भारतबाट न रेमिट्यान्स पठाउन सहज छ न त साथमा पैसा बोकेर ल्याउन

 असोज १७, २०८० बुधबार १२:५४:१६ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

कृष्ण राम शर्मा- हाल भारत तमिलनाडु ।

वैदेशिक रोजगारीको कुरा गर्दा सबैको दिमागमा जहाज चढेर जाने देशको काम भन्ने मात्र आउँछ । तर भारतमा पनि मजस्ता कयौँ श्रमिकहरू छौँ । फरक यति हो कि यहाँ आउन पासपोर्ट चाहिँदैन ।

अन्य देशमा जस्तै यहाँ पनि हामीले रगत पसिना नै बगाएर काम गर्ने हो । यहाँ कमाएको पैसा घरमा नै पठाउने । तर समस्या यही छ कि भारतमा काम गर्ने हामी नेपालीले सहज रूपमा देशमा पैसा पठाउन पाउने व्यवस्था समेत छैन ।

यहाँबाट रेमिट्यान्स पठाउन गाह्रो छ । बैङ्किङ च्यानलबाट त घरमा पैसा पठाउन असम्भवजस्तै छ । 

ल बैंङकमार्फत त पठाउन सकिएन मानियो । साथमा बोकेर ल्याउन पाए पनि हुन्थ्यो त्यो त झन् गाह्रो छ । सिमानामा हामीलाई गर्ने व्यवहार सम्झँदा मन रुन्छ । साथमा पैसा बोकेर घर जानु अत्यन्त जोखिमपूर्ण छ । 

भारत बाहेक तेस्रो देशमा रोजगारी गरेर आउनेहरू जहाज चढेर आउँछन् । उनीहरूलाई लिन विमानस्थलसम्मै आफन्तहरू पुग्छन् । उनीहरूले फोनदेखि विभिन्न उपहारका सामान सहजै बोकेर ल्याउन सक्छन् । 

तर हामी भारतबाट फर्किनेहरूले तीन चार वर्षमा घर फर्कँदा साथमा बालबच्चाको लागि एक जोर लुगाफाटो बोकेर ल्याउन पनि गाह्रो छ । चकलेट र अन्य खाने कुरा त परको कुरा । यहीनेर सरकारसँग चित्त दुख्छ ।

आखिर हामी पनि त रोजगारी गरेरै फर्किएका श्रमिक हौ नि । हाम्रो पनि बालबच्चा छन् । हामी रित्तो हात घर कसरी फर्कनु । बालबच्चालाई देशको नियमले ल्याउन मिलेन भनेर कसरी सम्झाउनु ?

भारतमा रोजगारी गर्न जाने श्रमिकलाई विभेद त कति छ कति । संसारका कुन कुन देशमा कति नेपाली गएका छन् भनेर सरकारसँग तथ्याङ्क हुन्छ । तर हामी भारत जाने नेपालीको सरकारसँग कुनै जानकारी छैन । हामी कहाँ काम गर्दै छौँ, हामीलाई कम्पनीले कस्तो व्यवहार गर्छ जस्ता कुराको त वास्तै छैन ।

यहाँ काम गरुन्जेल पनि हामीले उस्तै विभेदहरू सहन पर्छ । अनि देश फर्कँदा पनि पाइलै पिच्छे ठगिन पर्छ । हामी भारतमा काम गर्नेहरूले देश फर्कँदा सिमानामा कहिलेसम्म ठगिन पर्ने हो ?

नेपालमा पनि भारतीय पैसा बोक्न नपाइने नियम छ भन्ने सुनेको छु । अब यहाँबाट बैङ्कमा पठाउन त भन्दा पनि मिल्दैन । साथमा बोकेर ल्याउन पनि जोखिम छ । न त सिमानामा सटही गर्न मिल्छ । यसरी त भएन नि ।

सरकारले कि त भारत रोजगारीलाई पनि व्यवस्थित बनाउन पर्‍यो कि त देश भित्रै रोजगारीको व्यवस्था गरिदिन पर्‍यो ।

अरू देशको रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने कुरा गरिरहँदा सरकारले भारतमा काम गर्ने नेपालीलाई बिर्सन मिल्दैन । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया