त पहलमा वडा नम्बर १७ ले यहाँ पार्क तथा हरियाली बिस्तार गरेको हो । वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरका अनुसार विष्णुमती करिडोरको धेरै ठाउँमा समिति तथा काठमाण्डौ महानगर मिलेर हरियाली बनाउने काम भइरहेको छ । धेरै ठाउँमा वडा तथा त्यस ठाउँका समाजसेवी संस्थाले मिलेर काम गरिरहेका छन् । विष्णुमती करिडोरमा पनि यसै गरी काम भइरहेको छ ।

मानन्धर भन्नुहुन्छ, ‘बिस्तारै हामी यस क्षेत्रका अरु ठाउँमा पनि सम्भव भएसम्म पार्क तथा हरियाली बिस्तारको काम गर्छौँ ।’ बूढानीलकण्ठदेखि टेकु दोभानसम्म फैलिएको विष्णुमती नदी करिडोरको धेरै ठाउँमा ट्रयाक खोल्न बाँकी नै छ ।

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया