मिथिलाञ्चलमा ऐतिहासिक नाच लोप हुन थालेपछि स्थानीय कलाकारहरु विदेश पलायन हुँदै

 असोज ६, २०८० शनिबार १८:३२:१७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – मिथिलाञ्चलको इतिहास, संस्कृति तथा लोकगाथासँग जोडिएका ऐतिहासिक तथा प्राचीन लोकनाच दिन प्रतिदिन लोप हुन थालेपछि यहाँका कलाकारहरु पनि विदेश पलायन हुन थालेका छन् । सातौँ तथा आठौँ शताब्दीदेखि प्रचलनमा रहेका मिथिला क्षेत्रको ऐतिहासिक तथा प्राचीन लोकनाचहरु राजा सहलेस, शितवसन्त, रुनाझुना, जङगली बादशाह, गोपीचन्द कुँवर वृजभान, सुन्दर वनको सुन्दर फूल, अल्लाह रुदल, गुगलीघाट, सामाचकेवा, कमलामैया, जयविसहरा, दुलहा दयालसिंहजस्ता नाचहरु लोप हुन थालेका हुन् ।

गएको चार दशकदेखि यस्तो नाच देखाउँदै आएका सप्तरीको साविक बरही बिरपुर हाल छिन्नमस्ता गाउपालिका वडा नम्बर १ का कलाकार बौयन राय भन्नुहुन्छ ‘उहिले नाचको राम्रो माग भएकाले २० जना कलाकारलाई भेला गरी एउटा नाच कम्पनी नै बनायौँ । तर कालान्तरमा नाच लोप हुन थालेपछि कलाकारहरु नै रोजीरोटीका लागि विदेश पलायन हुनुपर्ने अवस्था आयो ।’

गएको २० वर्ष पहिले नाच देखाएरै वार्षिक १० लाख रुपैयाँ कमाउने गरेको उहाँको भनाइ छ । तर अहिले वार्षिक एक लाख पनि कमा हुने नगरेको उहाँले दुखेसो पोख्नुभयो । कलाकार रायको भनाइमा अहिले पाँच प्रतिशतको हाराहारीमा मात्र यस्ता नाच प्रचलनमा छन् ।

दुई सयभन्दा बढी नाच कम्पनी रहेको मधेश प्रदेशको सप्तरी, सिरहा र धनुषा जिल्लामा अहिले दुई दर्जनको हाराहारीमा मात्र त्यस्ता नाच कम्पनी जसोतसो सञ्चालनमा छन् । त्यसकारण दुई सयभन्दा बढी कलाकार बेरोजगार भएको उहाँले जानकारी दिनुभयो ।

खासगरी ग्रामीण क्षेत्रमा लोकप्रिय यस्ता नाचहरु लोप हुनुको प्रमुख कारण ऐतिहासिक नाचका सिडीहरु बजारमा छयापछयाप्ती पाउनु पनि हो । अहिले मिथिलाञ्चलका प्राचिन एवम् ऐतिहासिक नाच सिडीमा मात्र हेर्न सक्ने अवस्था रहेको स्थानीयवासीहरुको कथन छ ।

कलाको सम्मान नहुनु, सरकारबाट यस्ता नाचको संरक्षण नहुनु, कलाकारलाई प्रोत्साहन नहुनुजस्ता कारणले ऐतिहासिक महत्वका यस्ता नाच लोप भइरहेका छन् । यस्ता नाचहरु लोप हुन थालेपछि यसका कलाकारहरु आर्थिक रुपमा सङकटग्रस्त अवस्थामा पुगेका हुन् ।

मिथिला क्षेत्रसँग जोडिएको पल्लवित र पुष्पित यस प्रकारका नाचको संरक्षण, सम्वर्द्धन गर्न सरकारले बजेट नै छुट्याउनु पर्ने कलाकारहरुको माग छ । साथै मिथिलाञ्चलमा दिन प्रतिदिन लोप हुन लागेका यी यस्ता प्राचिन एवम् ऐतिहासिक नाचलाई स्थानीय, प्रदेश सरकार तथा सम्बन्धित निकायले समयमै उचित संरक्षण सम्वर्द्धन गनुपर्ने माग स्थानीय कलाकारहरुले गरेका छन ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया