गोरखा दरबारबाट काठमाण्डौको हनुमानढोकासम्म नेपाली सेनाको पदयात्रा शुरु

 पुस २१, २०८० शनिबार १०:३०:३३ | किरण लोहनी
unn.prixa.net

काठमाण्डाै - नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा शुरु गरेको छ । ऐतिहासिक महत्त्वको एकीकरण अभियान हर्सोल्लासकासाथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

सेनाले २०७६ सालदेखि हरेक वर्ष पृथ्वीजयन्तीको अवसरमा गोरखादेखि काठमाण्डौसम्म पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना, सेनाको नम्बर–३ बाहिनीपति सहायक रथी गौरवकुमार केसीले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरी पदयात्राको शुभारम्भ गर्नुभएको हो ।

आज बिहान गोरखा दरबारबाट शुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वीजयन्तीको दिन यही २७ गते शुक्रवार काठमाण्डौ पुग्ने गोरखाको रिपुमर्दन गणका सेनानी एवं पदयात्रा समन्वय अधिकृत भुवनबहादुर थापामगरले बताउनुभयो । पदयात्रामा बाजागाजासहित पृथ्वीनारायण शाहकालीन सेनाको पोसाकमा रिपुमर्दन गण र शार्दुलजंग गुल्मका सेना सहभागी छन् ।

टर्चसहित नेपालको झण्डा र पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको सेनानी थापामगरले जानकारी दिनुभयो । पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए ।

तत्कालीन कम्पनीहरु अहिले पनि सेनाको गणका रुपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको रिपुमर्दन गणको टोलीले नेपाली सेनाको धादिङको शिवदल गण, धादिङले नुवाकोटको जबरजंग गण र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाण्डौको कालीध्वज गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ । काठमाण्डौको गणले पृथ्वीजयन्तीको दिन काठमाण्डौमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ ।

सरकारले गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्न थालेको हो । सेनाले यो पदमार्गको अध्ययन पूरा गरेको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौबाट काभ्रेसम्मको झण्डै एक सय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रवर्द्धन गर्दैछ ।

काठमाण्डौको हनुमानढोकाबाट गोरखा दरबार २६ कोषको दूरीमा छ । पदमार्ग आसपास ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवालगायत सम्पदाहरु छन् । पदमार्गको धेरैजसो खण्डमा मध्यपहाडी राजमार्ग निर्माण भैरहेको छ । यसले ऐतिहासिक सम्पदा नासिने जोखिम पनि छ । नेपाली सेनाका उपरथी पौडेलले पदमार्गमा पर्ने सम्पदाहरुको संरक्षणमा पनि सेना सहभागी भैरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया