‘स्वदेशमै पनि पढाइ र कमाइ कम छैन’

 भदौ २८, २०८० बिहिबार १२:१६:१५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

धनगढी उपमहानगरपालिकाका अशोक रोकाया अहिले काठमाण्डौको टेक्सस कलेजमा ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी पढिरहनु भएको छ । उहाँ पढ्दै इभेन्ट म्यानजमेन्टको काम पनि गर्नुहुन्छ । सरकारी जागिरे बाबुआमाका सन्तान रोकायाले १२ कक्षा पास गरेदेखि नै काम गर्न थाल्नुभएको हो । 

अहिले देशमा काम गर्न तथा पढ्न विदेश जानेको लर्कन लागेको देख्न सकिन्छ । त्रिभुवन विमानस्थलमा गएर एकैछिन उभिने हो भने त्यहाँको दृष्य हेर्दा लाग्छ देशमा कोही बस्नै चाहँदैन । अझ त्यसमा अध्ययन गर्न जाने भर्खरका युवा देख्दा यहाँ कसैलाई रोक्नै सकिँदैन कि भन्ने लाग्छ । 

तर, रोकाया भने यो प्रवृत्तिबाट आफूलाई अलग राखेर यहीँ पढ्दै तथा काम पनि गर्दै हुनुहुन्छ । उहाँ विदेश जान नसक्ने भएर पढ्न नजानु भएको होइन । उहाँ यहाँ काम र अवसर दुवै राम्रै भएकोले विदेश नजानु भएको हो । 

उहाँ भन्नुहुन्छ, ‘विदेश जान नसक्ने अनि विदेश गएर पढ्न नसक्ने भएर यहाँ पढेको होइन । यहाँ पनि पढाइ राम्रो छ । पढ्न पनि सकिन्छ । काम पनि गर्न सकिन्छ । यहीँ देशमै बसेर केही गर्नुपर्छ भनेर यहीँ बसेर पढेर काम गर्दैछु ।’

देशमै अहिले विदेशकै स्तरको राम्रो पढाइ हुने कलेजहरु छन् । गर्नेहरुलाई पनि यही अवसर छ बरु त्यसलाई खोज्न भने जान्नुपर्छ र सक्नुपर्छ । अवसर छ भन्दैमा त्यसै अगाडि आउने होइन त्यसको लागि आफूले पनि प्रयास गर्नुपर्ने बताउनुहुन्छ रोकाया । 

उहाँ आफू मात्र काम गर्ने नभएर अरु चार/पाँच जनालाई रोजगारी पनि दिनुभएको छ । यी सबैको पछाडि यहीँ बसेर केही गर्नुपर्छ र यहाँ अवसर प्रशस्त छ भन्ने एउटा बलियो धारणाले काम गरेको उहाँको अनुभव छ ।

उहाँ भन्नुहुन्छ, ‘म आफू पनि काम गर्छु र अरुलाई पनि कम दिएको छु । तर, पैसा भएर मैले यो सबै गरेको होइन । यहाँ अवसर छ । यहीँ गनुपर्छ भन्ने एउटा आत्मविश्वासका कारण देशमै केही गरिरहेको छु ।’

कञ्चनपुरको भीमदत्त नगरपालिकाका चक्रदेव भट्ट पनि देशभित्रै बसेर पढ्दै हुनुहुन्छ । रत्नराज्य कलेजमा अर्थशास्त्रमा स्नातक पढ्दै गर्नुभएका भट्ट आईएलटीएस गरेर अमेरिका जाने तयारीमा हुनुहुन्थ्यो ।

उहाँलाई कलेजले झण्डै १८ लाख रुपैयाँ बराबरको छात्रवृत्ति पनि दिएको थियो । यति हुँदाहुँदै पनि उहाँलाई अमेरिका जान थप २० लाख रुपैयाँ लाग्ने भयो । अब उहाँलाई लाग्यो यो २० लाख रुपैयाँले त यहाँ नै केही गर्न सकिन्छ । शेयर बजार तथा अर्थसम्बन्धी अरु कुरामा रुचि भएका कारण बरु विदेश जाने पैसा यतै लगानी गर्छु भन्ने विचार गर्नुभयो र विदेश जाने सोच बदल्नुभयो । 

‘नेपालमा पनि प्रशस्त अवसर छन् । देशको अर्थतन्त्र बुझ्ने र त्यसैअनुसार काम गर्ने मान्छे नभएर मैले अर्थशास्त्रको अध्ययन गर्न थालेको हो,’ उहाँ भन्नुहुन्छ, ‘कुनै पनि कुराको योजना बनाउने, त्यसमा लगानी गर्ने र त्यसबाट कसरी कमाउन सकिन्छ भन्ने अध्ययन अर्थशास्त्रमा नै हुने कारणले पनि विदेश जान छोडेर यतै अध्ययनमा लागेको हो ।’

स्वदेशमै पढाइ र अवसर दुवै छ भन्ने कुराको अर्को उदाहरण हुनुहुन्छ काभ्रेको मण्डनदेउपुर नगरपालिकाका रोमन नेपाल । उहाँ प्रेसिडेन्सियल बिजनेस स्कुलमा सूचनाप्रविधि विषय पढिरहनु भएको छ । 

उहाँका थुप्रै साथीहरु १२ कक्षा पास गरेर विदेश गए । उहाँलाई घर परिवार तथा साथीभाइबाट पनि विदेश जानुपर्छ भन्ने दबाब नआएको होइन । तर, उहाँले भने यहीँ बसेर केही गर्ने भन्ने सोच्नुभयो । र, सूचनाप्रविधिको क्षेत्रमा अवसर पनि धेरै भएकोले त्यतातिर अध्ययन गर्दै अहिले काम पनि गर्दै हुनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘मलाई पनि विदेश जान धेरै दबाब नआएको होइन । तर, सबै बाहिर गए भने यहाँ कस्ले काम गर्छ भनेर गइएन । र सूचना प्रविधिको क्षेत्रमा अवसर छ भन्ने लागेर यहीँ अध्ययन थालेँ । अहिले यहीँ पढ्दै राम्रो कमाउँदै पनि छु ।’ 

यी यस्ता केही उदाहरण हुन् जस्ले नेपालमै पनि राम्रो पढाइ अनि कमाउने अवसर छ भन्ने प्रमाणित गरिरहनु भएको छ । देशभित्रको शैक्षिक वातावरणलाई थप विश्वसनीय बनाउन सक्ने हो भने गुणस्तरीय शिक्षा र अवसर खोज्दै विदेशिनु पर्दैन भन्नुहुन्छ शिक्षाविद् डाक्टर सुसन आचार्य । 

नेपालमै पनि मेडिकल, इञ्जिनियरिङ, मानविकी, आईटी, व्यवस्थापन, नर्सिङ, टुरिज्म, लिबरल आर्टस् लगायतका विषयमा नेपालमै उच्च गुणस्तरको पढाइ हुने गर्छ । यहाँका उत्पादन पनि विदेशमा राम्रै ढङ्गले बिकिरहेका छन् । त्यसकारण यहाँको पढाइको स्तर तथा उत्पादन कमजोर छ भन्ने मानसिकता त्याग्नुपर्ने आचार्यको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘यहाँको पढाइको गुणस्तर नभएको होइन । अवसर नभएको पनि होइन । तर अवसर सीमित भएका कारण विद्यार्थी सुरक्षित भविष्य खोज्दै बाहिर गइरहेका छन् । अवसर बढाउने हो र विद्यार्थीलाई यो कुरा बुझाउने हो भने केही हदसम्म विद्यार्थी रोक्न सकिन्छ ।’

अन्तिम अपडेट: बैशाख १४, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया