अस्पतालमा बिरामीको ज्यान जानुमा डाक्टरको लापरबाही कति ?

 भदौ १३, २०८० बुधबार ८:४५:७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारका विनोद तामाङ बुवाको उपचारको लागि काठमाण्डौको वीर अस्पतालमा आउनु भएको छ । सोमवार काठमाण्डौ आएर मंगलवार वीर अस्पताल आउनु भएका तामाङको बुवालाई नशासम्बन्धी समस्या छ ।

जीउ झमझम गर्ने र पोल्ने समस्या पहिलेदेखि भए पनि अहिले रोगले अलि च्यापेकोले उहाँहरु अस्पताल आउनु भएको हो । उहाँले बुवालाई यसअघि पनि अस्पतालमा नदेखाउनु भएको त होइन । तर, डाक्टरले समस्या यही हो र यसो गर्नु भन्ने खासै जानकारी नदिएको बताउनुहुन्छ तामाङ ।

उहाँ भन्नुहुन्छ, ‘बुवाको यस्तो समस्या देखिएको झण्डै चार/पाँच वर्ष भइसक्यो । यहाँ वीर अस्पतालमा देखाउन थालेको पनि लामै समय भयो । तर, रोग के हो र के गर्ने भन्ने बारेमा डाक्टरले यही भन्न सकेका छैनन्।’

उहाँलाई पहिले पहिले डाक्टरले सबै उपचार गर्न सक्छन् भन्ने लाग्थ्यो । तर, अहिले बुवाको समस्याले उहाँको यो भ्रम हटेको छ । नसासम्बन्धी डाक्टरले लेखिदिएको औषधि खाने र रोग केही मत्थर हुने बाहेका अरु केही भएको छैन तामाङको बुवाको । यसपटक त रोगले अलि च्यापेपछि आउनु भएको हो । अब पनि खासै केही होला जस्तो उहाँलाई लाग्दैन ।

‘अहिले पनि केही औषधि थपघट गर्ने मात्रै होला । हुन त डाक्टरलाई डाक्टर भएर रोग पत्ता लगाउन नसक्ने भन्न पनि मिल्ला । तर, प्रयास गरेको देखिएको छ । भएन त के गर्ने,’ बुवालाई लिएर लाइनमा बस्नु भएका तामाङ भन्नुहुन्छ ।

डाक्टरले प्रयास गर्दागर्दै बिरामीको ज्यानै गएका घटना पनि धेरै छन् । दुई दिन अगाडि मात्रै कैलालीको धनगढीमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया गरेर निकाल्ने क्रममा एक जना बिरामीको ज्यान गएको छ । मिर्गौलाको पत्थरी निकाल्ने क्रममा डाक्टरले बिरामीको मिर्गौला नै निकालिदएको र अत्यधिक रक्तस्रावका कारण बिरामीको ज्यान गएको परिवारको आरोप छ ।

यस घटनाका बारेमा जानकारी भए पनि यर्थाथ के हो जानकारी नभइ टिप्पणी गर्न नसकिने बताउनुहुन्छ तामाङ । डाक्टरको गल्ती थियो/थिएन भन्न सकिएन । तर, अहिले बुवाको समस्यालाई जोडेर हेर्दा डाक्टरले सबै कुरा थाहा पाउँछन र गर्न सक्छन् भन्ने देखिँदैन । उहाँ भन्नुहुन्छ, ‘आरोप त मैले पनि लगाए मिल्छ । तर, डाक्टरले पनि प्रयास गरेकै छ । अब नसकेको कुरामा त हामीले पनि के भन्ने र ।’

कैलालीकै जस्तै डाक्टरको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै गुल्मी अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् । विगतमा पनि डाक्टरको लापरबाहीका कारण ज्यान गएको भन्दै डाक्टरमाथि हातपात भएको छ । केही डाक्टर र अस्पतालमाथि कारबाही भएको अवस्था पनि छ।

तर, बिरामीका आफन्तले आरोप लगाए जस्तो डाक्टरको लापरबाहीका कारण मात्र ज्यान जाने भन्ने कुरामा सहमत हुनुहुन्न ट्रमा सेन्टरका प्रमुख डाक्टर बद्री रिजाल । अगाडि देखिँदा डाक्टर देखिने भए पनि एउटा ‘टिम वर्क’ भएका कारण यसमा डाक्टरलाई मात्र दोष दिन नमिल्ने बताउनुहुन्छ रिजाल ।

बिरामी भएर अस्पताल आउने कारणले मृत्यु पनि अस्पतालमै हुने गर्छ । उपचारमा डाक्टर मात्र नभएर एउटा टिम नै खडा हुन्छ । अरु उपकरणको पनि त्यत्तिकै जरुरी हुन्छ । ‘टिमका अरु कसैको कमजोरी र उपकरणका कारण कसैको ज्यान तलमाथि हुन पुगे पनि त्यसको दोष सबै डाक्टरलाई लगाइनु गलत हो । अर्को कुरा भनेको डाक्टर भगवान पनि होइन सबैलाई बचाउन पनि सक्दैन । यो सबैले बुझ्नुपर्छ,’ डाक्टर रिजाल भन्नुहुन्छ ।

गलत उपचार भयो, लापरबाही भयो भनेर डाक्टरमाथि हातपात हुने कारणले पनि डाक्टरहरु पलायन भइरहेको रिजालको भनाइ छ । ‘त्यही जनशक्ति युरोप, अमेरिका र खाडीका देशमा गएर उपचार गर्न सक्ने यहाँ नसक्ने भन्ने हुँदैन’ उहाँ भन्नुहुन्छ ।

झन देशमा बसेर सेवा गरिरहेको जनशक्तिलाई यसरी हतोत्साहित बनाउँदा भोलि उपचारका लागि विशेषज्ञ डाक्टरकै अभाव हुने खतरा रहेको रजाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘ठीक छ कुनै घटना भयो भने छानबिन गरौँ । सत्यतथ्य हेरौँ । तर, केही हुने बित्तिकै हातपात गर्ने, अस्पताल तोडफोड गर्ने काम गर्दा काम गर्ने वातावरण बन्दैन र अवस्था झन दुःखद हुन्छ । अलि जटिल केसमा कसैले पनि कामै गर्दिन भन्ने स्थिति पनि बन्छ ।’

नेपाल मेडिकल काउन्सिल व्यावसायिक आचरण समितिका संयोजक डा कालुसिंह खत्री पनि डाक्टरको लापरबाहीले ज्यान जाने कुरामा सहमत हुनुहुन्न । सद्दे मान्छे, हिँडेर अस्पताल गएको मान्छे मर्यो भन्ने कुरा केवल भन्ने कुरा मात्र भएको र बिरामी नभइ मान्छे किन अस्पताल जान्छ भन्ने उहाँको प्रश्न छ ।

संसारका कुनै पनि उपचार जटिलतामुक्त, खतरामुक्त हुन्छ भनेर आजसम्म कुनै पनि वैज्ञानिकले लेख्न नसक्ने उहाँको दाबी छ । सामान्य सिटामोलमा पनि कैयौँ जटिलता देखिन सक्ने र यसैबाट मान्छेको ज्यान जान सक्ने हुँदा अस्पतालमा सद्दे मान्छेको ज्यान गयो भन्नु ठूलो भ्रम हुने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘सद्दे मान्छे त अस्पताल जाँदै जाँदैन । केही न केही समस्या परेर, बिरामी भएर जाने हो ।’ त्यसकारण बिरामी भएर उपचारका लागि अस्पताल गएको सन्दर्भमा ज्यान जाँदा यसलाई ठूलो विषय बनाउन नमिल्ने पनि उहाँको तर्क छ ।

चिकित्सकीय पेशा/व्यवसायको परिणाम दुईमध्ये एक मात्र हुन्छ । कि जीवन, कि मृत्यु । यसमा अन्त्यमा हुने भनेको कि जीवन रहन्छ कि रहँदैन । त्यसकारण यसको परिणाममा जीवन नरहने सम्भावना पनि उत्तिकै हुने उहाँ भन्नुहुन्छ ।

तर, वैज्ञानिक हिसाबले लामो समयदेखि अध्ययन अनुसन्धानबाट स्थापित विधिबाट उपचार गर्दा मान्छेको जीवन रक्षा हुन्छ भन्ने अनुभवका आधारमा उपचार गर्ने हो । जहाँ मान्छेको जीवनको रक्षा हुन्छ र जटिलता कम हुन्छ त्यही विधि अपनाउने हो । तर, त्यसो गर्दा पनि सबैलाई जोगाउन सकिँदैन भन्नुहुन्छ डा खत्री ।

डाक्टरले उपचार गर्दा त्यस समयमा उपलब्ध स्रोत र साधन अनि डाक्टरमा हुनुपर्ने ज्ञान र कौशल प्रयोग भयो कि भएन भनेर मुख्य हेर्नुपर्ने उहाँको भनाइ छ । ज्ञान, कौशल र सीप थिएन । आवश्यक उपकरण थिएन भने बल्ल लापरबाही भयो भन्ने प्रश्न गर्न सकिने उहाँको तर्क छ ।

यदि डाक्टरले लापरबाही गरेको प्रमाणित भए दण्डित हुनुपर्छ र विगतमा डाक्टरलाई मेडिकल काउन्सिलले कारबाही गरेको उदाहरण रहेको पनि उहाँको भनाइ छ ।

कुनै पनि डाक्टरले मार्छु भनेर बिरामीको उपचार नगर्ने र बचाउने प्रयास गर्दागर्दै ज्यान जाने कारणले पनि डाक्टरले लापरबाही गरेर मान्छे मार्‍याे भन्न नमिल्ने उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘मेडिकल काउन्सिलले अध्ययन अनुसन्धान गरेर लापरबाही र त्रुटि देखिएमा डाक्टरलाई पनि दण्डित गरिएको छ । हामीले लाइसेन्स खारेजसम्म गर्न सक्छौँ र त्यो गरेका पनि छौँ ।’

अन्तिम अपडेट: बैशाख १०, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया