कांग्रेस महासमिति बैठक : अरू दलसँग गठबन्धन गर्ने विषयमा देउवा र गगन थापाबीच विवाद

 फागुन ७, २०८० सोमबार १८:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा शुरु भएको छ । बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उदघाटन गर्नुभयो ।

कांग्रेस महासमिति बैठकमा दुई हजार एक सय पाँच जना सहभागी छन् । बैठकमा केन्द्रीय समितिका एक सय ६५ जना, सङ्घीय निर्वाचन क्षेत्रबाट एक हजार सात सय ८० जना, जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, ७७ जिल्लाका सभापतिलगायत सहभागी भएका कांग्रेसले जनाएको छ ।

बैठकमा नीति, साङ्गठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रतिवेदन पेस गर्ने कार्यसूची छ । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुहुनेछ । यस्तै महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुहुनेछ । प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन तथा लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।

यसैबीच महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षले महासमिति बैठकमा प्रस्तुत हुने साङ्गठनिक र राजनीतिक प्रतिवेदनमा चुनावअघि गठबन्धन गर्न नहुने विषयमा जोड दिएका छन् । थापा र काेइरालाले प्रतिवेदनमै यो विषय राख्न खोजे पनि सभापति देउवा पक्षले आवश्यकताका आधारमा जहिले अरू दलसँग गठबन्धन गर्न सकिने भएकाले प्रतिवेदनमा यो विषय राख्न जरुरी नभएको बताएको छ ।

यही विवादले गर्दा महासमितिको बैठक शुरु हुने बेलासम्म पनि कार्यसमितिले प्रतिवेदनलाई अन्तिम रूप दिन सकेको थिएन । यसै विषयलाई लिएर सभापति देउवा र महामन्त्री गगन थापाबीच भनाभन भएको थियो । गगन र शेखर पक्षले गठबन्धनले गर्दा कांग्रेसको नीति र सिद्धान्त मासिँदै गएको आरोप लगाएका छन् । देउवा पक्षले भने देशमा परिवर्तन उल्टाउने शक्ति सलबलाइरहेको अवस्थामा गठबन्धन गर्नु ठिक भएको तर्क गर्दै आएका छन् ।

आजको उद्घाटन समारोहमा सभापति देउवाले चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न नहुने दोहोर्‍याउनुभएको छ । देउवाले जति बेला गठबन्धनको आवश्यकता पर्छ त्यति बेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया