राष्ट्रिय सभाकाे १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी

कोशीमा गठबन्धनकै मतदाताले भोट 'क्रस' गर्दा एमालेकी कोइराला निर्वाचित

 माघ ११, २०८० बिहिबार १८:२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।

कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी हुनुभयो । तर कोशीमै गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौलाले भने राप्रपाका उद्धव पौडेललाई हराउनुभयो । सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी हुनुभएको हो । तर गठबन्धनकै उम्मेदवारले भोट नदिँदा माओवादीकी चम्पा कार्कीलाई एमालेकी उम्मेदवार काेइरालाले पराजित गर्नुभयो । कोशीमा सत्ता गठबन्धनकै मतदाताले एमाले र राप्रपालाई मत दिएको पुष्टि भएको छ ।

यस्तै मधेस प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित हुनुभएको छ ।

बाग्मतीमा सत्ता गठबन्धनकै चार जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजङ्ग बस्नेत, अपाङ्गतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी हुनुभएको छ ।

यस्तै गण्डकी प्रदेशमा पनि गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपाङ्गता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित हुनुभएको हो ।

लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी हुनुभयो ।

यस्तै कर्णालीमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए । कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक निर्वाचित भएका छन् ।

सुदूरपश्चिममा पनि गठबन्धनकै तीन जना उम्मेदवार विजयी भए । महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी हुनुभएको हो ।

निर्वाचन आयोगले नतिजाको औपचारिक घोषणा भने गरेको छैन ।  सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजे शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । सातै प्रदेशमा प्रदेश सभाका ५ सय ४९ जना प्रदेश सभा सदस्य रहेकामा ५ सय ४६ जनाले मत हालेका छन् । यस्तै पालिकाका प्रमुख र उपप्रमुख गरी १४ सय ९७ जना मतदाता रहेकामा १४ सय ८६ जनाले मत हालेका निर्वाचन आयोगले जनाएको छ । चर्चामा रहेका तीन जना स्वतन्त्र मेयरहरूले मतदान गरेनन् । काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह, धनगढी उपमहानगरका गोपी हमाल र धरानका मेयर हर्क साम्पाङ राई मतदानमा सहभागी हुनुभएन ।

आउँदो फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि आज चुनाव भएको हो । आज निर्वाचित सदस्यहरूको कार्यकाल ६ वर्षको रहनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया