वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा, मलेसियाबाट समस्या राख्ने धेरै

 भदौ ६, २०८० बुधबार १७:९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सम्बोधनका लागि सरकारले सुरु गरेको टेलिमेडिसिन सेवा लिन सबैभन्दा धेरै मलेसियाबाट फोन आएको छ ।

वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको साढे तीन महिनाको अवधिमा सबैभन्दा धेरै मलेसियाबाट दुई सय ७५ जनाले फोन गरेर सेवा लिएका छन् । 

यस्तै मलेसियापछि साउदी अरेबियाबाट समस्या राख्ने नेपालीको सङ्ख्या धेरै छ । साउदी अरेबियाबाट गएको आर्थिक वर्ष २०७९ चैत १५ देखि २०८० असार मसान्तसम्ममा दुई सय २७ जनाले फोन गरेर टेलिमेडिसिन सेवा लिएका छन् । 

साउदी पछि यूएईबाट ९७ जनाले, कुवेतबाट ७१ जनाले, कतारबाट एक सय चार जनाले, जापानबाट १९ जनाले, कोरियाबाट ५७ जनाले, पोर्चुगलबाट ११ जनाले, रोमानियाबाट ११ जना र अन्य विभिन्न देशबाट ६५ जनाले फोनमार्फत टेलिमेडिसिन सेवा लिएको बोर्डले जनाएको छ । 

गएको चैत १५ गतेदेखि वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि टेलिमेडिसिन सेवाको सुरुवात गरेको हो ।

टेलिमेडिसिन सेवा संसारको जुनसुकै देशबाट पनि फोन गरेर लिन सकिन्छ । फोन मेडिकल अधिकृतहरूले उठाएर समस्या सुन्छन् र विशेषज्ञ सेवा चाहिएमा विशेषज्ञ डाक्टरकोमा रेफर गर्छन् । समस्याको आधारमा टेलिमेडिसिन सवामा विशेषज्ञ डाक्टरहरूले समेत सेवा दिने गरेका छन् । 

मेडिसिनसँग सम्बन्धित समस्या राख्ने धेरै

फोनमा मेडिसिनसँग सम्बन्धित समस्या राख्ने सबैभन्दा धेरै तीन सय १२ जना रहेका छन् । सर्जरीसँग सम्बन्धी १७२ जना, अर्थोपेडिक अर्थात् हाड जोर्नी तथा नशासँग सम्बन्धित समस्या राख्ने १३२ जना, नाक, कान र घाटीसँग सम्बन्धित समस्या राख्ने ९५ जना, छाला सम्बन्धी समस्या राख्ने ६३ जना रहेका छन् । 

यस्तै दाँतसँग सम्बन्धीतदेखि मानसिक स्वास्थ्य समस्या लगायतका समस्या राख्ने श्रमिकको सङ्ख्या पनि उल्लेख्य रहेको बोर्डले जनाएको छ ।

विदेशमा रहेका नेपालीहरूले ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरमा भाइवर, ह्वाट्स एपा वा इमो लगायतको माध्यममार्फत सम्पर्क गरेर आफ्नो स्वास्थ्य समस्या राख्न सक्नेछन् ।

फोन तथा अन्य माध्यमबाट श्रमिकले राखेका समस्या सुन्न र समाधान गर्नका लागि मेडिकल अधिकृतहरूले खटिएका छन् ।  

१० देखि ५ बजेको समयमा फोन गरेर आफ्नो समस्या राख्न सकिन्छ । यदि मेडिकल अधिकृतहरूले नै समाधान गर्न सक्ने स्वास्थ्य समस्या भएमा उनीहरूले तत्काल सम्बोधन गर्ने र यदि थप विशेषज्ञ डाक्टरको सल्लाह आवश्यक परेमा प्रत्येक हप्ताको आइतबार र शुक्रवार विशेषज्ञ डाक्टरले नै श्रमिकको समस्या समाधानका लागि काम गर्ने बोर्डका सूचना अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । 

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई गन्तव्य देशमा भाषा र अन्य विविध समस्याको कारण बिमारी पर्दा सामान्य परामर्श लिन पनि समस्या भइरहेको भन्दै आफ्नै देशमा फोन गरेर आफ्नो स्वास्थ्य समस्या राख्ने व्यवस्था गरिएको बोर्डको भनाइ छ ।

चालु आर्थिक वर्षमा विभिन्न देशमा गएका नेपाली श्रमिकका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने बोर्डले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया