जाँडरक्सी खाएका साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको ज्यान गयो

 मंसिर ९, २०८० शनिबार ७:४७:४२ | रासस
unn.prixa.net

काठमाण्डाै - जाँडरक्सी खाएका साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक जना नेपाली युवकको ज्यान गएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका पर्वतको कुश्मा नगरपालिका–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा ज्यान गएको हो ।

शान्तियागोमा रहेको लिटरोल अलेन्टेजानो अस्पतालमा अस्ति बिहीवार क्षेत्रीको उपचारका क्रममा ज्यान गएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिनुभयो ।

पोर्चुगलको ओडिमिरा बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गएको मङ्गलवार राति छुरा प्रहार गरेका थिए ।

जाँडरक्सी खाएर मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेका पोर्चुगलमा रहेका अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिनुभयो । गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि पोर्चुगल पुगेका हुन् । उनीहरु दुवै जना ओडिमिराको एउटा कृषि कम्पनीमा कार्यरत थिए ।   

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया