‘अबको समय बिजुली गाडीकै हो’

 भदौ २९, २०८० शुक्रबार १०:१२:१० | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै - जेसिस इन्टरनेशनल कलेजका सञ्चालक रमेशचन्द्र प्रधान बीवाईडीको बिजुली गाडी ई ६ चढ्नुहुन्छ । उहाँले बीवाईडीको ई ६ चढ्न थालेको दुई वर्ष भयो । उहाँसँग पेट्रोल र डिजल गाडी चढेको अनुभव छ ।

पेट्रोल र डिजलबाट चल्ने गाडी चढ्दा सर्भिसिङ, मोबिल, पेट्रोल/डिजलको पैसा, बेलाबेलामा इन्धन नपाएर लाइन बस्नु परेको हैरानी भनिसाध्य छैन । तर, बिजुली गाडी चढ्न थालेपछि उहाँ यो सबै झन्झटबाट एकप्रकारले मुक्त नै हुनुभएको छ । 

उहाँ भन्नुहुन्छ, ‘मैले बीवाईडीको ई ६ चढ्न थालेको दुई वर्ष भयो । खर्च लगभग शून्य नै हो । गाडीको किस्ता त बेग्लै कुरा भयो ।’

बिजुली गाडीमा तेल चाहिने कुरै भएन । इञ्जिन नहुने हुनाले मोबिल पनि चाहिएन । ब्रेक आयल अनि वाइपरको लागि पानीबाहेक अरु केही नचाहिने प्रधानको अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘यसमा तेल पनि लाग्दैन । मोबिल पनि लाग्दैन । कर पनि छुट छ त्यसैले इजी ।’

उहाँको गाडी दुई वर्षमा झण्डै २०/२२ हजार किलोमिटर गुड्यो । यसबीचमा उहाँले चार पटक सर्भिसिङ गर्नुभयो । झण्डै पाँच हजार किलोमिटरमा गाडी सर्भिसिङ गर्नुहुन्छ । ‘सर्भिसिङमा पनि खासै खर्च छैन । न गियर छ न क्लच छ त्यसकारण सर्भिसिङको खासै कुरै आउँदैन । यसो कुनै सामान टुटफुट भयो भने पैसा खर्च हुने हो,’ प्रधान भन्नुहुन्छ ।

प्रधानले ४६ लाख मूल्यको यो गाडी २० प्रतिशत डाउनपेमेन्ट तिरेर लिनुभएको हो । उहाँको यसमा मासिक किस्ता तिर्ने बाहेक अरु खर्च छैन । यसकारण पनि प्रधान जस्ता धेरैको रुचि अहिले बिजुली गाडीमा बढेको छ । यसको उदाहरण गएको मङ्गलवार २६ गतेदेखि काठमाण्डौमा शुरु भएको नाडा अटो शो मा बिजुली गाडीमा मान्छे झुम्मिएबाटै थाहा हुन्छ । हुनत नाडा अटो शो मा पेट्रोल तथा डिजल गाडीहरु पनि राखिएका छन् । तर, धेरैको आकर्षण भने बिजुली गाडी र बिजुली स्कुटर तथा साइकलमा देखिन्छ ।

प्रधान आफैँ पनि कलेजका लागि अरु दुई वटा भ्यान र आफूलाई चढ्न अर्को एउटा सानो बिजुली गाडी लिने सोचमा नाडा अटो शो मा आउनु भएको हो । उहाँले एउटा सानो १८ लाख मूल्यको गाडी ट्रायल पनि गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘आफ्नो देशमा उत्पादन हुने बिजुलीले गाडी चलाउँदै नागरिक र देश दुवैलाई फाइदा छ । हामीले त अझ भारतलाई बिजुली बेच्नुभन्दा पनि ठूलाठूला बस, ट्रक र रेल चलाउने हो भने हामीले ठूलो पुँजी देशमा नै राख्न सक्छौँ ।’

उहाँको कुरा अझ रोचक छ । पहिले पहिले खल्तीमा पैसा नभए गाडी नै चढ्न पाइँदैन थियो । तर, अब त्यो पनि चाहिएन । कारण खुलाउँदै प्रधान भन्नुहुन्छ, ‘पहिले पहिले गोजीमा पैसा नभए तेल हाल्न नपाएर गाडी नै चढ्न पाइँदैन थियो । अब त तीन/चार महिनामा तिर्दा पनि खासै परेन । गोजीको पैसा पनि बच्ने । देशको पैसा पनि बच्ने हुनाले विद्युतीय गाडी नै चढ्नुपर्छ ।’

आउँदो ३१ गतेसम्म चल्ने अटो शो मा ४५ वटा ब्रान्डले आफ्ना उत्पादनहरु प्रदर्शनीमा राखेका छन् । जसमा चार पाङ्ग्रेका १६ वटा, दुई पाङ्ग्रेका २२ वटा र सात वटा लाइट कमर्सियल भेहिकल छन् । १८ लाखदेखि १ करोड ९ लाख रुपैयाँ पर्ने बिजुली गाडी, १ लाख ७५ हजार देखि ४ लाख रुपैयाँसम्म पर्ने बाइक तथा स्कुटर अनि ५५ हजारदेखि १ लाख ४० हजार रुपैयाँ पर्ने साइकल राखिएको छ । 

नाडा अटो शो मा विशेषगरी टाटा, हुण्डाई तथा ग्रेटवाल मोटर्सका बिजुली गाडी तथा थोरै मूल्यका साना र हेर्दै चिटिक्क देखिने वुलिङलगायतका साना बिजुली गाडीमा भिडभाड देखिन्छ । यिनै बिजुली गाडीका स्टलहरुमा चाहार्दै र त्यसको मूल्य तथा विशेषता सोध्दै हुनुहुन्छ काठमाण्डौ चन्द्रागिरि नगरपालिकाका देवेन्द्र प्रधान । 

चार वर्षअघिदेखि चिनियाँ बिजुली गाडी डाही चढिरहनु भएका प्रधान अहिले के कस्ता मूल्य र विशषताका बिजुली गाडी आएछन् भनेर हेर्न आउनु भएको हो । उहाँ मिलेसम्म अहिले आफूले चढेको गाडी एक्सचेञ्ज गरेर अर्को नयाँ बिजुली गाडी लिने सुरमा हुनुहुन्छ । उहाँ आफू चन्द्रागिरि नगरपालिकामा पहिलो बिजुली गाडी चढ्ने र यसको प्रवर्द्धन गर्ने व्यक्ति भएको बताउनुहुन्छ । 

बिजुली गाडीको रिसेल भ्यालु अर्थात् पुनः बिक्रीको मूल्य त्यति राम्रो नभएका कारण पनि मानिसहरु अहिले आकर्षित भए पनि किन्न हिच्किचाइरहेको उहाँको विचार छ । अर्को भनेको फास्ट चार्जिङ स्टेशन नहुनु र मर्मतका लागि पर्याप्त विज्ञहरु नहुँदा कतै केही भइहाल्यो भने समस्या हुन्छ । त्यस्तै मर्मतका लागि सम्बन्धित कम्पनीमा नै लैजानुपर्ने यस्को अर्को अप्ठ्यारो पक्ष छ । ‘अन्यथा अबको भविष्य भनेको ईभी गाडी नै हो,’ प्रधान भन्नुहुन्छ ।

चार वर्षदेखि बिजुली गाडी चढेको हुनाले यसमा के-के समस्या आउँछन् भन्ने पनि उहाँलाई राम्रो थाहा छ । सानो एउटा लक भाँचिदा पनि शोरुममा जानुपर्ने, स्पेयर टायर नहुने र चार्जिङ स्टेशन नभएका कारण समयमा चार्ज गर्न नसकिने यसका दुःख हुन् । अर्को भनेको कम्पनीले भनेको माइलेजभन्दा २०/३० प्रतिशत कम माइलेज दिन सक्ने कारण त्यो भन्दा कममा नै चार्ज गर्नु राम्रो हुने उहाँको सुझाव छ । 

त्यस्तै, उहाँले भोगेको अर्को दुःख भनेको मोबाइलको जस्तो चार्जर भए पनि लामो दूरीमा यात्रा गर्दा कतै बीचमा चिया खाँदा चार्ज गरिहालौँ न त भन्दा त्यो पसलको बत्ती सबै जाने हुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिले फास्ट चार्जिङसहितका चार्जिङ स्टेशन नहुँदा एम्पिएर धेरै खाने हुँदा कतै पसलमा चार्ज गर्न खोज्दा बत्ती सबै जाने हुन्छ । यो चलाएर अनुभव गरिसकेकालाई मात्र थाहा हुन्छ ।’

उहाँले बिजुली गाडीको सुख, दुःख सबै भोग्नु भएको छ । उकालोमा नतान्ने तथा फस्ने भन्ने गुनासो बिजुली गाडीका सन्दर्भमा धेरै सुनिने भए पनि त्यो प्रधानको अनुभवमा भने सत्य होइन । उहाँ भन्नुहुन्छ, ‘धेरै मान्छेले उकालोमा तान्दैन भन्ने सुनेँ तर, मेरो अनुभवमा त्यस्तो रहेन । बरु गाडीको एउटा चक्का फस्दा पनि सजिलै तानेको छ ।’

कम्पनीले १ सय ८० किलोमिटर फूलचार्ज दिने भने पनि त्यसको ७० प्रतिशत मात्र दिने पनि उहाँको अनुभव छ । र, त्यो भन्दा कम चलाउनु नै उपयुक्त हुने पनि उहाँको सुझाव छ । एक पटकको फुलचार्जका लागि तीन युनिट बिजुली लाग्ने त्यसले झण्डै १ सय २० किलोमिटर दिने उहाँको अनुभव छ । यस हिसाबले झण्डै ४५/५० रुपैयाँमा १ सय २० किलोमिटर चलेको उहाँको अनुभव छ । यसरी हिसाब गर्दा झण्डै एक किलोमिटरको दुई रुपैयाँ पर्न आयो । पेट्रोलमा गाडीमा अहिलेको पेट्रोलको हिसाब गर्दा एक किलोमिटरको झण्डै २० रुपैयाँ पर्न आउँछ ।

उहाँले पनि ब्याट्रीमा समस्या आउने भन्ने कुरो भने सुन्नु भएको हो । तर, उहाँले त्यस्तो अनुभव गर्नु भएको छैन । त्यसकारण उहाँ भन्नुहुन्छ, ‘बनाउन शोरुम नै जानुपर्ने, सानो लक भाँचिए पनि शोरुम जानुपर्ने, एउटा नटको पनि पाँचसय तिनुपर्ने, फास्ट चार्जिङ स्टेशन नहुनु यसका केही समस्या हुन् । अन्यथा अबको समय भनेको ईभी नै हो ।’

महँगो पेट्रोल हाल्नुनपर्ने, पेट्रोलको लागि जसरी पनि पैसा जुटाउनु नपर्ने, सर्भिसिङमा खासै खर्च नहुने, प्रदूषण कम हुने, हेर्दा चटक्क र आकर्षक भएका कारण पनि धेरैको रोजाइमा अहिले बिजुली गाडी पर्ने गरेको छ । तर, चार्जिङ स्टेशनको अभाव, रिसेल भ्याल्यु नहुनु, ब्याट्रीको आयु कति के र फेर्नुपर्दा के भन्ने केही अन्याेल भने यसमा अझै कायम छ । तर, पनि धेरै कुराले बिजुली गाडीको विशेषता नै धेरै देखिन्छ । यस अर्थमा पनि धेरै मान्छेको रोजाइमा बिजुली गाडी पर्ने गरेको छ । 

नाडा अटो शोमा टाटा नेक्सन बिजुली गाडी हेरिरहनु भएका दीपक रौनियार यसअघि पेट्रोल गाडी चढे पनि अब भने बिजुली गाडी नै चढ्ने बताउनुहुन्छ । महँगो पेट्रोल, दैनिक पेट्रोल पम्प जानुपर्ने समस्या, वातावरण प्रदूषण अनि आफ्नो कमाइ विदेश जाने जस्ता विभिन्न कारणले पनि अब बिजुली गाडी नै चढ्ने बताउनुहुन्छ । 

‘सबैभन्दा मुख्य कुरा भनेको यो महँगो पेट्रोल हालेर अब गाडी चढ्न सकिन्न । अर्को भनेको यसको सर्भिसिङमा पनि खासै पैसा छैन,’ उहाँ भन्नुहुन्छ, ‘प्राधिकरणले अलि मिलाएर राति चार्ज गर्दा अलि छुट दियो भने त घरमै पनि राम्रैसँग चार्ज गर्न सकिन्छ । यसका धेरै विशेषता छन् । यसकारण पनि अबको समय भनेको बिजुली गाडीको नै हो ।’ 

अन्तिम अपडेट: बैशाख १५, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया