अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको विज्ञापन गर्ने दुई म्यानपारलाई विभागले गर्‍यो कारबाही

 साउन ३२, २०८० बिहिबार १०:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अनुमतिबिना सामाजिक सञ्जालमार्फत विदेश पठाइदिने विज्ञापन गर्दै राहदानी सङ्कलन गर्ने दुई म्यानपावरलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ ।

स्वीकृति बिना नै सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीको विज्ञापन गर्ने  क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालि र इगल म्यानपावर कन्सलट्यान्ट प्रालिलाई विभागले दुई/दुई लाख रुपैयाँ जरिबाना गराएको हो ।

दुई म्यानपावरले विभिन्न सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीमा कामको अवसर भएको विज्ञापन गरेर राहदानीसमेत सङ्कलन गरेका थिए । तर यसरी वैदेशिक रोजगारीको विज्ञापन गर्न विभागसँग भने स्वीकृति लिएका थिएनन् । 

यस्तै वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायतमार्फत प्रकाशन गरी नागरिकमा भ्रम सृजना गर्ने सुयान एजुकेशन प्रालि ललितपुर र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एण्ड ट्रेनिङ सेन्टर ललितपुरको पनि विभागले स्थलगत अनुगमन गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा वैदेशिक रोजगारीको अवसर भन्दै विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेको भन्दै विभागले यस्तो विज्ञापनमा भर नपर्न अनुरोध समेत गरेको छ । 

कानुन विपरीत वैदेशिक रोजगारीको अवसर छ भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन नगर्न समेत सबैमा विभागले सचेत गराएको छ ।

कुनै पनि देशबाट कामको माग ल्याएपछि त्यसमा श्रमिक पठाउने विज्ञापन गर्न वैदेशिक रोजगार विभागसँग अनुमति लिन पर्छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया