गोरखाबाट काठमाण्डौमा फूलपाती पठाइयो

 कात्तिक ४, २०८० शनिबार ९:२०:१५ | किरण लोहनी
unn.prixa.net

तस्बिर, रासस

गाेरखा - गोरखाको गोरखकाली मन्दिरमा रहेको दशैँघरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँ घरमा फूलपाती पठाइएको छ । गोरखामा विधिपूर्वक गएराति सङ्कलन गरिएको फूलपाती बिहान सरकारी नम्बर प्लेटको गाडीमा राखेर काठमाण्डौ पठाइएको हो ।

पुरातत्व विभागले काठमाण्डौबाट पठाएको ग २ झ २१२८ नम्बरको गाडीमा फूलपाती पठाएको गोरखकाली मन्दिर व्यवस्थापन समितिले जनाएको छ । गोरखकाली मन्दिरका पुजारी कुलबहादुर थापाको साथमा फूलपातीको पठाइएको हो । फूलपाती पठाउने क्रममा बाजागाजासहित हर्षोल्लास मनाइएको थियो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोरखाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो । उहाँले १८२५ सालमा काठमाण्डौमा विजय प्राप्त गर्नु भएको थियो । त्यतिबेला गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो । राणाकाल शुरुभएसँगै यो परम्परा अवरुद्ध भएको थियो ।

जंगबहादुर राणाको उदयपछि फूलपातीको परम्परा अवरुद्ध भएको गोरखा सङ्ग्रहालयले जनाएकाे छ । काठमाण्डौ र गोरखालाई पृथ्वीराजमार्गले जोडेपछि भने गाडीमार्फत् फूलपाती काठमाण्डौ पठाउने चलन फेरि शुरु भएको हाे । 

गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाण्डाैबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया