विमानस्थलबाट फर्काइएकामध्ये पुरानै कागजमा ९ जना कुवेत र १५ जना जोर्डन उडे

 असार २९, २०८० शुक्रबार १७:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शङ्कास्पद देखिएको भन्दै अध्यागमनले विमानस्थलबाट फर्काएकामध्ये ९ जना कुवेत र १५ जना जोर्डन उडेका छन् । 

हिजो बिहीबार कुवेत हिँडेका तर विमानस्थलबाटै फर्काइएका एक सय १७ मध्ये ९ जना भने आज शुक्रवार बिहान त्यही कागजातको आधारमा कुवेत उडेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ । 

सङ्घका अनुसार बुधवार जोर्डन हिँडेका १५ जनालाई फर्काएको अध्यागमन विभागले बुधवार सुटुक्क त्यही कागजात र भिसामा उनीहरूलाई जोर्डन उड्न अनुमति दिएको र उनीहरू जोर्डन पुगिसकेका छन् ।

अध्यागमन विभागले असार २४ गते जोर्डन जान लागेका १५ जनालाई विमानस्थलबाट फर्काएको थियो भने असार २७ गते सलाम र कुवेत एयरलाइन्समार्फत रोजगारीका लागि कुवेत हिँडेका एक सय १७ जनालाई विमानस्थलबाटै फर्काएको थियो ।

यसरी फर्काइएका मध्ये ९ जनाको भने भिसाको अवधि भोलि शनिवार सकिँदै थियो । भिसाको अवधि सकिन लागेकालाई म्यानपावर कम्पनीले आज शुक्रवार फेरि टिकट काटेर विमानस्थल पठाएको थियो ।

हिजो बिहीबार बोकेकै कागजातको साथमा आज शुक्रवार उनीहरूलाई अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिएको र ९ जना नै कुवेत पुगिसकेको व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

‘हामीले हिजो बिहीबार श्रम र गृहमन्त्रीदेखि सचिवसम्म यो विषयमा ध्यानाकर्षण गराएका थियौँ, आज हिजो फर्काइएको कागजकै आधारमा ९ जनालाई जान दिइयो’ अध्यक्ष भण्डारीले भन्नुभयो ‘अब बाँकीको के हुन्छ भन्न सकिने अवस्था छैन, तर सङ्घ श्रमिकहरूलाई क्षतिपूर्तिसहित उड्न पाउने व्यवस्था गर्न माग गर्दछ ।’

विमानस्थलबाट फर्काइएका मध्ये कतिपय आफ्नो घर फर्किएका छन् भने कतिपयलाई म्यानपावर कम्पनीले नै होटलमा राखिरहेको सङ्घले जनाएको छ । 

बोर्डिङ पास लिएर अध्यागमनको प्रक्रियासमेत पुरा गरेर पर्खाइमा बसेकाहरूलाई समेत अध्यागमनले फर्काएको थियो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया