सुवास नेम्वाङ : ‘शालीन, मृदुभाषी, इमानदार र समन्वयकारी नेताको निधन’

 भदौ २६, २०८० मंगलबार २०:२३:३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । तत्कालीन संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको गए राति हृदयघातबाट ७१ वर्षकाे उमेरमा निधन भएको हो ।

नेम्वाङ गएको मङ्सिरमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा इलाम क्षेत्र नम्बर–२ बाट निर्वाचित हुनुभएको थियाे । २००९ साल फागुन २८ गते इलाममा जन्मनुभका नेम्वाङ इलामबाटै २०५६ सालदेखि पाँच पटक विजयी हुनुभएको थियो ।

२०६३ सालमा पहिलो पटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख हुनुहुन्थ्यो । पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

नेम्वाङकाे निधनपछि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा राखिएको छ । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमाले तथा विभिन्न पार्टीका नेता कार्यकर्ताको भिड छ । विभिन्न पार्टी तथा एमालेका नेताहरू पनि उहाँलाई कसरी सम्झन्छन् त ।

वाम लोकतान्त्रिक आन्दोलनमा अविष्मरणीय भूमिका : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

नेपालको समग्र वाम लोकतान्त्रिक आन्दोलनमा उहाँले खेल्नुभएको भूमिका अविष्मरणीय रहेको छ । नेपालीले उहाँको यो योगदानलाई पुस्तौँ पुस्तासम्म स्मरण गरिरहने छन् । यो आन्दोलन, परिवर्तनमा उहाँको योगदानलाई स्मरण गर्दै त्यसलाई रक्षा गर्नुपर्छ । ठूलो सङ्घर्ष गरेर उहाँहरूजस्ता व्यक्तित्वको नेतृत्वदायी भूमिकाका कारण हामीले आज पाएका छौँ भन्ने कुरालाई आत्मसात् गर्दै यसको रक्षा गर्नुपर्छ भन्ने कुरालाई सबैले ग्रहण गर्नुपर्छ । त्यतिमात्र होइन नेपालको लोकतान्त्रिक प्रक्रियामा विशेषतः संसदमा उहाँले सधैँ कुशलतापूर्वक भूमिका निर्वाह गर्नुभयो ।

आजको संसदीय लोकतन्त्र, संसदीय भूमिका कसरी निर्वाह गर्ने भन्नेबारेमा पनि उहाँबाट धेरै अनुकरण गर्न, शिक्षा लिन सक्ने कुराहरू छन् । उहाँ अत्यन्त सरल, मृदुभाषी, सबैसँग राम्रो व्यवहार गर्ने र समन्वयकारी नेता हुनुहुन्थ्यो । त्यो पनि नेपालको राजनीतिमा धेरै महत्त्वपूर्ण छ । आज त्यो खट्किँदै गएको छ । उहाँको निधनबाट वास्तवमा नेपालको वाम लोकतान्त्रिक आन्दोलनले, नेपालको संसदीय अभ्यासले ठूलो क्षति खपेको छ । हामी सबै शोकमा छौँ । नेपालको लोकतान्त्रिक प्रक्रियामा सुवास नेम्वाङलाई सबैले आदरका साथ शिर निहुराएर स्मरण गरिरहने छन् ।

कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)

नेपालको राजनीतिक आन्दोलनमा निकै ठूलो योगदान गर्ने, कम्युनिस्ट आन्दोलनको एउटा पाको नेता एवम् नेपालकै एक संरक्षकजस्तो हुनुहुन्थ्याे कमरेड सुवास नेम्वाङ । उहाँको निधनले नेपालकाे राजनीतिलाई, नेपालको कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति भएको हामीले महसुस गरेका छौँ । हामी उहाँलाई गहिरो श्रद्धाञ्जली अर्पण गर्छाैँ । उहाँबाट हामीले लिने शिक्षा भनेकै देशको सेवा, नागरिककाे सेवा गर्नुपर्छ भन्ने हो । उहाँबाट हामीले लिने प्रेरणा भनेको त्यही नै हो ।

नेपालको राजनीतिलाई सकारात्मक दिशा दिने, कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, वामपन्थीहरूलाई एकीकृत गर्ने र देशमा समृद्धि ल्याउने कुरामा उहाँको जुन सोचाइ हामी देख्थ्यौँ त्यसमा हाम्रो लामो छलफल पनि भएको थियो । उहाँको त्यो विचारलाई हामीले आत्मसात् गर्नुपर्छ ।

सादा जीवन, स्वच्छ छविको पक्षपाति : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

उहाँ समस्या बल्झाउन होइन समाधान गर्न सधैँभरी लागिपर्नु भयो । लोकतान्त्रिक आन्दोलन र कम्युनिस्ट आन्दोलनमा उहाँको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ । उहाँ शुरुदेखि नै प्रगतिशील आन्दोलनमा, वामपन्थी आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो । र त्यही ध्येय र उद्देश्यका लागि उहाँले आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभयो ।

उहाँले अप्ठ्यारा, जटिलताहरूलाई कुशलतापूर्वक पार गर्ने कुरामा अगुवाइ गर्नुभयो । उहाँको योगदानलाई इतिहासले सधैँभरी स्मरण गरिरहनेछ । नयाँ पुस्ताले उहाँबाट प्रेरणा प्राप्त गर्दै अगाडि बढ्नेछ । उहाँ सादा जीवनको पनि पक्षपाति, स्वच्छ छविको पनि पक्षपाति र देशमा सुशासन स्थापित होस् भन्ने चाहनाको पनि पक्षपाति हुनुहुन्थ्यो । त्यसो हुनाले संविधान निर्माण गर्ने मात्र होइन त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरामा पनि उहाँको अत्यन्तै धेरै हुटहुटी र जोड रहने गरेको थियाे ।

अहिले देशमा जस्तो किसिमको राजनीतिक वातावरण छ त्यसलाई बदलिनु पर्दछ, एउटा सहमतिको र समझदारीको वातावरण निर्माण गर्नुपर्दछ भन्ने कुराको उहाँ हिमायती पनि हो । त्यस कारण उहाँको यो निधन सिङ्गो लोकतान्त्रिक आन्दोलनको निम्ति, कम्युनिस्ट आन्दोलनको निम्ति, परिवर्तनको आन्दोलनको निम्ति ठूलो क्षति हो ।

हरेक अप्ठेरोमा हामी सबैले खोजिरहन्छौँ : कांग्रेस नेता मिनेन्द्र रिजाल

तीन दिन अगाडि मात्र उहाँसँग भेट भएको थियो । उहाँ धरान जाँदै हुनुहुन्थ्यो, म बैतडी जाँदै थिएँ । सुवासजी आउन अलि ढिलो भएपछि साथीहरूले उहाँ सिधै गाडीबाट उतै जानुहुन्छ भन्नुभयो । उहाँ र म छिमेकी हाैँ । मसँग भेट हुन्छ भनेर बाहिरबाट गएको हो कि के हो भनेर जिस्क्याएँ पनि । त्यसपछि उहाँ भित्र पस्नुभयो । अनि मैले सङ्क्रमणकालीन न्यायको बारेमा के हुँदैछ भनेर सोधेँ । नेताहरू कुरा गर्दै हुनुहुन्छ भन्नुभयो । पछि उहाँले भेटेर कुरा गरौँ भन्नुभयो । तर म फर्केको छैन, डडेलधुरामा छु भनेँ । फर्किएपछि 'हलो' गर्नुस् न भन्नुभयो । म आज फर्किएँ तर सुवासजी गइसक्नुभएको छ ।

नेपाली राजनीति अहिले असहज ठाउँमा छ । हामी सत्तामा वा विपक्षमा होलाउँ तर अहिलेको अवस्था असाध्यै असहज छ । यस्तो असहजताका बीचमा धेरै अप्ठेरो पर्दा पनि, असाध्यै तिक्त भावमा छुटिने बेलामा पनि समकालीन राजनीतिमा मुसुक्क हाँसेर के गर्ने, अब कसरी अगाडि जाने भन्नुहुन्थ्यो ।

गएको तीन/चार वर्षदेखि नेकपाकै सरकार थियो । तर पनि राजनीति असहज बन्दै गएको थियो । सुवासजी र म छिमेकमा भएको हुनाले भेट्ने कुरा गर्ने गर्थ्याैँ । त्यो असहजता झन् झन् चुलिएको छ । सुवासजीको अभाव झन् झन् खट्किने छ । अप्ठेरो भन्दा अप्ठेरो बेलामा, तिक्तभन्दा तिक्त बेलामा सबै नेतासँग मुसुक्क हाँसेर एउटा बाटो निकालौँ भन्न सक्ने मान्छे अर्को सायदै होला । हरेक अप्ठेरोमा हामी सबैले खोजिरहन्छौँ सुवासजीलाई ।

पार्टीभित्र जहिले पनि मृदुभाषी, सन्तुलनकारी भूमिकामा : एमाले महासचिव ईश्वर पोखरेल

मृत्यु अनिवार्य कुरा हो । मृत्यु कहिले कसलाई छाप ठोकेर जान्छ, कहिले कसलाई छाप ठोकेर जान्छ । मृत्यु एउटा डरलाग्दो भवितव्य हो । यो आई नै रहन्छ । सुवास नेम्वाङ अहिले त्यसैको सिकार हुनुभएको हो ।

उहाँका दुई वटा असल कुराहरू– एउटा नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले जुन किसिमको योगदान पुर्‍याउनु भयो, प्रगतिशील परिवर्तन गराउने कुरामा जुन किसिमले भूमिका खेल्नुभयो त्यो भूमिका अविष्मरणीय छ । ऐतिहासिक छ । त्यो भूमिकालाई हामी बाँचेकाले कहिले पनि बिर्सने छैनौँ । त्यो भूमिकालाई थप प्रभावकारी बनाएर अगाडि लैजान चाहन्छौँ ।

आज सुवास नेम्वाङजी हुनुहुन्न तर यदि उहाँ संविधानसभाको अध्यक्ष हुनुहुन्नथ्यो भने संविधानसभाबाट संविधान जारी गर्न धेरै चुनौती आइपर्थ्याे । उहाँले बाहिर–भित्रका अनेक प्रतिकूलतासँग जुधेर भए पनि संविधान जारी गर्ने कुरामा नेतृत्वदायी भूमिका खेल्नुभयो । त्यो कुरालाई कहिल्यै पनि बिर्सन सकिँदैन ।

सार्वभौम नेपालीका प्रतिनिधिहरूले निर्वाचित गरेको संविधानसभाबाट संविधान जारी गर्ने कुरा अत्यन्त ऐतिहासिक महत्त्वको थियो । अर्को भनेको उहाँ पार्टीभित्र जहिले पनि मृदुभाषी, सन्तुलनकारी भूमिकामा उहाँ रहनुभयो । त्यो भूमिकामा पनि उहाँलाई हामी कहिले पनि बिर्सन सक्दैनौँ ।

जुन कुरा भन्याे त्यो संयमतापूर्वक लागू गर्ने : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सीपी गजुरेल

उहाँमा जुन कुरा भन्याे त्याे संयमतापूर्वक लागू गर्ने क्षमता देखियो । त्यो प्रशंसनीय छ । मान्छे धेरैले मुखले आदर्शको कुरा गर्छन् तर उहाँको त्यो दोहोराे चाल देखिएन । उहाँले जे कुरा भन्नुभयो, सहमतिको राजनीतिको पक्षमा जो उभ्याउनुभयो त्यसलाई उहाँले अभ्यासमा पनि त्यसरी नै लैजानुभयो । त्यसका निम्ति उहाँलाई नेपाली समाजले लामो समयसम्म सम्झिरहने छ ।

अहिलेका युवाहरूले पनि त्यो सिक्नुपर्छ उहाँबाट । राजनीति भनेको धैर्यपूर्वक गर्ने हो । राजनीति भनेको चित्त बुझाएर, नागरिककाे सहानुभूतिलाई जितेर गर्ने कुरा हो । तर यहाँ मान्छेहरू तिकडमबाट राजनीति गर्ने, जसरी भए पनि बहुमत गरेर सरकारमा कसरी जान सकिन्छ भनेर छलछाम गर्ने प्रवृत्ति छ । यी सबैले उहाँबाट सिक्ने कुरा भनेको यही हो ।

असाध्यै समन्वयकारी र समाधान खोज्न सक्ने व्यक्तित्व : पूर्वसभामुख अग्नि सापकोटा

कमरेड सुवास नेम्वाङको निधनले हामीलाई स्तब्ध नै बनाएको छ । तर फेरि पनि उहाँबाट शिक्षा लिएर अगाडि बढ्नुको विकल्प छैन । उहाँलाई असाध्यै समन्वयकारी र समाधान खोज्न सक्ने व्यक्तित्वको रूपमा स्मरण गर्छु । उहाँले दुई/दुई पटक संविधानसभा अध्यक्षको हैसियतले नेतृत्व गर्नुभयो । उहाँले संविधान जारी गर्ने नेतृत्व गर्नुभयो, पहलकदमी लिनुभयो । उहाँले सभामुख हुँदा असाध्यै राम्रोसँग प्रतिनिधिसभा चलाउनुभयो । उहाँको प्रतिनिधिसभा सञ्चालनको जिम्मेवारी पनि सदा अविस्मरणीय छ ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने उहाँको ध्येय र उद्देश्य थियो । त्यो उद्देश्य पूरा नगरिकन उहाँ जानुभयो । उहाँले निकै समन्वयकारी भूमिका खेल्नुभएको थियो । उहाँ परिपक्व र योग्य कानुनवेता हुनुहुन्थ्यो, योग्य राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँको सामाजिक भूमिका पनि असाध्यै राम्रो थियो । यस अर्थमा उहाँको भूमिका बहुआयामिक थियो ।

म सभामुख हुँदा उहाँसँग दिनदिनै जसो छलफल गर्थेँ । त्यो छलफलबाट उहाँले रचनात्मक खालको, सृजनात्मक खालको तथा परिपक्व खालको सल्लाह दिनुहुन्थ्यो । यस अर्थमा एउटा सच्चा मित्र, देशको संवैधानिक कानुनको ज्ञाता, विधिवेत्ता र एउटा असल राजनीतिज्ञ गुमाएको अनुभव भएको छ ।

मिलनसार व्यक्तित्वका रूपमा उहाँ राष्ट्रिय पुँजी : वामपन्थी राजनीतिज्ञ राधाकृष्ण मैनाली

उहाँ कटु भाषा नै प्रयोग नगर्ने, मृदुभाषाकै माध्यमबाट आफूलाई उभ्याउन चाहने व्यक्तित्व हुनुहुन्थ्यो । शायद विद्यार्थीकालदेखि नै र अन्तिम अवस्थासम्म पनि यो स्वभावलाई कहिल्यै छोड्नुभएन । हँसिलो चेहरालाई कहिल्यै पनि दुःखित बनाउनुभएन ।

उहाँको हाँसेर कुरा गर्ने बानी अहिले पनि म झलझली सम्झिरहेछु । यो हँसमुखपन र मिलनसारपनले नै राजनीतिमा उहाँले यो उचाइ प्राप्त गर्नुभयो । त्यो उचाइलाई कायम गरेरै उहाँ बिदाइ हुनुभयो । म उहाँलाई अहिले पनि मिलनसार व्यक्तित्वको रूपमा सम्झन चाहन्छु ।

एमालेमा पनि उहाँको अनुपस्थिति नराम्रोसँग खट्किन्छ । त्यति मिलनसार व्यक्तित्व एमालेमा पनि कम छन् । त्यति विवादविहीन मान्छे पनि कम छन् । केही केही अडानका सम्बन्धमा केही विवाद आए पनि उहाँ विवादविहीन मान्छे हो । जनजातिबाट यति माथि उचाइमा आउन उहाँले आफ्नै जुन पौरख खर्चिनुभयो यस अर्थमा उहाँ सम्झनलायक मान्छे हो । मिलनसार व्यक्तित्वकाे रूपमा उहाँ राष्ट्रिय पुँजीको रूपमा हुनुहुन्थ्यो । उहाँकाे निधन राष्ट्रका लागि ठूलो क्षति हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया