‘स्वचालित मूल्य प्रणाली लागू भएका कारण अहिले छिटै भाउ घट्ने भन्ने छैन’

 भदौ १५, २०८० शुक्रबार १४:४७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारले असार ३१ गते पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० लागू गरेपछि अन्तर्राष्ट्रिय बजारमा बढेर आउँदा बढ्ने र घटेर आउँदा घट्ने व्यवस्था गरेका छौँ । त्यसैअनुसार अघिल्लाे पटक डिजल, पेट्रोलमा बढेर आउँदा बढाएका थियौँ भने ग्यासमा घटेर आएको थियो । त्यस बेलामा हामीले ग्यासमा एक सय ३० रुपैयाँ घटाएका थियौँ ।

अहिले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने क्रममा छ । हामीले पेट्रोलियम पदार्थ खरिद गर्ने इन्डियन आयल कर्पोरेशन (आईओसी) ले महिनाको दुई पटक मूल्यसूची पठाउने गर्छ । हरेक महिनाको १ तारिखमा सबै पेट्रोलियम पदार्थको तथा १५ तारिखमा डिजल र पेट्रोलको मूल्यसूची पठाउने गरेकाे छ । यस पटक पेट्रोलमा तीन रुपैयाँ १७ पैसा र डिजलमा दुई रुपैयाँ ४८ पैसा बढेर आएको छ । त्यस्तै ग्यासमा एक सय ८६ रुपैयाँ ४५ पैसा बढेर आएको छ । बढेर आएको मूल्यमा मूल्य अभिवृद्धि कर, ढुवानी र भन्सार शुल्क पनि जोडिन्छ । मूल्य समायाेजन गर्दा पेट्रोलमा चार रुपैयाँ, डिजलमा तीन रुपैयाँ र ग्यासमा दुई सय ३५ रुपैयाँ हुन पुग्यो । अहिले यो कार्यविधि लागू भएपछि निगमले पेट्रोलमा दुई दशमलव पाँच प्रतिशत, डिजलमा दुई प्रतिशत र ग्यासमा नाफा, घाटा बराबर हुने स्थिति आएको छ ।

यसभन्दा अघि हामीले ग्यासमा एक सय ३० रुपैयाँ घटाएका थियौँ । त्यस बेलामा पनि एक सय १० रुपैयाँ घटेर आएको थियो । र त्यसमा पर्ने मूल्य अभिवृद्धि कर, बीमा र भन्सारको प्रभावका कारण हामीले एक सय ३० रुपैयाँ घटाएका थियौँ । अहिले एक सय ८६ रुपैयाँ बढेर आउँदा कार्यविधिमा भएअनुसार नै मूल्य अभिवृद्धि कर, बीमा र भन्सारबापतको रकम जोड्दा दुई सय ३५ रुपैयाँ हुन पुगेको हो ।

निगमले बढी नाफा लियो भन्ने चर्चा हुने गरेकाे छ । तर अहिले पनि हामीले नेपाल सरकारले ऋणबापत उपलब्ध गराएकाे झन्डै साढे तीन अर्ब रुपैयाँ तिर्न बाँकी नै छ । मूल्य स्थिरीकरण कोषको झन्डै २२ अर्ब रुपैयाँ तिर्न बाँकी छ । यत्रो दायित्व हुँदाहुँदै पनि हामीले लागू गरेकाे स्वचालित मूल्य प्रणालीकाे लाभ उपभोक्ताले नै पाउने हो । मूल्य घटेर आउँदा भाउ घट्ने नै हो । जुन यसअघिको अभ्यासले देखाइसकेको छ । बढेर आउँदा पनि यस कारणले भाउ बढ्ने नै हो ।

हाम्रो देशमा पेट्राेलियम पदार्थ उत्पादन नहुने कारणले सबै आयात नै गरेर ल्याउनुपर्ने वस्तु भएको हुँदा आयात मूल्यभन्दा कम मूल्यमा बिक्री/वितरण गर्दा यसकाे असर देशलाई नै पर्न जान्छ । अहिले पनि सरकारको नीति विद्युतीय ऊर्जालाई प्रोत्साहन गर्ने भन्ने नै छ । ग्यासको साटो विद्युतीय ऊर्जाको प्रयोग गर्दा हाम्रो आन्तरिक विद्युत् खपत पनि बढ्ने र ग्यासको उपयोग पनि क्रमशः घटाउँदै लैजाने नीति पनि हामीले लिनुपर्ने हुन्छ ।

पछिल्लो दुई महिना डेढ अर्ब रुपैयाँ नाफा भनिएको छ, त्यो पैसा हामीले सरकारलाई नै तिर्ने हो । आयल निगम २०७८/७९ मा ४९ अर्ब रुपैयाँले घाटामा गएको संस्था हो । हाम्रो सञ्चित नोक्सानी अझै पनि बाँकी छ ।

स्वचालित मूल्य प्रणाली कार्यविधि सरकारद्वारा नै पास भएको हुँदा सरकारसँग समन्वय नभएको भन्न मिलेन । कार्यविधि पास भइसकेपछि कार्यविधि लागू गर्नुपर्ने हाम्रो पनि दायित्व हो । अब भाउ घट्छ कि घट्दैन भन्ने कुरा अब १५ दिनमा मूल्य के भएर आउँछ त्यसमा भर पर्छ । अन्तर्राष्ट्रिय बजारमा उत्पादन हुने कच्चा तेलको मूल्य र कच्चा पदार्थ प्रशोधन गर्न भारतले लगाउने शुल्क जोडेर आईओसीले हामीलाई १५/१५ दिनमा मूल्य पठाउने गर्छ, यसरी नेपालमा पेट्राेलियम पदार्थकाे मूल्य निर्धारण हुन्छ । उताबाट बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने गरेका छौँ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्राेलियम पदार्थकाे मूल्य के हुन्छ भन्ने कुरा सबैले खुलारूपमा नै हेर्न सक्ने कुरा हो । यस कारण अन्तर्राष्ट्रिय मूल्य र त्यसमा प्रशोधन गर्न लगाउने मूल्यपछि आईओसीले जुन मूल्य निर्धारण गर्छ, त्यसअनुसार नै मूल्य तोकिने हो । यस कारण अहिले नै मूल्य घट्छ वा घट्दैन भनेर भन्न सकिँदैन ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया