मध्यरातमा बालेन आगो हुनुको असली कारण

 भदौ १७, २०८० आइतबार १४:५७:३२ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डौलाई लेनमा हिँडाउन एकसुरले हिँडिरहेका मेयरको धुन मध्यरातमा एक्कासी बेसुर भयो । बेसुरमा निस्किएको धुन फेसबुक स्टाटसमा बज्यो । बेसुरको धुन बजाएर मेयर त सुते, तर उनी सुतेपछि मान्छेका मोबाइलमा नोटिफिकेसन टिङ्ग, घारघार र घुरघुर गर्न थाल्यो । मेयर निदाए, तर मोबाइल हेर्नेहरूको दिमागमा आगो सल्क्यो । प्रहरीको त निद्रा नै छुमन्तर भयो । सिंहदरबारमा आगो लाग्नु पहिले मोबाइल सल्किन थाले । फेसबुकमा लागेको आगो निभाउन कतिले फेसबुकमै पानी छ्यापे, कतिले आगो निभ्न नदिन घ्यु र चरु थपे । सबैको आँखा अघिल्तिर राँको देखिने गरी मेयर मध्यरातमा किन आगो भए त ? आफू पनि सरकार नै हो भन्ने बिर्सिएर सरकारलाई किन चोर भने त ? छोरीको बाबु भएको एक हप्तापछि मेयरसाब फेसबुकमा बेसुरजस्तो देखिनुको केही कारण यस्ता छन् :

  • नेताहरूका भाषण र छेडछाड मात्रै सुनेर मनोरञ्जन लिने नेपालीलाई हिजोआज धरानका मेयरको स्टाटस हेरेर आनन्द लिने बानी परेको छ । तर लामखुट्टेको लार्भा मार्ने बेलामा पनि ढुङ्गै बोक्ने र धरानमा आगो लाग्न खोज्दासमेत दमकल थन्काएर बिरुवा नै सार्न हिँड्ने उनको दिनचर्या र फेसबुके स्टाटसमा अब बिस्तारै स्वाद मर्न थालेको छ । छिनछिनमा आइरहने सुर न बेसुरका स्टाटसले दाँतमा ढुङ्गा पर्न थालेपछि हेर्ने र पढ्नेहरू बोर हुन थालेका छन् । यसरी धरानका मेयरको स्टाटसबाट बोर भएकाहरूलाई अर्को मनोरञ्जन थप्न काठमाण्डौका मेयर अघि सरेका हुन् । देशकै ठूलो र आकर्षणको केन्द्र मानिने महानगरका मेयरलाई राम्रोसँग थाहा छ, केन्द्रका नेताहरूले मात्रै नागरिकलाई मनोरञ्जन दिन सक्दैनन् । मनोरञ्जन दिन पालिकाका मेयरहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ, एक जना मेयरको प्रस्तुति खल्लो हुन थाल्यो भने अर्को मेयर अघि सर्नुपर्छ । धरानका मेयरको स्टाटस दिनमा मात्रै फुर्छ, तर काठमाण्डौमा मेयर दिउँसो काम गर्छन् र शुक्रवार वा शनिवार साँझ सुल्पा तान्न बस्छन् । सुल्पामा आगो भर्भर भएर धुँवाले जुँगा डढेपछि बल्ल मध्यरातमा स्टाटस फुर्छ । फुरेको स्टाटस पोस्ट गरेर मेयर सुत्छन् । उनी निदाउँछन्, उनका भोटर, समर्थक र विरोधी चाहिँ रातभर आगो ताप्न, निभाउन, पानी छम्किन केही चाहिँ घिउ र चरु थपेर आगोलाई अझै भर्भराउँदो बनाउँदै रात काट्छन् ।

 

  • अर्को महत्त्वपूर्ण कुरा काठमाण्डौका जुनसुकै ठाउँमा जुनसुकै बेला पनि आगलागी हुन सक्छ । बागदरबारमा पनि आगो लाग्न सक्छ, सिंहदरबारमा पनि आगो लाग्न सक्छ । उहिल्यै सिंहदरबारमा आगो लाग्दा त्यतिका संरचना ध्वस्त भए । त्यो बेला आगो निभाउने उपकरण पर्याप्त थिएनन्, आगो निभाउन गाह्रो भयो । तर अहिले आगो निभाउने उपकरण र प्रविधि पर्याप्त छन्, तर सिंहदरबारमा आगो लागेको छैन । सिंहदरबारमा आगो लाग्यो भने अहिलेका उपकरण र प्रविधिले निभाउन सक्छ कि सक्दैन भनेर हेर्न बाँकी छ । त्यसैले सिंहदरबारमा आगो निभाउने परीक्षण गर्नका लागि पनि मेयर मध्यरातमा आगो भएको हुन सक्छ ।

 

  • देशमा सङ्घीयता लागू भएपछि काठमाण्डौका शासकले शासन गर्ने ठाउँ मात्रै सिंहदरबार होइन । गाउँठाउँ र शहर बजारमा रहेका सबै पालिका सिंहदरबार हुन् । गाउँगाउँमा सिंहदरबार पुग्यो भनेर नेताहरूले त उहिल्यै भनेका पनि हुन् । भनेपछि सिंहदरबार जता पनि छ । पालिकाका जनप्रतिनिधिले काम गर्ने ठाउँ पनि सिंहदरबार हो, बास बस्ने ठाउँ पनि सिंहदरबार हो । बास बस्ने ठाउँ पनि सिंहदरबार भएपछि खाना पकाउने ठाउँलाई पनि सिंहदरबारकै एउटा कुनो भनेर बुझ्न सकिन्छ । अनि खाना बनाउन आगो बाल्नैपर्छ । आफ्नै भान्सामा खाना लगायतका परिकार बनाउनका लागि मेयरले सिंहदरबारमा आगो लगाउने कुरा गरेका हुन सक्छन् ।

 

  • सिंहदरबारमा आगो लगाउने कुरा गर्दै गर्दा मेयरले चोर सरकार पनि भनेका छन् । अरूभन्दा विकसित शहरमा रहेको सिंहदरबारको नेतृत्व गरेका मेयरलाई यो पनि थाहा छ कि सरकार भनेको सङ्घको मात्रै होइन पालिकाको पनि हो । प्रधानमन्त्री पनि सरकार हो, मुख्यमन्त्री र मन्त्री पनि सरकार हो, अनि मेयर र अरू जनप्रतिनिधि पनि सरकार हो । यसअघि काठमाण्डौलाई लेनमा हिँडाउने क्रममा असन्तुष्ट केहीले मेयरलाई चोर पनि भनेर नारा लगाएका थिए । सुरमा कहिलेकाहीँ बेसुर हुँदा मेयरलाई यसकै झल्को आएर स्टाटसमा पोखेका पनि हुन सक्छन् ।

 

  • अहिले सिंहदरबारमा सिंहझैँ बिराजमान भएकाहरू पहिले देशमा आगो झोसेरै त्यहाँ पुगेका हुन् । अहिले सिंहदरबारको सिंहासनमा बसेकाहरू पहिले पहिले सरकारी भवन बाल्थे, सडकमा टायर बालेर आगो ताप्थे । अहिले पनि सत्ताबाहिर रहेको बेला सत्ताको याद आउँदा कोही आगो नै बाल्न तम्सन्छन् । आगो नझोस्दासम्म, आगो नओकल्दासम्म सत्तामा पुग्न सकिँदैन भन्ने कुरा बालेनले उनीहरूबाट पनि सिकिसकेको हुनुपर्छ । देशमा आगो लगाउनेहरूको इतिहास पढेका र आगो झोस्दै हिँडेकाहरूले सिंहदरबार कब्जा गरेको देखेपछि मेयरलाई सिंहदरबारमै आगो झोस्न मन लाग्नु स्वाभाविक नै हो । 

 

  • अर्को महत्त्वपूर्ण कुरा फेसबुक स्टाटस लामो भयो भने धेरैले पढ्दैनन् । स्टाटसमा सिंहदरबारमा आगो लगाइदिन्छु मात्रै लेखिएको छ । तर भन्न खोजेको सिंहदरबारमा विकासको आगो, विचारको आगो, विविधताको आगो अनि विकृति, विभेद र विलासिताविरुद्धको आगो लगाउँछु भन्न खोजेको पनि त हुनसक्छ । यति कुरा त स्टाटस पढ्नेले पनि बुझ्नुपर्‍याे नि !

 

  • सबैभन्दा महत्त्वपूर्ण कुरा सिंहदरबारमा आजै आगो लगाउने कुरा छैन । भोलि भनिएको छ । स्टाटस पढ्नुहोस् त, ‘भोलिबाट महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ भनेर लेखिएको छ । आजै लगाइदिन्छु भनेको भए एउटा कुरा हुन्थ्यो, भोलि भनिएको छ । सबैलाई थाहा छ, त्यो भोलि कहिल्यै आउँदैन र भोलि नै नआउने भएपछि सिंहदरबारमा आगो लाग्ने कुरो पनि भएन !

अन्तिम अपडेट: बैशाख ९, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

8 Comments

  • Rabindra Bohara

    Sept. 4, 2023, 6:15 p.m.

    समय सामहिक विषयलाई अत्यान्त सुन्दर ढंगले प्रस्तुत गर्नु भएको छ । सामाजिक संजालमा यो समाचारलाई लिएर नानाथरी कमेन्ट आउन सक्छन् जसले जे भने पनि सुन्तलन मिलाएर लेख्नु भएको छ । अत्यान्त राम्रो छ । एक बौद्धिक पत्रकारीतको उदाहरण प्रस्तुत गर्नु भएको छ । खुसि लाग्यो सामाजिक संजालमा आएका कमेन्टलाई प्रवाह नगर्नु होला । जे लेख्नु भयो अति उत्तम छ मिलन तिमिल्सिना सर ।

  •  1 Reply
  • Mukesh Jairu

    Sept. 4, 2023, 9:30 a.m.

    Yo kuralai yeti gahan tarika le sochnu parne dekhinna.euta aabheg ma aayera gareko vanai ho.aabheg ma kasaile ramayan mahabharat gita sochera basdaina.kura ra kulo jata lagyo tetai janxa tara galti lai galti vanna jannu parx.hamro nepali samaj jaile pani nayak ko khojima hunx ra jun samaj le nayak khojxa tyo rogi samaj hunx.tesaile galti galti vanna sikiyo vane jimmewar bekti aafno dayara vitra basxan ki.

  •  0 Reply
  • Muna Poudel

    Sept. 4, 2023, 5:25 a.m.

    समय सान्दर्भिक ब्यङग गजब

  •  0 Reply
  • Sanjay Kumar Mukhiya

    Sept. 3, 2023, 7:16 p.m.

    बकवास खबर।

  •  0 Reply
  • Dinesh Shahi Sarki

    Sept. 3, 2023, 6:01 p.m.

    Writer's sarcasm is really admirable. It makes the sense. He is really good writer.

  •  0 Reply
  • bishnu pandey

    Sept. 3, 2023, 4:33 p.m.

    सान्दार परिभाषा संगै बुंदागत रुपमा लेखिएको यो पोस्ट पर्ती संबंधित मिडिया टिमलाइ धेरै धन्यवाद !

  •  0 Reply
  • Shusila Pandit

    Sept. 3, 2023, 4:05 p.m.

    तर हजुर को लेख मलाइ खासै मन परेन।

  •  0 Reply
  • दिवान बुढा क्षेत्री

    Sept. 3, 2023, 3:44 p.m.

    सेतोपाटी रातोपाटी कालोपाटी भन्दा त उज्यालो अनलाइन धेरै राम्रो लाग्छ आज सम्म कसैको आलोचना सलोचना गरेको छैन जेहोस् राम्रो लाग्छ उज्यालो अनलाइन म चाँही पहिले टुकटुके मोबाईल हुँदा रेडियो भेरी एफएम बाट। कायाकैरन नेपाल खबर नेपाल दर्पण निरन्तर नछुटाई सुन्थे My best media उज्यालो अनलाइन 💓😘🎉🙏❤️

  •  0 Reply

तपाईको प्रतिक्रिया